(Japan) 17 th April | 2026 | Friday | 5:34:54 PM || (Nepal) 2:19:54 PM
 
 


भारतीय अर्बपती व्यापारी रतन टाटाको निधन

  POSTED ON : Thursday, 10 October, 2024 | Views : 1150

भारतीय अर्बपती व्यापारी रतन टाटाको निधन


एजेन्सी ।

भारतीय औद्योगिक क्षेत्रमा चर्चित अर्बपति व्यापारी रतन टाटाको निधन भएको छ ।

८६ वर्षको उमेरमा मुम्बईमा उपचारको क्रममा टाटाको बुधबार राती निधन भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । यस अघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो । पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए । तर, स्वास्थ्यमा खराबी आएपछि बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो ।

भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको उल्लेख गरेका छन् ।

आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई भारतकै उत्कृष्ठ कम्पनीको रुपमा उचाइमा पुर्याउन ठुलो योगदान दिएका छन् ।

रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।

सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ ।

पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । 

उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । टाटा भारतको प्रतिष्ठित पद्मविभूषणबाट पनि सम्मानित भएका छन् ।

टाटाको निधन प्रति भारत सहित विश्वभरका अग्रज व्यापारी, उद्योगपति सहित देशका प्रमुखहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन् । विश्वभरका सबैजसो संचार माध्यमले रतन टाटाको निधनलाई प्रमुखताका साथ समाचार प्रकाशित गरेका छन् ।