(Japan) 15 th January | 2025 | Wednesday | 7:04:36 PM || (Nepal) 3:49:36 PM
 
 


संयुक्त राष्ट्र महासभाद्धारा गाजामा 'तत्काल' युद्धविरामको माग, अमेरिका र इजरायल युद्धबिरामको बिपक्षमा

  POSTED ON : Thursday, 12 December, 2024 | Views : 392

संयुक्त राष्ट्र महासभाद्धारा गाजामा 'तत्काल' युद्धविरामको माग, अमेरिका र इजरायल युद्धबिरामको बिपक्षमा


एजेन्सी ।

संयुक्त राष्ट्र संघको महासभाले गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्दै पक्षमा भारी मतदान गरेको छ र प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रको एजेन्सीको काममा समर्थन जनाएको छ ।

बुधबारको सभाले गाजामा तत्काल, निःशर्त र स्थायी युद्धविरामको माग गर्ने प्रस्ताव पारित गर्‍यो, जसलाई १९३ सदस्यीय सभाबाट पक्षमा १५८ मत जुटेको छ । १३ अनुपस्थिति सहित विपक्षमा नौ देशले युद्धबिरामको प्रस्तामा सहमती जनाएका छैनन् ।

विश्व खाद्य कार्यक्रमको लागि समर्थन व्यक्त गर्ने र इजरायलमा संयुक्त राष्ट्र एजेन्सीको सञ्चालनमा प्रतिबन्ध लगाउने नयाँ इजरायली कानूनको निन्दा गर्ने दोस्रो प्रस्तावलाई पक्षमा १५८ देशले समर्थन जनाउँदा उसैगरि १३ देश अनुपस्थित भए भने अमेरिका, इजरायल सहित ९ देशले इजरायली नरसंहारको पक्ष लिनेगरि भोट दिएको छ ।

त्यो प्रस्तावले इजरायलले विश्व खाद्य कार्यक्रमको जनादेशको सम्मान गर्न र इजरायली सरकारलाई ूआफ्नो अन्तर्राष्ट्रिय दायित्वहरू पालना गर्न भनेको छ । विश्व खाद्य कार्यक्रमको विशेषाधिकार र उन्मुक्तिहरूको सम्मान गर्न र पूर्ण, द्रुत, सुरक्षित र निर्बाध मानवीय सहायतालाई सबै रूपहरूमा अनुमति दिन र सुविधा दिन जिम्मेवारी पूर्वक प्रस्तुत हुन इजरायललाई दबाव दिएको छ ।

इजरायली नरसंहारमा गाजापट्टिमा कम्तिमा ४४,८०५ जना मानिसहरु मारिइसकेका छन् । जसमा प्यालेस्टिनी महिला र बालबालिकाहरू सहित १ लाख ६ हजार भन्दा धेरै घाइते भएका छन् ।

'गाजा अब बाँकी छैन,' स्लोभेनियाका संयुक्त राष्ट्रसँघका राजदूत स्यामुएल जबोगरले महासभाको बैठकमा भने 'यो नष्ट भएको छ। नागरिक भोक, निराशा र मृत्युको सामना गरिरहेका छन्' उनले भनेका छन् ।

'यो युद्ध जारी राख्नको लागि कुनै कारण छैन । हामीलाई अहिले युद्धविराम चाहिन्छ । हामीले अब बन्धकहरूलाई घर ल्याउन आवश्यक छ' उनले थपेका छन् ।

विश्वभरका देशले इजरायली नरसंहार रोक्न माग गरेपनि इजरायल र यसको कट्टर सहयोगी संयुक्त राज्य अमेरिकाले निरन्तर संयुक्त राष्ट्रसंघको प्रस्तावहरूको विरुद्धमा बोल्दै र मतदान गर्दै आएका छन् । अमेरिकाले इजरायललाई करोडौं डलरको हतियार अनुदान र अर्बौं डलरको हतियार इजरायललाई विक्रि गर्दै आएको छ । जुन हतियार गाजापट्टिमा नरसंहारमा इजरायली सेनाले प्रयोग गरिरहेको छ ।