(Japan) 18 th April | 2026 | Saturday | 6:01:05 PM || (Nepal) 2:46:05 PM
 
 


'अमेरिकासम्म मारहान्न सक्ने नयाँ ह्वासोङ-१९ मिसाइल सफलतापूर्वक परीक्षण' : उत्तर कोरिया

  POSTED ON : Friday, 01 November, 2024 | Views : 946

'अमेरिकासम्म मारहान्न सक्ने नयाँ ह्वासोङ-१९ मिसाइल सफलतापूर्वक परीक्षण' : उत्तर कोरिया


टोकियो, जापान ।

उत्तर कोरियाले शुक्रबार नयाँ ह्वासोङ-१९ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको जनाएको छ । नेता किम जोङ उनले देशले 'अपरिवर्तनीय सफलता' प्राप्त गरेको बताएका छन् । जुन मिसाइलले अमेरिकाको जुनसुकै क्षेत्रसम्म मार हान्न सक्ने क्षमता राख्दछ ।

सर्वोच्च नेता किमको निर्देशनमा, उत्तर कोरियाले 'महत्वपूर्ण' मिसाइल परीक्षण गरेको, जसले देशको सशस्त्र सेनाको मजबुत स्थिति कायम राख्न सफल बनाएको कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले उल्लेख गरेको छ ।

दक्षिण कोरियाली सेनाले बिहीबार उत्तरको प्योङयाङ क्षेत्रबाट करिब ७ः१० मा क्षेप्यास्त्र प्रहार गरिएको बताएको थियो । जावान सागर नजिक पूर्वी सागरमा खस्नुअघि मिसाइल दुरीको टाढाको हिसाबले करिब १,००० किलोमिटर उडेको बताएको छ । तर यसले पार गरेको उचाइ समेतलाई आधार मान्दा यसले १५,००० किलोमिटरसम्म मार हान्न सक्ने क्षमता राख्ने बताइएको छ । दक्षिण कोरियाले उत्तरले प्रहार गरेको मिसाइललाई नयाँ ठोस ईन्धन सहितको अन्तरमहादेशिय मिसाइलको रुपमा व्याख्या गरेको छ ।

पछिल्लो लामो दुरीको क्षेप्यास्त्र प्रक्षेपण लगभग एक वर्षमा पहिलो पटक र नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपति चुनावको केही दिन अघि आएको हो । पर्यवेक्षकहरूले उत्तरको उत्तेजना अमेरिकी मुख्य भूमिमा आणविक हतियार पुर्‍याउने आफ्नो क्षमता देखाउन र हालसालैबाट रसियामा आफ्नो सेना तैनाथ गरेपछि त्यसमा ध्यान हटाउनको लागि भएको विश्लेषण गरेका छन् ।

उत्तर कोरियाले पछिल्लो अन्तरमहादेशिय क्षेप्यास्त्रलाई 'अति शक्तिशाली आक्रामक साधन' र लामो दूरीको मिसाइल श्रृंखलाको 'अन्तिम' संस्करणको रूपमा वर्णन गरेको छ ।

अत्याधुनिक रणनीतिक हतियार प्रणालीको परीक्षणले उत्तर कोरियाको रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैको रेकर्ड अपडेट गरेको र विश्वको सबैभन्दा शक्तिशाली विश्वसनिय आधुनिक रणनीतिक प्रतिरोधक क्षमता प्रदर्शन भएको केसिएनएले जनाएको छ ।

उत्तर कोरियाले ह्वासोङ–१९ ले अधिकतम ७,६८७.५ किलोमिटरको उचाइमा १,००१.२ किलोमिटरको दुरी पार गरेको र ५,१५६ सेकेण्ड उडान गरेको जनाएको छ । यो उत्तर कोरियाली मिसाइलको लागि सबैभन्दा लामो उडान समयको रूपमा मूल्याङ्कन गरिएको थियो ।

उत्तर कोरियाली मिडियाले खिचेका तस्बिरहरूले मिसाइललाई ११-एक्सल ट्रान्सपोर्टर इरेक्टरबाट प्रहार गरिएको देखाएको छ । किमकी छोरी जु ए पनि मिसाइल प्रक्षेपणको निरीक्षण गर्न बाबु किमसँगै उपस्थित भएको तस्विरहरु सार्वजनिक गरिएको छ ।