(Japan) 13 th December | 2024 | Friday | 2:41:40 AM || (Nepal) 11:26:40 PM
 
 


भारतलाई क्यानडाले ‘शत्रु देश’को सूचीमा राख्यो

  POSTED ON : Sunday, 03 November, 2024 | Views : 478

भारतलाई क्यानडाले ‘शत्रु देश’को सूचीमा राख्यो


एजेन्सी ।

क्यानडा सरकारले आफ्नो आधिकारिक दस्तावेजमा पहिलो पटक भारतलाई ‘शत्रु देश’को सूचीमा समावेश गरेको छ ।

क्यानडाका लागि नेशनल साइबर थ्रेट एसेसमेन्ट २०२५/२६ रिपोर्टमा भारतलाई जोखिमपूर्ण देशहरूको सूचीमा राखिएको छ । प्रतिवेदन क्यानडाको साइबर सेक्युरिटी सेन्टरले सार्वजनिक गरेको हो । उक्त प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियासँगै भारतलाई ‘राज्य विरोधी’ सूचीमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै प्रतिवेदनमा क्यानाडा विरुद्ध भारतलाई आधुनिक साइबर कार्यक्रमको आरोप समेत लगाइएको छ । भारत सरकारद्वारा प्रायोजित साइबर कार्यक्रमले क्यानडाको सरकारी नेटवर्कहरू विरुद्ध जासुसीको उद्देश्यले गतिविधि गर्न सक्ने भन्दै भारतलाई उक्त सूचीमा राखिएको प्रतिवेदनमा उल्लेख छ । 

क्यानडा र भारत बीचको आधिकारिक द्विपक्षीय सम्बन्धका कारण भारत सरकारद्वारा प्रायोजित साइबर कार्यक्रम गतिविधिलाई बढावा मिल्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

भारत साइबर क्षमताको साथ आधुनिक साइबर कार्यक्रम निर्माण गर्न निश्चित रूपमा चाहेको र राष्ट्रिय सुरक्षा आवश्यकताहरू बढाउन आफ्नो साइबर कार्यक्रम प्रयोग गर्ने अत्याधिक सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । क्यानडाले यसअघि अक्टोबरमा क्यानडाले भारतीय उच्चायुक्त सञ्जय कुमार वर्मालाई हरदीप सिंह निज्जर हत्या प्रकरणमा संलग्नता देखिएको घोषणा गरेको थियो ।

त्यसपछि क्यानडाले वर्मासहित ६ कूटनीतिज्ञलाई देश निकाला गरिदिएको थियो । योसँगै नयाँ दिल्लीले ६ क्यानडेली कूटनीतिज्ञलाई पनि निष्कासन गरेको थियो । 

भारतले यी आरोपहरूलाई बेतुका भन्दै यसलाई जस्टिन ट्रुडोको घरेलु भोट बैंकलाई खुसी पार्नको लागि उठाएको कदम भन्दै आएको छ । तर क्यानडा सरकारले प्रहरीको अनुसन्धानबाट प्रमाण सहित भारत सरकारले नियोजित रुपमा आफ्ना पूर्व नागरिकहर जो अहिले क्यानडामा बसेर स्वतन्त्र खालिस्तानको पक्षमा छन् उनिहरुको हत्या गराउन प्रायोजन गर्दै आएको खुलासा गरेको छ ।