टोकियो, जापान ।
इबाराकी प्रिफेक्चरमा बसोबास गर्ने श्रीलंकालीहरूले सरकारले जापानमा जन्मेका र हुर्केका विदेशी नागरिकका बच्चाहरूलाई जापानमा बस्ने 'विशेष आवास अनुमति' दिने जापान सरकारको नीति अनुसार राहत पाएको बताएका छन् । जुन नीति अनुसार यदि बिदेशी अभिभावकहरूले निश्चित सर्तहरू पूरा गरेमा जापानको भिसा अवस्था गुमाउन पुगेको अवस्थामापनि बाबुआमा र बच्चाहरूलाई जापानमै बस्न दिइन्छ ।
नोभेम्वर १७ मा सरकारको नयाँ नीति अन्तर्गत जापानमै बस्ने अनुमति दिइएको व्यक्तिगत घटना सार्वजनिक भएको यो पहिलो पटक हो ।
सरकारले गत अगष्टमा जापानमा जन्मेर हुर्केका तर बासिन्दाको हैसियत नभएका अभिभावकले भिषा गुमाउन पुगेका प्रारम्भिक विद्यालयदेखि हाईस्कूलसम्मका विदेशी बालबालिकाहरूलाई अभिभावकले केही सर्तहरू पूरा गरेमा आफ्ना छोराछोरीलाई हुर्काउन र जापानमा नै बस्न अनुमति दिने घोषणा गरेको थियो । नयाँ नीति अनुसार जापानमा गम्भीर आपराधिक रेकर्ड नभएको तर विविध कारण जापानको भिषा गुमाउन पुगेको अवस्थामा अभिभावक सहित जापानमा नै अध्ययन गर्दै आएका बालबालिकाहरुलाई बस्न अनुमति दिनेछ ।
यस नीति अन्तर्गत नोभेम्वर १७ तारिख ७ र ५ बर्षका श्रीलंकाली बालक र उनीहरूका आमाबाबुलाई आवासको स्थिति नभएको र इबाराकी प्रिफेक्चरमा बस्दै आएकामा विशेष आवास अनुमतिपत्र प्रदान गरिएको छ ।
अनुमति पाएका अभिभावक र बच्चा २०१२ मा प्राविधिक इन्टर्न प्रशिक्षार्थीका रूपमा जापान आएका थिए । पछि आफ्नो देश फर्किएमा राजनीतिक द्वन्द्वका कारण खतरामा पर्न सक्ने डर भएको जनाउँदै उनिहरुले शरणार्थी आवेदन दिएका थिए तर आवेदन स्वीकृत नहुँदा उनिहरुले जापान बसोबासको अनुमति गुमाएका थिए ।
जापानमा बस्न पाउने विशेष भिषा पाएपछि ७ बर्षका श्रीलंकाली बालकले भनेका छन् 'म खुसी छु, मेरो भविष्यको सपना डाक्टर बन्ने छ, त्यसैले म जापानमा पढ्न चाहन्छु।'
बच्चाकी आमाले भनिन्, 'अनुमति पाएकोमा म साँच्चै खुसी छु। म कडा परिश्रम गर्न चाहन्छु र मेरो बच्चाले जापानमा राम्रो जीवन बिताउन सकून् ताकि उसले आफ्नो भविष्यको सपना साकार पार्न सकून् ।'
सरकारले गत अगष्टमा नयाँ नीति घोषणा गरेपछि व्यक्तिगत रूपमा अनुमति दिएको यो पहिलो पटक भएको विश्वास गरिएको छ ।
जारी गरिएको निवासको अनुमतिले आमाबाबुलाई काम गर्न, स्वास्थ्य बीमामा आवद्ध हुन, सार्वजनिक उच्च विद्यालयहरूमा भर्ना गर्न सहजता हुने बताइएको छ ।
जापानले लागू गरेको नयाँ नीति अनुसार यस्तो खालको विशेष आवास अनुमति निम्न अवस्थामा प्रदान गरिन्छ
१. यदि तपाईं एक प्राथमिक विद्यालय वा हाई स्कूलका विद्यार्थी हुनुहुन्छ जो संशोधित कानून लागू हुनु अघि जापानमा जन्मिएको र हुर्केको हो र जापानमा बसेरै थप अध्ययन अगाडी बढाउन चाहनुहुन्छ भने ।
२. जापानमा कुनै गम्भीर आपराधिक गतिविधिमा संलग्न नभएका अभिभावकहरु जस्ता केही सर्तहरू पूरा भएको खण्डमा ।
एक पूर्वानुमान अुनसार १८ वर्ष भन्दा कम उमेरका लगभग २०० बालबालिकाहरु मध्ये ७० देखि ८० प्रतिशतसँग जापानमा जापान बसोबासको योग्यता छैन । अध्यागमन सेवा एजेन्सीले हाल त्यस्ता बालबालिकाहरुले विशेष आवास अनुमतिको सर्तहरू पूरा गर्ने नगर्ने भनेर ति बालबालिकाको विवरणहरु पुष्टि गर्ने काम गरिरहेको बताइएको छ ।