(Japan) 18 th April | 2026 | Saturday | 5:46:59 PM || (Nepal) 2:31:59 PM
 
 


उत्तर कोरियाद्धारा जापान समुद्रतर्फ छोटो दूरीको ७ वटा ब्यालेस्टिक मिसाइल प्रहार

  POSTED ON : Tuesday, 05 November, 2024 | Views : 858

उत्तर कोरियाद्धारा जापान समुद्रतर्फ छोटो दूरीको ७ वटा ब्यालेस्टिक मिसाइल प्रहार


टोकियो, जापान ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटमा रहेको समुन्द्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ ।

जेसीएसले सुरुमा पूर्वी सागर (जसलाई जापानको सागर पनि भनिन्छ) तर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पत्ता लगाएको थियो तर पछि मङ्गलबार स्थानीय समय अनुसार बिहान ७:३० बजे प्योङयाङले धेरै छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको बताएको थियो ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार जेसीएसले भनेका छ हामीले उत्तर कोरियाको ब्यालिस्टिक मिसाइल डाटा अमेरिका र जापानी अधिकारीहरूसँग नजिकबाट साझा गर्दा पूर्ण तयारी गरिरहेका छौं ।

उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणमा रहेको सारिवन क्षेत्रबाट प्रक्षेपण गरेपछि क्षेप्यास्त्रहरूले अनुमानित ४०० किलोमिटर (२४८ माइल) उडेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

जापानी सरकारले पनि प्रक्षेपणको पुष्टि गरेको छ र जापानको तटरक्षकले एउटा क्षेप्यास्त्र समुद्रमा खसेको र यो देशको विशेष आर्थिक क्षेत्रको समुन्द्र बाहिर खसेको एनएचकले समाचार प्रशारण गरेको छ । मंगलबारको प्रक्षेपण यस वर्ष प्योङयाङले ब्यालेस्टिक मिसाइल वा ब्यालिस्टिक मिसाइल हुन सक्ने ठानिएको प्रक्षेपण प्रहार गरेको १३ औं पटक हो ।

उत्तर कोरियाले गत हप्ता आफ्नो पूर्वी तटीय रेखाबाट समुद्रतर्फ ठूलो नयाँ ठोस इन्धन सहितको अहिलेसम्मके लामो दुरीसम्म मार हान्न सक्ने इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । ह्वासोङ-१९ नाम दिइएको उक्त मिसाइलले अमेरिकाको जुनसुकै भूभागसम्म मारहान्न सक्ने क्षमता भएको बताइएको छ ।

उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी पूरा गरेको विश्वास गरिएको दक्षिण कोरियाको सैन्य गुप्तचर एजेन्सीले गत हप्ता बताएको छ ।

उत्तर कोरिया र दक्षिण कोरिया बीचको तनाव वर्षौंमा उच्चतम बिन्दुमा पुगेको छ । उत्तर कोरियाली नेता किम जोंग उनले बारम्बार आफ्नो विस्तारित ब्यालिस्टिक क्षेप्यास्त्र हतियारको प्रक्षेपण गरेका छन् । उत्तर कोरियाले युक्रेनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धलाई समर्थन गर्न हतियार र उत्तर कोरियाली सेना पठाएको रिपोर्ट सार्वजनिक भइरहेका छन् ।

उत्तर कोरियाले रुसको तर्फबाट लड्न सैनिक पठाएको कुरा अस्वीकार गरेको छ तर उत्तर कोरियाका उप विदेशमन्त्रीले यस्तो कुनै पनि तैनाथी अन्तर्राष्ट्रिय कानूनको विरुद्ध नहुने बताएका छन् ।