एजेन्सी ।
बमबारी र स्थल आक्रमणबाट लेबनानको बस्तीहरु ध्वस्त बनाउँदै दैनिक दर्जनौं सर्वसाधारणको हत्या गरिरहेको इजरायली सेना बिरुद्ध प्रत्याक्रमणमा उत्रिएको हिजबुल्लाह समुहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मध्य इजरायलको सिजेरियामा रहेको निवासमा ड्रोन आक्रमण गरेको छ ।
प्रधानमन्त्री नेतान्याहुका प्रवक्ताले आक्रमणको पुष्टि गर्दै नेतन्याहु र उनकी श्रीमती ड्रोन आक्रमणको समयमा घरमा नभएको बताएका छन् ।
आक्रमणबाट कुनै हताहती नभएको ति प्रवक्ताले बताएका छन् ।
इजरायलको सेनाले लेबनानबाट प्रक्षेपण गरिएको ड्रोन सिजेरिया क्षेत्रमा रहेको संरचनामा ठोक्किएको बताएको छ ।
इजरायली सुरक्षा सेवाहरूले सिजेरियामा ड्रोन आक्रमणलाई धेरै गम्भीर सुरक्षा विफलताको रूपमा हेरेका छन् ।
सुरक्षा क्षेत्र पार भएको यस घटनाको बारेमा अनुसन्धान सुरु गरिएको इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाको रेडियोले बताएको छ ।
लेबनानबाट प्रक्षेपण गरिएको ड्रोनले नेतान्याहूको तेल अवीवको उत्तरमा रहेको सिजेरियाको निवासमा प्रहार भएको हो ।
यसैबिच शनिवार हिजबुल्लाहले दक्षिणी लेबनानबाट इजरायली आक्रमणको जवाफमा इजरायलको हाइफाको उत्तरमा रहेको इजरायली सैन्य आधारमा रकेट प्रहार गरेको जनाएको छ ।
ठूलो रकेट श्रृंखला दक्षिण लेबनानका गाउँहरूमा इजरायली आक्रमणको बदलाको रूपमा आएको हो । इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायलमा प्रक्षेपणहरू गरेको बताएको ।
इजरायली सेनाको रेडियोले यी रकेट हमलाहरूमा कम्तिमा १३ जना घाइते भएको रिपोर्ट गरेको छ ।