टोकियो, जापान ।
जापानमा नेपालीहरुको जनसंख्या निरन्तर बढ्ने क्रममा पहिलो पटक १ लाख ५० हजार पार भएको छ ।
जापान सरकारको अध्यागमन बिभागले हालै जापानमा रहेका बिदेशीहरुको संख्या अधावधिक गर्ने क्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको जनसंख्या १५६,३३३ पुगेको उल्लेख छ ।
जापानले हरेक बर्ष जुन महिना र डिसेम्बर महिनालाई आधार बनाएर दुई पटकट तथ्यांक प्रकाशन गर्ने गर्दछ । उक्त तथ्यांक निस्कन करिब ४ महिना लाग्ने गर्दछ । जुन तथ्यांक अनुसार अघिल्लो बर्षको तुलनामा नेपालीको जनसंख्या १६,९४० ले बढेको छ ।
यो तथ्यांकमा जापानमै जन्मेका नेपालीको बच्चाहरुलाई समेटिएको छ । तर जापानी नागरिकता लिएर नेपाली नागरिकता छोडेकाहरु कति छन भन्ने उल्लेख नहुने जापानबारे जानकारी राख्नुहुने जिज्ञानकुमार थापाले जानकारी दिनुभयो ।
त्यसैगरी जापानबाट तेस्रो मुलुक गएका नेपालीहरुको बारेमा अथवा बिभिन्न अवस्थाले जापान छोडेर नेपाल फर्केका वा फर्काइएकाहरुको बारेमा भने जुन मसान्त भित्र जापान छोडेको जानकारी स्थानिय निकाएमा बुझाएकाहरुको भने कुन संख्याबाट घटाइएको हुन्छ । यद्यपी भिषा अवधि भएर केहि समयका लागि रिइन्ट्रि लिएर गएकाहरु भने यस गणनामा स्वतह जोडिएका हुन्छन् ।
जापान सरकारको तथ्यांक अनुसार सन् २०२२ डिसेम्बरसम्म जापानमा नेपालीको संख्या १३९,३९३ रहेको थियो । सार्वजनिक जापान सरकारको तथ्यांकले जापानको स्थानिय निकाय वडा कार्यलय, नगर वा शहरमा कानुनी रुपमा बसोबासरत व्यक्तिहरुको तथ्यांक मात्र समेट्ने गर्दछ ।
जापानमा नेपालीहरुको संख्या बृद्धिक्रम हेर्ने हो भने गत बर्ष अहिलेसम्मकै सर्वाधिक ४२ हजार भन्दा बढिले बृद्धि भएको थियो । कोभिड महामारिका कारण रोकिएकाहरु दुई बर्षपछि एकैपटक आउँदा उक्त बृद्धि देखिएको थियो ।
जापानमा संख्याका आधार नेपालीहरुको उपस्थिति सन् २०१३ मा ३१,५३७, २०१४ मा ४३,३४६, सन् २०१५ मा ५४,७७५, सन् २०१६ मा ६७,४७०, सन् २०१७ मा ८०,०३८, सन् २०१८ मा ८८,९५१ तथा सन् २०१९ मा ९६,८२४ रहेको थियो ।
कोभिड महामारिको सुरुवातसँगै नयाँ भिषा बाहक जापान आउन रोकिएको र विभिन्न कारण जापानबाट बाहिरिने संख्या नियमित रहँदा सन् २०२० मा भने नेपालीको जनसंख्या करिव ११ सयले घटेर ९५,९८२ रहेको थियो । यस्तै सन् २०२१ मा ९७,१०९ र सन् २०२२ मा १३९,३९३ रहेको थियो भने सन् २०२३ मा १५६,३३३ पुगेको छ ।
जापानमा बिदेशी नागरिकको कुल जनसंख्या भन् सन् २०२३ मा ३,२२३,८५८ पुगेको छ । यसमा सबैभन्दा धेरै चिनियाँ नागरिक ७८८,४९५ रहेका छन् ।
दोस्रो नम्वरमा भियतनामी ५२०,१५४, दक्षिण कोरियाली ४११,७४८, फिलिपिनी नागरिक ३०९,९४३, ब्राजिलका नागरिक २१०,५६३ र छैटौं नम्वरमा नेपालीहरुको संख्या १५६,३३३ रहेको छ ।
नेपालपछि ईण्डोनेसियालीहरुको संख्या १२२,०२८ रहेको छ । जापानमा ईण्डियन नागरिकको संख्या भने केवल ४६,२६२ रहेको छ । यो संख्या अघिल्लो बर्षको तुलनामा केवल ३ हजारले बृद्धि हो ।
जापानमा कुन भिषामा कति नेपाली
मध्यम तथा लामो अवधि बस्ने भिषा पाएकाहरु 中長期在留者 १५६,३३०
स्थायी बासिन्दा 永住者 ६७,१६
प्राविधिक तालिम 技能実習 १,६५२
प्रविधि, मानविकी ज्ञान, अन्तर्राष्ट्रिय व्यापार 技術人・文知識・国際業務 ३१,०४३
बैदेशिक अध्ययन, विद्यार्थी 留学 ४५,०९५
पारिवारसँग बस्ने, डिपेण्डेन्ट भिषा 家族滞在 ४५,९८७
स्थायि बासिन्दा 定住者 १,२१४
विशिष्ट कौशल, स्पेशिफिक स्किल 特定技能 ३,४२८
जापानी नागरिकसँग विवाह आदि 日本人の 配偶者等 १,२७१
विशिष्ट गतिविधिहरूमा संलग्न 特定活動 १,०८४
अन्य その他 १८,८४०
तथ्यांक अनुसार विशिष्ट कौशल, स्पेशिफिक स्किल कामदारको संख्या अघिल्लो बर्षको तुलनामा ४६.५ प्रतिशतले बृद्धि भएको छ । तर विशिष्ट गतिविधिहरुमा संलग्न भएका नेपालीहरुको संख्या भने गत बर्षको तुलनामा ५०.५ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।
प्रतिशतका आधारमा जापानमा बसोबासरत बिदेशी नागरिकहरुको जनसंख्यामा नेपालीहरुको संख्या ४.८ प्रतिशत रहेको छ ।