एजेन्सी ।
गाजा नरसंहार मच्चाइरहेको इजरायलले उसको सहयोगी राष्ट्र अमेरिकाले मानवीय सहायता छिर्न दिन भन्दै सचेत गराएपछि बल्ल छिटफुट रुपमा मानवीय सामग्री बोकेका ट्रकहरुलाई गाजामा प्रवेश दिन थालेको छ ।
इजरायली सेनाको नरसंहारमा ४२ हजार बढि सर्वसाधारणको हत्या र बिनासपछि भोकमरी सुरु भएको प्यालेस्टाइनको गाजा क्षेत्रमा पछिल्लो २४ घण्टामा ५० वटा मानवीय सहायता बोकेका ट्रक गाजा पट्टीमा प्रवेश गर्न दिएको बताएको छ ।
युद्धग्रस्त क्षेत्रमा मानवीय सहायताको पहुँच नबढाएमा सैन्य सहयोग रोकेर कारबाही गर्ने अमेरिकाको चेतावनी पछि इजरायलले मानवीय सामग्री बोकेका गाडी गाजामा प्रवेश गराउन लचिलो भएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
मानवीय सहायता जोर्डनबाट एलेनबी ब्रिजमार्फत र गाजामा पश्चिमी इरेज क्रसिङ हुँदै पठाइएको थियो । इजरायल र उत्तरी गाजाबीचको बाटो मानवीय सहायता हस्तान्तरणको लागि गएको मे महिनामा खोलिएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार खाद्यान्न अभाव भएको उत्तरी गाजामा इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरिरहेको छ ।
यसैबीच गाजाका एक लाख ५० हजारभन्दा बढी बालबालिकाले दोस्रो चरणको अभियानको पहिलो दुई दिनमा मौखिक पोलियो खोपको आवश्यक दोस्रो डोज प्राप्त गरेका छन् ।
प्यालेस्टिनी क्षेत्रका केही भागमा इजरायली सैन्य कारबाही भईरहे पनि १० वर्षमुनिका पाँच लाख ९० हजारभन्दा बढी बालबालिकाका लागि पोलियो खोप अभियानको दोस्रो चरण गएको सोमवार शुरु भएको थियो ।
अभियानका क्रममा एक लाख २८ हजार एक सय २१ बालबालिकालाई भिटामिन ‘ए’ पनि खुवाइएको थियो । गाजा पट्टीमा २५ वर्षमा पोलियोको पहिलो केश पुष्टि भएपछि खोप अभियान सुरु भएको हो ।
गत बर्षको अक्टोबर ७ यता इजरायली सेनाले गाजामा मच्चाएको नरसंहारमा परि हालसम्म १७ हजार भन्दा बढि बालबालिकाको हत्या भइसकेको छ ।