काठमाडौं, नेपाल ।
अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटनामा परेको छ ।
उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको अन्तरराष्ट्रिय समाचार सस्था अलजजिराले जनाएको छ। जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ।
अजरबैजान एअरलाइन्सको उक्त जहाज खसेपछि उद्धारका लागि आकस्मिक सेवाका अधिकारीहरू नजिक जाँदै गर्दा त्यसमा आगो लागेको थियो। पछि जहाजमा लागेको आगो निभाइएको थियो ।
काजाकस्तानको आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा कम्तीमा ३० जना यात्रुहरू बच्न सफल भएको बताएको छ । त्यसमध्ये २२ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले बताएका छन्।
अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो।
कुहिरोका कारण उक्त जहाजलाई काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अजरबैजान एअरलाइन्सले हालसम्म उक्त घटनाबारे केही पनि बताएको छैन।