एजेन्सी ।
पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा बिजयी भएका छन् । ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचीत भएका हुन् ।
ट्रम्प डेमोक्रेटिक उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै राष्ट्रपतिमा बिजयी भएका हुन् ।
अन्तिम मतपरिणाम अघिनै अमेरिकी राष्ट्रपति चुनाव जितेका ट्रम्पले यो समाचार तयार पार्दासम्म २७६ इलेक्ट्रोलर भोट ल्याएका छन् । अमेरिकी राष्ट्रपतिमा जित्न केवल २७० इलेक्ट्रोलर भोट भए पुग्छ । पराजित भएकी कमला ह्यारिसको हालसम्म केवल २२४ इलेक्ट्रोलर भोट मात्र रहेको छ ।
राष्ट्रपतिमा निर्वाचीत हुने लगभग निश्चित भएपछि फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले आफु विजयी भएको घोषणा गरेका थिए । यो अमेरिकाका लागि स्वर्ण युग हुनेछ, अमेरिकालाई महान बनाउन मद्धत गर्नेछु ट्रम्पले सो अवसरमा भनेका छन् 'यो अमेरिकी जनताको लागि शानदार जीत हो । जसले हामीलाई अमेरिका पुनः महान बनाउन सक्षम बनाउनेछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ ।'
ट्रम्पले चुनावी नारा 'मेक अमेरिका ग्रेट अगेन', अर्थात् 'अमेरिका पुनः महान बनाऔं' भन्ने राखेका थिए ।
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको यो दोश्रो पटक हो । २०१६ मा राष्ट्रपति पदमा बिजयी भएका ट्रम्प २०२० मा जो बाइडेन संग पराजित भएका थिए । एक कार्यकाल राष्ट्रपति भएर पुन पराजित भइ फेरि राष्ट्रपति भएको रेकर्ड समेत ट्रम्पले बनाएका छन् ।
यस अघिका अमेरिकी राष्ट्रपतिहरुले लगातार दोश्रो कार्यकाल सम्हालेको रेकर्ड मात्र छ । बर्तमान राष्ट्रपति जो बाइडेनले दोश्रो कार्यकालका लागि भएको उम्मेदवारी स्वास्थ्य खराबी तथा बृद्ध उमेरका कारण त्यागेका थिए । बाइडेनको स्थानमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रयाटसहरुले चुनावी मैदानमा अन्तिम समयमा उतारेका थिए ।