एजेन्सी ।
सिरियाको विद्रोही लडाकु समुहले राजधानी कब्जाको घोषणा गरेका न् । बिद्रोही सेनाले देश कब्जा गर्दै राष्ट्रपति बसर अल असद देश छाडेर भागेको बताएको छ । बिद्रोही लडाकुहरु राजधानी प्रवेश गर्दा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा बिद्रोही लडाकु समुहले प्रहार गरेका गोलीका आवास सुनिएका छन् ।
सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया 'मुक्त' भएको घोषणा गरेका छन् ।
विवरणहरूमा असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ। तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन।
सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ ।
सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू निकालिएको देखाइएको छ ।
विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई 'पूर्ण रूपबाट स्वतन्त्र पारेको' बताएको केही समयमा उनीहरू राजधानी प्रवेश गरेका थिए ।
विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो ।
सिरियाका विपक्षी नेता हदि अल बहराले अरबीक समाचार संस्था अल अरबीयालाई असदको शासन ढलेको र 'सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको' बताएका छन् ।
सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।
'हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ' उनले एक्समा लेखेका छन् ।
'त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन । मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ ।'
एचटिएसका नेताले टेलिग्राममा लेख्दै सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन् ।
राष्ट्रलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू पदमा रहिरहे देशमा सरकारको निरन्तरता कायम राख्ने 'काम गर्न सघाउन तयार' रहेको बताएका छन् ।
नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन् ।
मोहम्मद अल जोलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडन र उनका अधिकारीहरूले 'सिरियाका अभूतपूर्व घटनाक्रम'को निगरानी गरिरहेको जनाएको छ ।
बाइडन प्रशासन आफ्ना क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा रहेको ह्वाइटहाउसको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले यसअघि सोसल मिडियामा एक पोस्ट लेख्दै सिरियाको युद्धसँग अमेरिकाको कुनै सरोकार नहुनुपर्ने भन्दै भनेका छन् 'त्यो हुन दिनुस् । यो हाम्रो लडाइँ होइन ।'