टोकियो, जापान ।
इजरायलले प्यालेस्टाइनमा जारी राखेको नरसंहारको बिरोध स्वरुप गाजा पट्टीमा युद्धविरामको आह्वान गर्दै टोकियोमा मैनबत्ती प्रज्वलित कार्यक्रम आयोजना गरिएको छ ।
गाजालाई सहयोग गर्ने जापानका छवटा गैरसरकारी संस्थाले शनिबार राजधानी टोकियोको एक मन्दिरमा संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् ।
प्रत्येक संगठनले गाजामा जन्मेका डाक्टरले भाषण गर्नु अघि गाजाका बालबालिकाको पोषण र मानसिक स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले आफ्ना गतिविधिहरू रिपोर्ट गरेका थिए ।
इजेलदिन अबुइलाईसि अहिले जापान भ्रमणमा छन् । सन् २००९ मा गाजास्थित उनको घरमा इजरायली सेनाले आक्रमण गर्दा उनले आफ्ना तीन छोरी र एक भान्जी गुमाएका थिए ।
अबुइलाईसि एक मानव अधिकार कार्यकर्ता पनि हुन्, उनले गाजाका मानिसहरूले सामुहिक हत्या, सामूहिक विनाश, सामूहिक जबरजस्ती विस्थापन, सामूहिक भोकमरी, दैनिक आधारमा सामूहिक पीडा सामना गरिरहेको संसारले हेरिरहेको पिडा सुनाएका थिए ।
उनले पीडालाई हेर्न नहुने गरी रोक्न आवश्यक रहेको र यसलाई रोक्न विश्वले पहल गर्नुपर्नेमा जोड दिए ।
सहभागीहरू मैनबत्ती जस्तै एलईडी बत्तीहरू लिएर वरिपरि भेला भएका थिए । जसमा जागा लेखिएको थियो । उनीहरुले द्वन्द्व पीडितका लागि मौन प्रार्थना गर्दै युद्धविरामको आह्वान गरेका थिए ।
६० वर्षकी एक महिलाले करिब २० वर्षअघि गाजा भ्रमण गरेको बताइन् । उनले भनिन् अहिले गर्न सक्ने चन्दा पठाउनु नै एकमात्र सहयोग भएको बताइन्, तर गाजाका जनताको लागि आफूले गर्न सक्ने सबै सहयोग गर्न चाहेको उनले बताइन ।
एक बर्षमै इजरायली सेनाले हमास बिरुद्धको नाममा गाजामा ४२ हजार नागरिकको हत्या गरेको छ । गाजा क्षेत्र पूर्ण रुपमा बम, रकेट र गोलाबारुद्धले ध्वस्त पारिएको छ ।
हालैका दिनमा इजरायली सेनाले उस्तैगरि लेबनानमाथि समेत आक्रमण थालेको छ । हिजबुल्लाह लक्षित भनेपनि हप्तादिनमै २ हजार भन्दा बढी सर्वसाधारणको इजरायली आक्रमणमा ज्यान गइसकेको छ ।