(Japan) 27 th July | 2026 | Monday | 6:04:21 PM || (Nepal) 2:49:21 PM
 
 

होसियार ! जापान अनुमति बिना यात्रु ओसार्ने ट्याक्सीमाथि कारबाही बढाउँदै

  POSTED ON : Monday, 20 November, 2023 | Views : 1514

होसियार ! जापान अनुमति बिना यात्रु ओसार्ने ट्याक्सीमाथि कारबाही बढाउँदै


टोकियो, जापान ।

जापानी अधिकारीहरूले बिदेशी पर्यटकहरुको आगमन बृद्धिसँगै नारिता विमानस्थलमा यात्रु ओसारपसार अनुमति नलिएका ट्याक्सीहरूको निगरानी र कारवाहीलाई तिब्रता दिन थालेका छन् ।

यातायात मन्त्रालयका अधिकारीहरूले बिना लाइसेन्सका ट्याक्सीहरू अवैध र असुरक्षित रहने भन्दै होरियारी अपनाउन बिमानस्थलमा सयौं पर्चाहरु वितरण गरेका छन् । नोभेम्बरको सुरुमा चिबा प्रान्तको एयरपोर्टमा आउने अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई अंग्रेजी र चिनियाँ भाषामा लेखिएका यस्ता पर्चाहरु वितरण गरिएको थियो ।

इजाजतपत्र प्राप्त ट्याक्सीमा हरियो प्लेट वा हरियो फ्रेम भएको प्लेट भएकाले सवारी साधनको लाइसेन्स प्लेटको रंग जाँच गर्न यात्रुहरूलाई आग्रह गरिएको छ । यात्रुहरु ओसारपसार गर्ने लाइसेन्स नभएका ट्याक्सीमा निजी सवारीसाधनको सेतो प्लेट हुने गर्दछ ।

अनाधिकृत ट्याक्सीमा सवार हुँदा यात्रु घाइते भएमा यात्रुले बीमा गुमाउनसक्ने चेतावनी अधिकारीहरुले दिएका छन् ।

यातायात मन्त्रालयको चिबा शाखा कार्यालयका प्रमुख मित्सुतेरु यानासे भन्छन् 'सुरक्षित यात्रा सुनिश्चित गर्न, हामी यात्रुहरूलाई अनुमति लिएका ट्याक्सीहरू र भाडामा लिने सवारी साधनहरू प्रयोग गर्न अनुरोध गर्न चाहन्छौं, जुन सुरक्षित छ ।'

उबर टेक्नोलोजि इन्क र ग्राब होलिगंस् इन्क लगायतका अनलाइन मार्फत भाडामा ट्याक्सी सेवा उपलब्ध गराउने अपरेटरहरू अन्य देशमा व्यापक रूपमा प्रयोग भएपनि जापानले निजी सवारी साधनका चालकहरूलाई अनौपचारिक ट्याक्सीको रूपमा सेवा दिन सैद्धान्तिक रुपमा प्रतिबन्ध लगाएको छ ।

ग्रामीण क्षेत्र र पर्यटकिय स्थलहरूमा ट्याक्सी चालकहरूको तीव्र अभाव बढिरहँदा पूर्व प्रधानमन्त्री योशिहिदे सुगा लगायत सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी भित्रका नेताहरुले हालै यातायात क्षेत्रमा बिदेशी कामदार आपूर्ति र पश्चिमा देशहरुमा जस्तै निजि सवारीसाधनलाई निश्चित प्रक्रिया मार्फत यात्रु ओसारपसार दिन सकिने व्यवस्थाको पक्षमा आवाज उठाएको बताइन्छ ।

प्रधानमन्त्री फुमियो किशिदाले पनि अक्टोबरमा समस्या समाधान गर्न यात्रु ओसारपसार गर्न दिने ईच्छा व्यक्त गर्दै राइड हेलिङ्ग सेवा सञ्चालन गर्न दिने विषयमा छलफल गर्ने वाचा गरेका थिए ।

तर यातायात मन्त्रालय र ट्याक्सी सेवा उपलब्ध गराउने कम्पनीहरुले सवारीसाधन मर्मतसम्भार र चालकको स्वास्थ्य जाँच गर्ने जिम्मेवारी कसले लिने भन्ने नियमको अभावसँग सम्बन्धित सुरक्षा सरोकारलाई उद्धृत गर्दै प्रतिस्पर्धी सेवाहरू सुरु गर्न दिन विरोध जनाइरहेका छन् ।

विशेषगरि बिदेशबाट आएका पर्यटक तथा आगन्तुकहरुलाई परिचित सम्पर्क माध्यमका आधारमा बिमानस्थलबाट ओसारपसार सहित पर्यटकिय स्थानहरु भ्रमण गराउन निजि गाडि संचालन गर्ने व्यक्ति वा कम्पनीहरुले काम गरिरहेको बताइन्छ ।

यस्ता कार्यमा विशेषगरि चिनियाँ, भियतनामी सहित केहि नेपाली व्यक्ति तथा समुह पनि संलग्न भएको बताइन्छ ।

यदि प्रमाण सहित पक्राउ परेको अवस्थामा यस्तो सेवा उपलब्ध गराउने व्यक्ति तथा कम्पनीमाथि कडा कारवाही गरिने जापानको यातायात मन्त्रालयले बताएको छ ।