(Japan) 13 th September | 2025 | Saturday | 7:01:37 AM || (Nepal) 3:46:37 AM
 
 

माउन्ट फुजीको सम्भाव्य ठूलो ज्वालामुखी विस्फोटमा तयारी गर्न विज्ञहरुको सरकारलाई सुझाव

  POSTED ON : Saturday, 22 March, 2025 | Views : 1538

माउन्ट फुजीको सम्भाव्य ठूलो ज्वालामुखी विस्फोटमा तयारी गर्न विज्ञहरुको सरकारलाई सुझाव


टोकियो, जापान ।

जापान सरकारले नियुक्त गरेको विज्ञहरुको प्यानलले माउन्ट फुजीमा ठूलो मात्रामा ज्वालामुखी विस्फोट भएमा र ठूलो मात्रामा खरानी निस्किएमा के गर्ने भन्ने उपायहरू सरकारलाई सुझाव दिएको छ । जापानको सर्वोच्च शिखर माउन्ट फुजीमा अन्तिम पटक ३०० वर्षभन्दा पहिले विस्फोट भएको थियो ।

ज्वालामुखीविद् र प्रकोप तयारी विशेषज्ञहरूको प्यानलले शुक्रबार आफ्नो प्रतिवेदन जारी गर्दै सरकारलाई उद्दार र आवश्यक तयारी गर्न सल्लाह दिएको छ ।

माउन्ट फुजीको अन्तिम विस्फोटको तथ्यांक सन् १७०७ मा भएको बताइन्छ । विज्ञहरूले त्यस बेलाको समान स्तरको विस्फोटले टोकियो, खानागावा प्रिफेक्चर र अन्यत्रको विस्तृत क्षेत्र १० सेन्टिमिटर वा सोभन्दा बढी खरानीले ढाक्ने बताएको छ ।

प्यानलले आफ्नो प्रतिवेदनमा घना बसोबास भएको टोकियो र यसको वरपरका प्रिफेक्चरका बासिन्दाहरूले एकसाथ बासस्थान छाडेर सुरक्षित क्षेत्रमा जान सम्भव नहुने बताएको छ ।

विज्ञ प्यानलले ३० सेन्टिमिटरभन्दा कम ज्वालामुखी विस्फोटका खरानी खसेको क्षेत्रहरूमा बस्ने बासिन्दाहरुले घर छाडेर अन्यत्र सर्नुपर्ने बाध्यता हुने बताएका छन् ।

विज्ञहरुले सम्भव भएसम्म सम्भावित प्रभावित हुने क्षेत्रका बासिन्दाहरूलाई दुई हप्तासम्म आफुलाई पुग्ने खाद्यान्न, पानी लगायत अत्यावश्यक बस्तुहरुको भण्डारण गर्न सुझाव दिएको छ । स्थानीय अधिकारीहरू र व्यवसायहरूलाई मुख्यतया प्रमुख पूर्वाधारहरूको मर्मत र चेकजाँचमा ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ।

अर्कोतर्फ, प्यानलले ३० सेन्टिमिटर वा सोभन्दा बढी ज्वालामुखीका कारण फोहोर जम्मा हुने क्षेत्रका मानिसहरूले बासस्थान खाली गर्न आवश्यक रहेको बताएको छ । विज्ञहरुले ज्वालामुखि पश्चात पानी परेमा भिजेको खरानीको तौलले काठका घरहरू भत्किने जोखिम रहने बताएको छ ।

डायलिसिस वा नर्सिङ हेरचाह आवश्यक पर्ने मानिसहरूले पनि खरानी ३ सेन्टिमिटर पुगेपछि बासस्थान खाली गरेर सुरक्षित स्थानमा जानुपर्ने बताएको छ । किनभने विद्युत आपूर्ति लामो समयसम्म अवरुद्ध हुने सम्भावना रहन्छ ।

प्यानलले सरकारले ज्वालामुखी पश्चात खरानीको पूर्वानुमान सहित जानकारी प्रसारण गर्न प्रणाली स्थापना गर्नुपर्ने बताएको छ।

केन्द्रीय र स्थानीय सरकारहरूले पनि निकासी मार्गहरू सुरक्षित गर्न आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन् ।

टोकियो विश्वविद्यालयका प्रोफेसर तथा विज्ञ प्यानलका प्रमुख एमेरिटस फुजी तोशित्सुगु भन्छन् 'जापानले विगत १०० वर्षमा फराकिलो क्षेत्रमा खरानी फैलाउने विस्फोटको अनुभव गरेको छैन । त्यसैले देशले यस्तो प्रकोपको लागि अहिले नै तयारी सुरु गर्न आवश्यक छ ।'