(Japan) 27 th July | 2026 | Monday | 6:04:50 PM || (Nepal) 2:49:50 PM
 
 

जापानको अध्यागमन नियम परिवर्तन ! युद्धग्रस्त क्षेत्रका विदेशीले अब लामो समय बस्न पाउने

  POSTED ON : Thursday, 28 September, 2023 | Views : 2850

जापानको अध्यागमन नियम परिवर्तन ! युद्धग्रस्त क्षेत्रका विदेशीले अब लामो समय बस्न पाउने


टोकियो, जापान ।

जापानको अध्यागमन एजेन्सीले युद्धग्रस्त युक्रेन जस्ता द्वन्द्व क्षेत्रहरूबाट भागेका विदेशीहरूलाई जापानमा लामो समय बस्न अनुमति दिने भएको छ । जापानले डिसेम्बर १ देखि लागू हुनेगरि अध्यागमन कानूनको संशोधन गरेर भिसासहित दीर्घकालीन आवासीय स्थितिका लागि अनुमति दिने भएको हो ।

नयाँ प्रणाली द्वन्द्व ग्रस्त क्षेत्रका व्यक्तिहरूको लागि आवासको स्वीकृति दिन मद्दत स्वरुप तयार गरिएको प्रणाली हो, जुन शरणार्थी स्वीकृतिको परम्परागत आवश्यकताहरू अनुरूप नभई भिन्न छ ।

१९५१ मा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघिय शरणार्थीलाई परिभाषित गरेको कुनै जाति, धर्म, राष्ट्रियता, एक विशेष सामाजिक समूहको सदस्यताको कारणले सताइने डरको कारण आफ्नो मूल देश फर्कन असक्षम वा अनिच्छुक व्यक्ति, वा राजनीतिक विचारका कारण लखेटिएकाहरुलाई आश्रय दिनुपर्दछ ।

जापान महासन्धिको हस्ताक्षरकर्ता हो, जसले सदस्य राष्ट्रहरूलाई उनीहरूलाई सुरक्षा दिन बाध्य पार्छ, तर युक्रेनबाट विस्थापितहरू र यस्तै विस्थापित व्यक्तिहरूले मापदण्ड पूरा गरेका छैनन् । यद्यपी जापानले उनिहरुलाई विशेष रुपमा आवास अनुमति दिंदै अँएको छ ।
सेनाले सरकार अपदस्त गरेपछि जापानमा नै रहेका म्यानमारका नागरिकहरुलाई पनि जापानले यस्तै परिस्थितिजन्य कारण भएको खण्डमा जापानमा नै रहन छुट दिएको थियो ।

जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार सेप्टेम्बर २० सम्म करिब २०९१ युक्रेनी विस्थापितहरू जापानमा थिए, जसमध्ये १,९३१ जनाले एक वर्षको लागि ूनिर्धारित गतिविधिहरू गर्नेगरि जापानको भिषा लिएका थिए ।

उनीहरुलाई जापान बस्ने अनुमति न्यायमन्त्रीको स्वविवेक र निर्देशनमा दिइएको थियो ।

अब भने रुस, युक्रेन जस्ता देशहरुबाट द्धन्द्धको समयमा ज्यान जोखिमका कारण भागेर जापान आइपुगेका वा आउन प्रयास गर्नेहरुलाई जापानले अवस्था हेरेर जापानमा शरणको लागि अनुमति दिनेछ । यसअघि इराक द्धन्द्ध तथा युक्रेन घटनामा जापानले यस्तै विशेष परिस्थिति जनाएर जापानमा रहने अनुमति दिएपनि अध्यागमन नियममा उल्लेख थिएन ।