लेबनान, एजेन्सी ।
करिव ४३ हजार प्यालेस्टाइनीको नरसंहार तथा लेबनानमा दुई हजार बढि सर्वसाधारणको ज्यान लिइसकेको इजरायली सेना आईडिएफले लेबनानमा एकैदिन ४० सर्वसाधारणको रकेट हाक्रमण गरि हत्या गरेको छ ।
इजरायलले गरेको हवाई आक्रमणबाट पूर्वी लेबनानको बेक्का भ्याली र बालबेक शहरमा ४० जना सर्वसाधारण मारिएका हुन् । इजरायली सेनाले गएराति गरेको बमबारीबाट ५३ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
हवाई आक्रमणबाट बालबेक शहरको एउटा आवासीय भवन ध्वस्त भएको छ । इजरायलले हिजो दक्षिणी बेइरुतमा पनि हिजबुल्लाहका कमान्ड सेन्टर, हतियार भण्डारण र अन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तर विगतमा जस्तै इजरायली सेनाले सर्वसाधारणको हत्यापछि लक्षित आक्रमण भएको जिकिर गर्दै आफ्नो बचाउ गर्दै आएको छ ।
यसैबीच हिजबुल्लाहका लडाकुहरूले लेबनानबाट इजरायलतर्फ हानेको रकेटबाट एक इजरायली नागरिकको ज्यान गएको खबरमा उल्लेख छ ।
इजरायलको एक बिमानस्थल नजिक प्यालेस्टाइनी भूमि अतिक्रमणगरि बनेको क्षेत्रमा बसोबास गर्ने इजरायली मारिएको बताइएको छ ।