(Japan) 17 th February | 2025 | Monday | 10:46:42 AM || (Nepal) 7:31:42 AM
 
 


हमासद्वारा ४ इजरेली महिला सैनिक रिहा, इजरेलले २ सय पालेस्टाइनी छाड्यो

  POSTED ON : Sunday, 26 January, 2025 | Views : 258

हमासद्वारा ४ इजरेली महिला सैनिक रिहा, इजरेलले २ सय पालेस्टाइनी छाड्यो


एजेन्सी ।

पालेस्टाइनी लडाकु समुह हमासले शनिवार थप चारजना इजरेली बन्धकहरू छाडेको छ। गत आइतवार गाजामा युद्धविराम तथा बन्धक छाड्ने सम्झौता भएयता मुक्त हुने उनीहरू दोस्रो समूहमा परेका हुन् ।


करिना अरिएभ, डेनिएला गिल्बोआ, नामा नेभी र लिरी अल्बाग गरी चार जना इजरेली महिला सैनिकहरू रिहा भएका हुन् ।


यसअघि युद्धविराम सुरु भएकै दिन गत आइतवार हमासले तीनजना महिला बन्धक छाडेको थियो।


शनिवार नै मुक्त मुक्त हुने अपेक्षा गरिएका एकजना इजरेली सर्वसाधारणको नाम हमासले सार्वजनिक गरेको सूचीमा थिएन । तर पछि उनी जिवित रहेको र आगामी साता रिहा हुने हमासले बताएको छ । 


इजरेलले त्यसको बदलामा आफुले गाजाबाट सामुहिक रुपमा बन्धक बनाएर लगेको झण्डै २०० जना सर्वसाधारण प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ । 


बन्दी आदानप्रदान प्रक्रियालाई रेडक्रसले मध्यस्थता गरिरहेको छ।


बन्धकहरू छुट्ने तयारी भईरहँदादेखि नै गाजा सीटीको केन्द्र भागमा सर्वसाधारणहरूको भीडसहित सयौं हमास लडाकुहरू देखा परेका थिए।

सैन्य पोसाकमा रहेका लडाकुहरूमध्ये अधिकांशले बन्दुक बोकेका देखिन्थे।


इजरेलतर्फ तेलअभिभको होस्टेज स्क्वायरमा मानिसहरू जुटेर ठूलो पर्दामा गाजाको प्रत्यक्ष खबरको दृश्य हेरिरहेका थिए ।

मुक्त भएका बन्धकहरूको प्रतिक्षामा उनीहरूका परिवारका सदस्यहरू गाजासँगको सीमामा पुगेका थिए ।

हमासले बन्धक छोड्ने भएपछि नेपालका विपिन जोशी पनि मुक्त हुने आशा जागेको छ । तर उनी कहिले छुट्नेहुन भन्ने निस्चित छैन । 


हमासले आउँदा सातामा पहिलो युद्धविरामको पहिलो चरणमा छाडिने बाँकी २६ जना बन्धकहरूबारे जानकारी दिने अपेक्षा गरिएको छ।


इजरेलले मुक्त गरिने आफ्ना प्रत्येक सैनिक बराबर ५० जना र प्रत्येक सर्वसाधारण बराबर ३० जना प्यालेस्टिनी बन्दीहरू छाड्ने सहमति जनाएको छ।


सम्झौता अनुसार झण्डै छसाता लामो हुने युद्धविरामको जारी पहिलो चरणमा हमासले ३३ जना इजरेली बन्धक छाड्नेछ।

त्यसको बदलामा इजरेली जेलमा रहेका झण्डै १,९०० प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन्।


दोस्रो चरणको सुरुवात पहिलो चरण सुरु भएको १६ दिनपछि हुनेछ। जसक्रममा बाँकी बन्धकहरू रिहा हुनुका साथै त्यहाँबाट पूर्ण रूपमा इजरेली फौज फिर्ता हुनेछन्।

तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि बर्षौँ लाग्नसक्ने जनाइएको छ। यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने बताइन्छ।


हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उनीहरूलाई नस्ट पार्ने भन्दै गाजामा नरसंहार थालेको थियो।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता ४६ हजार ८७० जनाको ज्यान गइसकेको छ।

त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा इजरायली सेनाले अन्धाधुन्ध बमबारी र रकेट आक्रमण गरेर विध्वंस मच्चाएको छ।