एजेन्सी ।
लेबनानमा कार्यरत संयुक्त राष्ट्रसंघिय शान्त सेनामाथी इजरायली सेनाले ड्रोन आक्रमण गरेको छ । इजरायली ड्रोन हमलामा ६ सैनिक घाइते भएका छन् ।
घाइते हुनेमा मलेसियाली शान्ति सैनिकहरु भएको लेबनानी अधिकारीहरुले बताएका छन् । एकसाथ भएको ड्रोन आक्रमणमा अन्य तीन जना लेबनानी सर्वसाधारण मारिएका छन् ।
गाजा नरसंहारमा करिव ४४ हजार नागरिकको हत्या गरिसकेको इजरायली सेनाले अक्टोबर यता लेबनानमा थालेको बमबारीमा करिव ३ हजारको ज्यान लिइसकेको छ ।
मलेसियाली सशस्त्र बलका अनुसार इजरायली ड्रोन आक्रमणको क्रममा एक सैनिकको बायाँ हात भाँचिएको छ भने अन्य पाँच जनालाई सामान्य चोट लागेको छ ।
लेबनानमा संयुक्त राष्ट्रसंघिय अन्तरिम बल ९युनिफिल० अन्तर्गत शान्ति सेनाको एक भागको रूपमा आफ्नो भ्रमण सुरु गर्न दक्षिण लेबनानको माराकामा रहेको बटालियन आफ्नो बेसमा जाँदै गर्दा साइदा शहरमा आक्रमण भएको हो ।
ड्रोन हमलाले निशाना बनाएको कारमा सवार तीन लेबनानी नागरिकको मृत्यु भएको छ भने आक्रमण भएको ठाउँमा चेकपोइन्टमा रहेका तीन लेबनानी सैनिकहरू पनि घाइते भएका छन्, लेबनानी सेनाले रोयटर्सलाई बताएको छ ।
शान्ति सेनामा रहेका आफ्ना देशका सैनिकमाथि आक्रमण भएपछि मलेसियाली सोशल मिडियामा इजरायल बिरुद्ध मलेसियालीहरु उत्रिएका छन् । धेरैले सेनाको सुरक्षाको लागि प्रार्थना गर्दै इजरायललाई पश्चिमी देशहरुले शान्ति स्थापनामा खटिएकाहरुमाथि समेत आक्रमण गर्न साथ र सहयोग गरिरहेकोमा बिरोध जनाएका छन् ।