(Japan) 27 th July | 2026 | Monday | 6:07:11 PM || (Nepal) 2:52:11 PM
 
 

नेपालबाट जापान आउनुअघि अप्रिलबाट क्षयरोग परिक्षण अनिवार्य !

Gokarna Adhikari   POSTED ON : Friday, 17 November, 2023 | Views : 10132

नेपालबाट जापान आउनुअघि अप्रिलबाट क्षयरोग परिक्षण अनिवार्य !


टोकियो, जापान ।

जापानले आगामी आर्थिक वर्षदेखि मध्यम देखि दिर्घकालिन रुपमा जापान बस्नेगरि आउने नेपाल लगायत केही देशका मानिसहरूका लागि अनिवार्य क्षयरोग (ट्युवरक्लोसिस) जाँच गराउने योजना बनाएको छ ।

जापानका स्वास्थ्यमन्त्री केइजो ताकेमीले जापान आउनुअघि क्षयरोग नलागेको प्रमाणित गर्ने कागजात बुझाउनुपर्ने देशहरुमा एशियाली देशहरु रहेको बताएका छन् । जसमा नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम रहेको बताइएको छ ।

क्योदो समाचार संस्थाका अनुसार यि ६ वटा देशबाट आएकाहरुमा धेरैजसो संक्रामक रोगहरु भेटिएको छ ।

जापान आउनुअघि क्षयरोग लागे नलागेको परिक्षण आवश्यकता ती देशहरूको नागरिकता बोकेका र सामान्यतया ति देशमा बसोबास गर्ने र अध्ययन वा काम जस्ता उद्देश्यका लागि जापानमा तीन महिनाभन्दा लामो समय बस्ने योजनामा ​​लागू हुनेछ ।

यो नियम लागू भएपछि नेपालबाट आउने विद्यार्थी वा रोजगार लगायत भिषामा आउने व्यक्तिले जापान प्रवेश अघि क्षयरोगबाट संक्रमित नभएको वा माग गरिएका स्वास्थ्य परिक्षणको प्रमाण अनिवार्य बुझाउनुपर्नेछ ।

‘आगामी आर्थिक वर्षमा प्रणाली सुरु गर्ने अन्तिम तयारी गर्दैछौँ,’ स्वास्थ्य, श्रम तथा कल्याणमन्त्री ताकेमीले संसदीय समितिको बैठकमा भनेका छन् । जापानको आर्थिक वर्ष अप्रिल महिनामा सुरु हुन्छ ।

श्रोतका अनुसार परीक्षणको तयारी पूरा गरेका देशहरुबाट यो प्रणाली शुरु हुने सम्भावना छ ।

जापान सरकारले २०२१ मा हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकको उद्घाटनको वरिपरि अनिवार्य क्षयरोग परीक्षण प्रणाली लागू गर्ने विचार गरिरहेको थियो, तर कोरोना भाइरस महामारीका कारण यो योजना स्थगित गरिएको थियो ।

क्षयरोग निको हुने र रोकथाम गर्न सकिने भएतापनि २०२२ मा यस रोगबाट विश्वभर कुल १३ लाख मानिसको मृत्यु भएको छ । यो कोभिड–१९ पछिको दोस्रो ठूलो संक्रामक रोग रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

जापानमा, २०२१ मा क्षयरोगका बिरामीहरू पहिलो पटक प्रति १० लाखमा १० देखि ९.२ जनामा मात्र संक्रमण पाइएको थियो, जसले एसियाली राष्ट्रलाई रोगको कम घटना भएका देशहरूको डब्ल्यूएचओ श्रेणीमा राखेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार २०२२ मा यो संख्या ८.२ मा झरेको छ ।

डब्लुएचओका अनुसार क्षयरोगको उपचार सामान्यतया एन्टिबायोटिकद्वारा गरिन्छ । उपचार समयमै हुन नसकेमा भने यसले ज्यान समेत लिने गर्दछ ।