टोकियो, जापान ।
जापानमा बसोबास गर्ने विदेशी बासिन्दाको संख्या अहिलेसम्मकै धेरै पुग्ने क्रममा ३२ लाख नाघेको छ ।
अध्यागमन सेवा एजेन्सीका अनुसार जुनको अन्त्यसम्ममा देशमा करिब ३,२२४,००० विदेशी बासिन्दा रहेका छन् । यो वर्षको पहिलो ६ महिनामा मात्र बिदेशी बासिन्दाको संख्या १ लाख ४९ हजारले बढेको तथ्यांकमा उल्लेख छ ।
श्रेणी अनुसार जापानमा सबैभन्दा धेरै बिदेशी प्राविधिक इन्टर्न कामदारको रुपमा रहेका छन् । जसमा ३ लाख ५८ हजार रहेका छन् । यो संख्या ६ महिना अधिको तुलनामा ३३ हजारले बढी हो ।
यसैगरि निर्दिष्ट दक्ष कामदारहरुको संख्या ६ महिनाको अवधिमा ४२,००० ले बढेर १,७३,००० पुगेको छ ।
यसैबीच, जुलाई १ सम्म जापानमा झण्डै ७९,००० विदेशी नागरिकले भिसा अवधिभन्दा बढी बसेको पाइएको छ । यो संख्या ६ महिना अघिको तुलनामा ८,६०० ले बढेको अधिकारीहरुले बताएका छन् ।
अध्यागमन अधिकारीहरू महामारीसँग सम्बन्धित सीमा नियन्त्रण उपायहरू सहज भएपछि विदेशीहरूको संख्या बढ्दै गएको बताउँछन् ।
अधिकारीहरुका अनुसार ओभरस्टेहरू धेरै बढेकाले उनीहरूले उपयुक्त अध्यागमन नियन्त्रण उपायहरू लिने योजना बनाएका छन् ।