(Japan) 13 th December | 2024 | Friday | 1:37:41 AM || (Nepal) 10:22:41 PM
 
 


जर्जियाद्धारा सन् २०२८ सम्मका लागि ईयू सदस्यता वार्ता निलम्बन

  POSTED ON : Friday, 29 November, 2024 | Views : 180

जर्जियाद्धारा सन् २०२८ सम्मका लागि ईयू सदस्यता वार्ता निलम्बन


टोकियो, जापान ।

प्रधानमन्त्री इराक्ली कोबाखिदजेले जर्जियाले युरोपेली युनियनमा प्रवेश सम्बन्धी वार्तालाई चार वर्षका लागि स्थगित गर्ने निर्णय गरेका छन् । उनले युरोपियन यूनियन ब्रसेल्सले आफ्नो देशसँग ब्ल्याकमेलू गरेको आरोप समेत लगाएका छन् ।

बिहीबारको यो घोषणा युरोपेली संसदले जर्जियाको अक्टोबर २६ मा भएको संसदीय चुनावको नतिजालाई 'महत्त्वपूर्ण अनियमितता'का कारण अस्वीकार गर्ने गैर बाध्यकारी प्रस्ताव पारित गरेको केही घण्टापछि आएको हो ।

युरोपेली संघमा प्रवेश सम्बन्धी वार्ता स्थगित गर्ने घोषणापछि ईयू समर्थक प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ ।

इराक्ली कोबाखिद्जेले बिहीबार देशले २०२८ को अन्त्यसम्म ईयूसँग वार्ता खोल्ने मुद्दालाई एजेन्डामा नराख्ने बताएका छन् ।

उनले जर्जियाले त्यतिबेलासम्म ईयूबाट बजेट अनुदान अस्वीकार गर्ने स्पष्ट पारेका छन् ।

जर्जिया लामो समयदेखि ईयू ब्लकमा सामेल हुन खोज्दै आएको छ । तर युरोपेली संघले जर्जियामा रुस समर्थक सत्तारुढ जर्जियन ड्रीम पार्टीले यस वर्ष जुनमा विवादास्पद कानून बनाएपछि संघमा आवद्ध हुन कडा सर्तहरु तेर्साएको थियो ।

नयाँ कानून अनुसार विदेशबाट २० प्रतिशत वा सोभन्दा बढी रकम प्राप्त गर्ने संस्थाहरू 'विदेशी प्रभावको एजेन्ट'को रूपमा दर्ता गर्नुपर्दछ । ईयूले यो कानून ब्लकको मूल सिद्धान्त र मूल्यमान्यताको विरुद्धमा रहेको भन्दै उक्त कानून खारेज गर्न माग राखेको छ ।

थप रूपमा, युरोपेली संसदले बिहीबार एक प्रस्ताव पारित गर्दै गत महिनाको जर्जिया संसदीय चुनावलाई गम्भीर चुनावी उल्लङ्घनहरूको संज्ञा दिएको छ ।

ईयूको समर्थक रहेका जर्जियाका राष्ट्रपति सलोमे जोराबिचभिलीले प्रधानमन्त्रीको घोषणाको निन्दा गरेका छन् ।