एजेन्सी ।
पेरुका पूर्व राष्ट्रपति अलेजान्द्रो टोलेदोलाई २० वर्ष ६ महिनाको जेल सजाय भएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोग प्रमाणित भएपछि उनलाई त्यहाँको एक अदालतले सो सजाय तोकेको हो ।
टोलेदोले ३ करोड ५० लाख अमेरिकी डलर घूस लिएर दक्षिण पेरुमा सडक बनाउने करार ब्राजिलको एउटा निर्माण कम्पनी ओदेब्रेच्टलाई दिएको आरोप प्रमाणहरुले पुस्टि गरेको अदालतले बताएको छ ।
टोलेदो सन् २००१ देखि सन् २००६ सम्म राष्ट्रपति थिए । उनी पाँच वर्षअघि क्यालिफोनिर्यामा पक्राउ परेका थिए । त्यहाँ उनी कयौँ वर्ष बसेर काम गरेका थिए । गएको वर्ष मात्रै उनलाई अमेरिकालाई सुपुर्दगी गरिएको थियो ।
सो करार पाउन आफूले पेरु र अमेरिकाभर कयौँ अधिकारीहरूलाई दसौँ लाख डलर घूस दिएको ओदेब्रेच्टले पनि स्वीकार गरिसकेको छ ।
ओदेब्रेच्टकै मामिलामा घुस लिएको अभियोग लागेपछि प्रहरीले समात्न आउनु अघि पेरुका अर्का पूर्व राष्ट्रपति एलन ग्रासियाले घरमै सन २०१९ मा आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए ।
यस मामिलामा दुई पूर्व राष्ट्रपतिहरू पेद्रो पाब्लो कुजिन्स्की र ओलाअन्ता हुमालामाथि पनि छानबिन भइरहेको छ ।