(Japan) 26 th August | 2026 | Wednesday | 8:17:38 PM || (Nepal) 5:02:38 PM
 
 


समिर लामाको मानव तस्कर धन्धा-एनआरएनए जापान देखि व्यक्तिका कम्पनी पनि छाडेनन्

  POSTED ON : Thursday, 25 July, 2024 | Views : 3314

समिर लामाको मानव तस्कर धन्धा-एनआरएनए जापान देखि व्यक्तिका कम्पनी पनि छाडेनन्


टोकियो, जापान ।

नेपालमा कागजी मिडिया कम्पनी खडा गरेर बिदेशमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजनाका नाममा असम्वन्धित व्यक्तिलाई कलाकार बनाएर लैजाने र उतै छाड्ने मानव तस्करीको अवैध काम समिर लामाको एक दशक अघि देखिको धन्धा हो ।


उनले पाँच बर्ष अघि फ्रान्समा एक कार्यक्रमका लागि लगिदिने भन्दै एक दर्जन बढि व्यक्तिबाट करोड बढि असुलेर कार्यक्रम गर्न नसकेपछि पैसा फिर्ता नपाएका केहि पिडित अझै रकम फिर्ताको लागि धाइरहेका छन् ।


दुई बर्ष अघि मात्र उनै लामाले नेपाल जापान सांस्कृतिक महोत्सव तथा हेराल्ड अवार्ड २०२३ नाम दिएर टोकियोको एक रेष्टुरेण्टमा कार्यक्रम गरे । अवार्ड नाम मात्रको उक्त कार्यक्रममा देखाउने मोहरा बनाएर चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीका प्रस्तोता कृष्ण कँडेल देखि पाईलट बिजय लामा, गायक रवि ओड, शैलेन्द्र सिंखडा, ईन्द्र दोगं, रुपा लामा, रेखा पौडेल, रमेश बानिया लगायतको तस्विर नै राखेर प्रचार गराए ।


उल्लेखित नामहरु मध्ये कँडेल सहित अन्य आधा दर्जन कलाकार उपस्थित भएपनि त्यो भन्दा दोब्बर संख्यामा असम्वन्धित व्यक्तिलाई लामाले जापान छिराएर प्रति व्यक्ति १५ लाख भन्दा बढि रकम असुलेको हल्ला त्यतिखेर समेत चलेको थियो । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डको समेत सहयोग रहेबाट प्रष्ट हुन्छ नेपाल सरकारको बजेट र सहयोग कस्ता कार्यक्रममा खर्च भइरहेको छ भन्ने ।

उक्त कार्यक्रममा कलाकारको नाममा छिराएका असम्वन्धित व्यक्ति जापान समाचारले त्यतिखेर भेटेपनि पैसा लिएको प्रमाण नपाईएपछि यसबारेमा समाचार लेख्न असमर्थ भएका थियौं । तर समाचार लेख्न पनि घिन लाग्दो विषय उनै लामाले ल्याएका मोडल भनिने युवति जापानका केहि व्यवसायीका लागि केहिदिन मनोरञ्जनको साधन बन्न पुगेको कसैमाझ छिपेको विषय छैन । यसबाट समेत उनले बिदेश लैजाने गरेका कलाकारहरुभित्र कस्ता अनुहारहरु अटाउँछन् भन्ने देखाउँछ ।


सोहि कार्यक्रमपछि समिर लामा जापान कलाकारको रुपमा असम्वन्धित व्यक्तिलाई लगेर अबैध धन्धाबाट पैसा कमाउन सकिन्छ भन्ने निस्कर्षमा पुगेको देखिन्छ ।


त्यसपछि उनले योजना बनाए कथित पर्यटन, कला र संस्कृतिको प्रर्बद्धन गर्ने अभियान अन्तर्गत बृहत सांकृतिक कार्यक्रम ।


ठूला अनुहार देखाएर ठूलै धन्धा

बृहत सांस्कृतिक कार्यक्रम साथै एएमएस इन्टरनेशनल होनर एण्ड अवार्डको नाममा टोकियो नाकानोमा अप्रिल २८ तारिख कार्यक्रम भयो । मिडिया पार्टनरको रुपमा राखे कागजी मिडियाको रुपमा रहेको आफ्नै हेराल्ड खवर ।


कार्यक्रममा ठूला अनुहारका कलाकारहरुको ताँती नै लाग्यो । लाग्न पनि किन नलागोस् । आते जाते फ्रि, खानपान सित्तै अनि खल्तिमा थोरै चारो पनि ।


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता शिव श्रेष्ठ, संगितकार शम्भुजित बासकोटा, अन्जु पन्त देखि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनि स्मिता दाहाल सहित दुई दर्जन कलाकार आइरिएर जापान आए । टेलिभिजन प्रस्तोता ऋषि धमलाको चुरीफुरी र उपस्थिति देख्न लायक थियो ।


कार्यक्रम आयोजकका रुपमा नेपालबाट कलाकारिता क्षेत्रमै आवद्ध सत्यकला बोम्जन रहेकी थिइन् । कार्यक्रमको लागि सह आयोजकका रुपमा सुरुमा नेपाली व्यवसायी संघ जापान सहित अन्य केही नाम चलेका व्यवसायीलाई जोड्न प्रयास भएपनि दुई दर्जन कलाकार ल्याउने सुरुवाती योजनाबाट अघि बढेर बम्जन र उनै समिर लामा ६ दर्जन व्यक्ति जापान ल्याउने योजनामा पुगेको थियो । जसका कारण दालमे कुछ काला हे भन्ने लागेर आफुहरुले संस्थागत र व्यक्तिगत रुपमा जापानको आयोजक वा सह आयोजक बस्न अस्विकार गरिदिएको संघ आवद्ध पदाधिकारीहरु बताउँछन् । त्यसपछि चलाख समिर लामाले बोम्जनको सहयोगमा समाए व्यवसायी कर्सागं तामागंलाई ।


हतारमा कार्यक्रम आयोजना गर्नुपर्ने भएपछि जापान सह आयोजकबाट हटेकोमा कानुनी मुद्दा हाल्ने धम्की समेत दिन पछि नपरेकी बोम्जनले यसको तुस स्टेजबाट केहिले कार्यक्रम आयोजनामा धोका र असहयोग गरेको भनेर समेत पोखेकी थिइन् ।


ठेकेदार देखि कहिल्नै नाम नसुनेकाहरुलाई मोडल र अनेक शिर्षकमा स्टेजमै बोलाएर अवार्ड वितरण गरिएको भद्दा मजाकले हलमै हाँसो उठेको कार्यक्रममा उपस्थित आयोजकलाई सहयोग गर्ने कोहिपनि बिनाकुनै अवार्ड खाली हात फर्कनुपरेको देखिंदैनथ्यो ।


नेपालबाट आयोजकले ६० भन्दा बढि व्यक्ति हुने बताएपनि जापानको लागि कार्यक्रम संयोजनको जिम्मेवारी अन्तिम समयमा लिएका कर्सागं तामागं पछिल्लो समय आएको मानव तस्करीको आरोपबारे अनभिज्ञ देखिए ।


त्यो कार्यक्रममा मेरो ३०० मान खर्च भएको छ जापानसमाचारसँगको कुराकानीमा तामागंले भने टिकटको पैसा दुई चार जनाले दिएर ६५ मान जति उठेको छ भन्यो भन्दा एक पैसा पाएको छैन ।


असम्वन्धित व्यक्ति आएको बारेमा लामाको स्पष्टोक्ति थियो ‘म सँग अहिलेपनि कोको आएका थिए भनेर २१ जनाको लिष्ट छ । मलाई नेपालबाट आउने कलाकार भनेर जति जनाको नाम दिएका थिए उनिहरु सबै २१ जना फर्केर गएका छन् । मलाई थाहै नभएको बाहिर बाहिरै को को आए वा ल्याए भन्ने मलाई केहि थाहा छैन ।’


पछिल्लो समय सार्वजनिक भएका आरोपित समिर लामाको स्विकारोक्ति र अन्य कागजातबारे व्यवसायी कर्सागं लामाले भने ‘उसले अहिले फेरि कागजमा मात्र कार्यक्रम देखाएर ओसाकाको अमर लामा भाईको कम्पनीको कागजात दुरुपयोग गरेको सुनेको छु, एनआरएन अध्यक्ष पनि ओसाका गएका छन रे अब समातेर ल्याएर सार्वजनिक गरेपछि वास्तविकता बाहिर आउँछ । त्यस्तो फटाहालाई छाड्न हुन्न ।’


एनआरएनए जापान, अध्यक्ष नविन निउरे र उपाध्यक्ष सुभाष लामिछाने बिवादमा मुछिए


अभियुक्त समिर लामाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको लेटरहेड सहितको कागजात, अध्यक्ष नविन निउरेको नाम र हस्ताक्षर तथा उपाध्यक्ष सुभाष लामिछानेको समेत उस्तै तरिकाले विवरण उल्लेख गरेर व्यक्तिहरु जापान ल्याउन कागजात तयार पारेको सार्वजनिक भएका विवरणहरुले देखाउँछ ।


कागजातहरु झट्ट हेर्दा निउरे र लामिछानेले नै कागजात तयार पारे जस्तो देखिएपनि दुवै जनाले यसमा आफ्नो संलग्नतालाई ठाडै अस्विकार गरे ।


लामिछाने भन्छन् ‘बिना प्रमाण झुठो हल्ला फैलाइयो’

एनआरएनए जापानको कार्यसमितिको फेसबुक म्यासेन्जर च्याटमा उक्त कागजात आफैंले राखेर उपाध्यक्ष लामिछानेले अध्यक्ष नविन निउरेलाई सम्वोधन गरेर कारवाही गरिपाउँ भनेर लेखेको पाइएको छ ।


यस बारेमा गरिएको अनौपचारिक संवादमा लामिछानेले नेपाली राजदुतावास र प्रहरीमा निवेदन दिइसकेको बताए । उनले भने ‘मेरो पासपोर्ट नम्वर समेत गलत लखेको छ । गल्ति गरेको स्विकार गरेका लामाले अवार्ड कार्यक्रमका नाममा ल्याएका आधा दर्जन कलाकारसँग हप्तादिन बढि बिताउनुका साथै आफ्नै गाडी समेत प्रयोग गर्न दिएको आधारमै अहिले आफ्नो बिरुद्ध बिना प्रमाण झुटो हल्ला फैलाइएको’ दाबी लामिछानेको छ ।


एनआरएनको लोगो दुरुपयोग भएको सत्य हो, सत्यतथ्य पत्रकार सम्मेलन गरेर बाहिर ल्याउछौं : निऊरे


मंगलबार क्योदाईन्यूज अनलाईनमा यसबारेको पहिलो समाचार सार्वजनिक भए लगत्तै अध्यक्ष नविन निउरे अभियुक्त समिर लामा ओसाकामा रहेको थाहा पाएपछि उतै हानिएका थिए । ‘ओसाकामा छ रे भन्ने थाहा पाएर म त्यतै जाँदैछु’ दिउसो १ बजे आफु लामा बसेको ठाउँ नजिकै पुगेको बताउँदै एनआरएनए जापानका अध्यक्ष निउरेले फोन कुराकानीमा भने ‘एनआरएनए जापानको लोगो, लेटर हेड अनि मेरो र सुभाष जि को नाम लेखेर दुरुपायेग गरेको भन्ने आएको छ, त्यहि बुझ्न जाँदैछु, म सम्वन्धित व्यक्तिसँग कुराकानी गरेपछि मात्र थप कुरा के हो भन्न सक्छु ।’


‘अहिलेसम्म सुवास जि को आईसिसि अधिवेशनमा काठमाडौंमा दिएको पासपोर्ट प्रयोग भएको देखिएको छ, अहिले उहाँको पासपोर्ट नै चेन्ज भइसकेको छ तर त्यो कागजातमा पुरानै पासपोर्ट नम्वर लेखेको छ । उसले लेटर हेड चाहिँ दुरुपयोग गरेको हो तर सबै विवरण झुटो हो । मान्छे चाहिँ ल्याएको भन्ने कुरा छ, तर कतिजना ल्याएको भन्ने आधिकारीक चाहिँ छैन । केहि समय कुर्नुस् हामी उसलाई पत्रकार सम्मेलन गरेर उसबाटै सबैकुरा भन्न लगाउछौं ।’


‘जेएमईको नाम दुरुपयोग भएको छैन’ - ओम गुरुगं

यसअघि सार्वजनिक समाचारमा आफ्नो कम्पनी जेएमई को नाम समेत दुरुपयोग गरिएको भन्ने विषयमा सत्यता नरहेको कम्पनीका प्रमुख ओम गुरुगंले बताए ।


एनआरएनएका अभियन्ता तथा व्यवसायी गुरुगंसँग यस घटनाक्रम बारे सोध्दा उनले आफुले अहिलेसम्म बुझेका र पाएको जानकारी बारे बताउँदै भने ‘पैसा खाएर ल्याएको भन्ने सत्य रहेछ । मान्छे हेरेर १५, १७, २० लाखसम्म लिएको भन्ने सुन्नमा आएको छ । मैंले पाएको इभिडेन्सको आधारमा भन्दा उसले समिर लामा फेक डकुमेन्ट प्रयोग गरेर मान्छेहरु जापान छिराउने गर्दै आएको रहेछ ।’


गुरुगंले भने ‘पत्रकार महासंघ देखि विभिन्न देशको एनसिसि, आईसिसिको समेत डकुमेन्ट बनाएर मान्छे बिदेश पुर्याउन सक्रिय रहेको पाइएको छ ।’


अमरको कम्पनी बेचेर समिर करोडपति, अमरको कम्पनी ब्ल्याक लिष्टमा !