एजेन्सी ।
दक्षिण कोरियामा गत साता राष्ट्रपतिले गरेको सैन्य शासन घोषणाका लागि जिम्मेवारी लिँदै पदबाट राजिनामा दिएका तात्कालिक रक्षामन्त्रीले आत्महत्याको प्रयास गरेका छन् । प्रहरीले पक्राउ गरेर नियन्त्रणमा राखेका किम योङ-ह्युनले आत्म हत्या प्रयास गरेका हुन् ।
ह्युनले हिरासतमा मङ्गलवार राति आत्महत्या गर्न खोजेको जानकारी त्यहाँको न्याय मन्त्रालय अन्तर्गत रहेको कारागार हेर्ने निकायका प्रमुखले संसद्लाई दिएका थिए ।
संसद्को हस्तक्षेप र सर्वत्र विरोध भएपछि राष्ट्रपतिले पाँच घण्टापछिनै सैन्य शासन लागु गर्ने आफ्नो घोषणा फिर्ता लिनु परेको थियो। त्यसपछि रक्षामन्त्री र राष्ट्रपति कार्यालयका वरिष्ठ कर्मचारीले राजीनामा दिएका थिए ।
सैन्य शासन घोषणा गरेपछि दक्षिण कोरियाका राष्ट्रपतिले आफ्नै दलका नेतालाई पक्रन आदेश दिएका थिए ।
आत्महत्याको प्रयास गरेको भए पनि त्यसपछि उनमा स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको बताइएको छ ।
'विद्रोह गरेको' अभियोगमा राष्ट्रपति र उनका सहयोगीहरू विरुद्ध छानबिन चलिरहेको छ। तीमध्ये किम पनि एक हुन्।
राष्ट्रपति सहित केही वरिष्ठ अधिकारीहरूलाई यात्रा गर्न प्रतिबन्ध पनि लागेको छ।
अभियोजनकर्ता र भ्रष्टाचार नियन्त्रण गर्ने निकायका अधिकारीहरूले विभिन्न कोणबाट छानबिन गरिरहेका छन्
यसैबीच राष्ट्रपति यून सुक यउलको कार्यालयमा प्रहरीले छापा मार्न थालेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपतिको सुरक्षार्थ खटेको टोलीलाई छापाबारे अग्रिम जानकारी दिइएको थिएन ।
यसअघि सन् २०१९ मा राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको थियो। यून सन् २०२२ मा राष्ट्रपति बनेका हुन्।
राष्ट्रपति यूनले सैन्य शासन घोषणा गर्ने आफ्नो कदमका लागि क्षमायाचना गरेका छन् । संसद्मा उनीविरुद्ध प्रस्तुत महाभियोगको प्रस्ताव विफल भए पनि उनकै दलभित्रबाट पनि राष्ट्रपतिको राजीनामा माग हुँदै आएको छ ।
विपक्षी दलले उनीविरुद्ध फेरि महाभियोग अगाडि बढाउने तयारी गरेका छन् ।
हजारौँ मानिसले राष्ट्रपतिले पदत्याग गर्नुपर्ने वा उनलाई महाभियोग लगाएर पदच्युत गर्नुपर्ने माग सडकबाट गरेका छन् ।
योन्हाप समाचारसंस्थाका अनुसार बुधवार छापा मार्न १८ अनुसन्धानकर्ता राष्ट्रपतिको कार्यालय गएका थिए। उनीहरूले गत मङ्गलवार राति सैन्य शासन घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित अभिलेख आफ्नो नियन्त्रणमा लिएका छन्।
खानतलासी गर्ने अनुमतिपत्रमा सन्दिग्ध व्यक्तिको सूचीमा राष्ट्रपति यूनको नाम थियो । प्रहरीले छापा मार्दा उनी आफ्नो कार्यालयमा थिएनन् ।
अनुन्धानकर्ताहरूलाई राष्ट्रिय प्रहरी निकाय, सउल महानगरीय प्रहरी निकाय र न्याश्नल असेम्ब्ली पोलिस गार्ड्समा पनि पठाएर उक्त राति संसद् भवनमा भएका घटनाक्रमसँग सम्बन्धित प्रमाण सङ्कलन गरिएको छ ।
उनकै दल पीपल्स् पावर पार्टीका प्रमुख हान दोङ हूनका अनुसार यून पदमुक्त हुने व्यवस्था गर्ने र पदमा हुन्जेल उनी कुनै राजकीय कार्यमा संलग्न हुने छैनन् । प्रधानमन्त्री हान दुक सूले अहिलेका लागि सरकारी कामकारबाही गर्ने उनको भनाइ छ।
सत्तारूढ दलले यूनको बहिर्गमनको 'मार्गचित्र' शनिवार आसपास तयार पार्ने ठानिएको छ ।
यद्यपि रक्षा मन्त्रालयका अनुसार अहिले पनि सशस्त्र फौजहरू यूनकै नेतृत्वमा छ । त्यसको अर्थ उत्तर कोरियाबाट हुने जोखिम सहितका परराष्ट्रनीतिसँग सम्बन्ति घटनामा सिद्धान्ततः यूनले नै कार्यकारी निर्णय लिन पाउँछन् ।
सैन्य शासन लागु गर्ने आफ्नो प्रयास विफल भएपछि यूनले एक पटक मात्र सार्वजनिक उपस्थिति जनाएका छन् । शनिवार उनले सैन्य शासन घोषणा गरेकोमा क्षयायाचना मागेपछि फेरि सार्वजनिक रुपमा देखा परेका छैनन् ।