टोकियो, जापान ।
देशमा असफल सैनिक शासन लगाउन खोजेका कोरियाली राष्ट्रपतिले विपक्षीहरूले राष्ट्रिय राजनीतिलाई अपांग बनाएको दोहोर्याएका छन् ।
दक्षिण कोरियाका नेताको राजनीतिक भाग्य अझै अस्पष्ट देखिरहँदा उनले बिपक्षिमाथि थप आक्रोस पोखेका हुन् । राष्ट्रपति युन सुक-योलले गत हप्ता देशलाई अराजकतामा डुबाउँदै मार्शल लको घोषणा गरेका थिए । स्थानीय सञ्चारमाध्यमले उनीविरुद्ध विद्रोहको आरोप लाग्न सक्ने बताइरहेका छन् ।
युनले एक टेलिभिजन सम्बोधनमा विपक्षीको आलोचना गर्दै बिहिबार टेलिभिजन सम्बोधनमा राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । उनले विपक्षी दलहरुले राष्ट्रिय राजनीतिलाई पक्षघात बनाएको भन्दै आलोचना गरे ।
'म यसको विरुद्धमा कडा रूपमा खडा हुनेछु, चाहे यो महाभियोग होस् वा छानबिन । मैले पहिले नै भनेको छु कि म कानुनी र राजनीतिक जिम्मेवारीबाट भाग्ने प्रयास गर्दिन' उनले भनेका छन् ।
युनले उनको मार्शल ल घोषणा न्यायिक समीक्षाको विषय नभएको जिकिर समेत गरेका छन् ।
यूनले राष्ट्रिय खुफिया सेवाले २०२३ को दोस्रो आधामा उत्तर कोरियाले दक्षिण कोरियाको निर्वाचन आयोग र सरकारी संस्थाहरूमा साइबर हमला गरेको फेला पारेको दाबी गरे ।
उनले निर्वाचन आयोगले आफ्नो सर्भर प्रणालीको एनआईएस द्वारा निरीक्षणलाई संवैधानिक संस्था भएको भन्दै कडा रूपमा अस्वीकार गरेको छ ।
युनले यी कार्यहरूको प्रतिक्रियामा मार्शल ल घोषणा गर्ने निर्णय गरेको बताएका छन् ।
दक्षिण कोरियाको सत्तारुढ दलका नेता हान डोङ-हुनले बिहीबार पत्रकारहरूलाई ूराष्ट्रपतिले चाँडै राजीनामा दिन नचाहेको पुष्टि भइसकेको र उनको कार्यभार तत्काल निलम्बन गर्न आवश्यक भएको बताएका छन् ।
गत हप्ता असफल प्रयास पछि विपक्षी दलहरूले युनलाई महाभियोग लगाउन अर्को प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। शनिबार मतदान हुने अपेक्षा गरिएको छ । विधेयक पारित हुन सत्तारुढ दलका कम्तीमा आठ सांसदको समर्थन आवश्यक छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाँच सदस्यले समर्थन जनाएका छन् ।
हानले भने, 'सांसदहरूले महाभियोगको मतदानमा उपस्थित हुनुपर्दछ र उनीहरूको विचार र विवेकको प्रयोग गर्नुपर्दछ ।'