एजेन्सी ।
रुसको पक्षमा युक्रेन बिरुद्ध लड्न उत्तर कोरियाले आफ्ना हजारौं सैनिक पठाएको विवरणहरु सार्वजनिक भएपछि दक्षिण कोरिया आक्रोसित बनेको छ । दक्षिण कोरियाले यसमा आपत्ति जनाउँदै रुसलाई उत्तर कोरियाली सेना फिर्ता गर्न दबाव दिएको छ ।
दक्षिण कोरियाले रुसी राजदुतलाई बोलाएर युक्रेनमा लड्न तालिम लिइरहेको भनिएका उत्तर कोरियाली सैनिकलाई तत्काल देश फर्काउन माग गरेको हो ।
दक्षिण कोरियाका लागि रुसी राजदूत जर्जी जिनोभिएभ सँगको भेटमा दक्षिण कोरियाका उप-विदेशमन्त्री किम होङ-क्युनले यस कदमको निन्दा गर्दै सियोलले उपलब्ध सबै उपाय सहित जवाफ दिन चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसी राजदुत जिनोभिएभले मस्को र प्योङयाङ बीचको सहयोग अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्र रहेको कुरामा जोड दिए । उत्तर कोरियाले रुसी सेनालाई सहयोग गर्न सेना पठाएको आरोप भने उनले पुष्टी गरेनन् ।
उत्तर कोरियाले भने यस आरोपमा कुनै टिप्पणी गरेको छैन । दक्षिण कोरियाली जासुसी एजेन्सीका अनुसार विशेष बलका सैनिकहरू सहित लगभग १५ सय उत्तर कोरियाली सैनिकहरू रूस पुगेका छन् । यो संख्या १२ हजार नाघ्ने केही पश्चिमा मिडियाहरुको दाबी छ ।