एजेन्सी ।
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्तेले देशको दक्षिणी भागमा पर्ने डाभाओ सहरको मेयरका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
डुटेर्तेले सोमबार सामाजिक सञ्जालमा उनले मिन्डानाओ टापुको सबैभन्दा ठूलो सहरको मेयर पदका लागि उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन् ।
वर्तमान राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँग डुटेर्तेको सम्बन्ध यस वर्ष टकरावमा परिणत भएको बेला यो आएको हो । पूर्व राष्ट्रपतिकी जेठी छोरी उपराष्ट्रपति सारा डुटेर्तेले आफ्ना बुवा मध्यावधि चुनावमार्फत आफ्नो राजनीतिक प्रभाव बढाउन तयार रहेको सङ्केत दिएकी छन् ।
७९ वर्षीय डुटेर्तेले गत साता आफ्नो उमेरका कारण राष्ट्रव्यापी चुनावी अभियान चलाउन गाह्रो भएको बताएका थिए ।
डुटेर्तेले २०१६ मा राष्ट्रपति बन्नुअघि दुई दशकभन्दा बढी समयसम्म डाभाओको मेयरको रूपमा सेवा गरेका थिए । प्रहरीलाई थप अधिकार दिने जस्ता उपायहरू मार्फत शहरलाई सुरक्षित बनाउने श्रेय उनलाई दिइएको थियो ।
राष्ट्रपतिको रूपमा, उनले लागूऔषध अपराधमा ठूलो सफलता पाएका थिए । लागू औषध नियन्त्रणका क्रममा ६,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइन्छ । उनी लागुऔषध संदिग्धहरूको गैरन्यायिक हत्याप्रति सहिष्णु देखिएका थिए ।
उनको लागुऔषध विरोधी अभियानलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले मानवता विरुद्धको सम्भावित अपराधको रूपमा अनुसन्धान गरिरहेको छ ।