(Japan) 15 th April | 2026 | Wednesday | 7:30:17 AM || (Nepal) 4:15:17 AM
 
 


पदबाट हट्नुअघि युद्ध चर्काउँदै बाइडेन, युक्रेनलाई अमेरिकी मिसाइल रुसमा प्रहारगर्न अनुमति

  POSTED ON : Tuesday, 19 November, 2024 | Views : 1086

पदबाट हट्नुअघि युद्ध चर्काउँदै बाइडेन, युक्रेनलाई अमेरिकी मिसाइल रुसमा प्रहारगर्न अनुमति


एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफु पदबाट हट्नुअघि रुस र युक्रेनबिचको युद्ध चर्काउनेगरि युक्रेनलाई नयाँ अनुमति दिएका छन् । अनुदानमा अर्बौैंको हतियार युक्रेनलाई उपलब्ध गराएका बाइडेनले अमेरिकी लामो दूरीका क्षेप्यास्त्रहरू रुसभित्र जुनसुकै स्थानमा प्रहार गर्न युक्रेनलाई अनुमति दिएका छन् ।

दुई महिना मात्रै कार्यकाल बाँकी रहेको बाइडेनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ ।

लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो । बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए । तर युद्ध चर्किने सम्भावनालाई ख्याल गरेर प्रयोग अनुमति भने दिएको थिएन । तर पदबाट हट्नुअघि बाइडेनले रुस बिरुद्ध युक्रेनलाई उचाल्नेगरि युद्ध चर्काउन ति मिसाइलहरु जहाँसुकै प्रहारगर्नसक्नेगरि अनुमति दिएका हुन् ।

यस्ता अस्त्र यस अघि युक्रेनी भूभागमा रहेका रुसी सैन्य संरचनामा आक्रमण गर्न मात्रै प्रयोग गर्दै आएको थियो । तर अहिले अनुमति दिनुलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ ।

युक्रेनलाई उपलब्ध गराइएको मध्ये सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र तीन सय किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ । अमेरिकासँगै  फ्रान्स र बेलायतले पनि आफूले यस अगाडि रुसी भित्री भागमा मार हान्न अनुमति नदिएका मिसाइल प्रयोग गर्न अनुमति दिएका छन् ।

आजै सार्वजनिक भएको एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आग्रह नटेरी लामो मिसाइल हान्न दिनु भनेको पश्चिमा देशको सिधा युद्धमा भाग लिएको हुनाले रुसले कुनै नेटो पोस्टमा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।