(Japan) 27 th July | 2026 | Monday | 6:04:56 PM || (Nepal) 2:49:56 PM
 
 

जापानमा राष्ट्रिय बिदा १६ दिन मात्र, जापानको बिदाबारे जान्नैपर्ने जानकारी

  POSTED ON : Wednesday, 20 September, 2023 | Views : 2930

जापानमा राष्ट्रिय बिदा १६ दिन मात्र, जापानको बिदाबारे जान्नैपर्ने जानकारी


टोकियो, जापान ।

सत्तामा रहेको दल निकटका पूर्व मन्त्री देखि प्रधानमन्त्री वा उच्च ओहदामा पुगेका व्यक्तिको निधनमा होस् वा हरेक समुदायको हरेक चाडपर्वमा बिदा दिएर उक्त समुदायलाई खुशी पार्ने राजनीतिक कु-संस्कारले नेपाल विश्वमै सबैभन्दा धेरै राष्ट्रिय विदा दिने देश बनेको छ ।

आपराधिक घटनामा मारिएपनि राजनीतिक रंग दिएर सहिद घोषणा देखि बिदा दिने परिपाटिले दिक्क बनाएका हामीलाई जापानको राष्ट्रिय विदाको संख्या देखेर अचम्म लाग्न सक्छ । किनभने जापानमा पुरै एक बर्षमा मात्र १६ दिन राष्ट्रिय विदा हुने गर्दछ ।

सन् २०२३ मा मात्र होइन २०२४ मा पनि जापानमा केवल १६ दिन मात्र राष्ट्रिय विदा रहेको छ । यति मात्र नभई ओलम्पिक आयोजनाका कारण विदाको दिन बढ्नसक्ने भएपछि सरकारले बिदालाई सारेर भएपनि सन् २०२२ समेत १६ दिन मात्रै राष्ट्रिय विदा पारेको थियो । अर्थात् जापानमा हरेक बर्ष राष्ट्रिय विदा १६ दिन मात्र हुने गर्दछ ।

जापानको राष्ट्रिय बिदाहरू नयाँ वर्षको दिनदेखि श्रमिकहरुलाई धन्यवाद दिने दिनसम्म गरेर केवल १६ दिन रहेको छ । तर रोचक के भने जापानमा राष्ट्रिय विदाका दिनहरु यहि तारिख भनेर किटान नगरि बारमा आधारित रहेर बनाइएको छ । जसले गर्दा सप्ताहन्तको बिदा अर्थात् शनिवार र आईतबार बिदा हुने हुँदा त्यसको अघिल्लो दिन शुक्रबार वा सोमबार पारेर अधिकाशं राष्ट्रिय विदाहरु तय हुने गर्दछन् । यसले गर्दा कार्यालय कर्मचारीहरुलाई तीन दिनको लामो विदा मिल्दछ ।

जापानमा वर्षभरि १६ वटा राष्ट्रिय बिदा रहँदा निश्चित मितिहरूमा धेरै बिदाहरू शुक्रबार वा सोमबार भनेर तोकिएका हुन्छन् अझ भनौं आइतवारमा परेपनि सोमबार वा शुक्रबार सारेर बिदा दिइने गरिन्छ । जसले गर्दा १६ दिन हुने राष्ट्रिय बिदा कसैगरि कटौती हुँदैन ।

उदाहरणका लागि हेर्ने हो भने सन् २०२४ मा राष्ट्रिय बिदाहरू निम्नानुसार छन् ।


राष्ट्रिय बिदा '२०२४'

- नयाँ वर्षको दिन जनवरी १

- उमेर दिवस अर्थात् कमिगं एज डे जनवरी ८ जनवरीको दोस्रो सोमबार पर्दछ

कमिङ अफ एज डे (成人の日- Seijin no Hi) जापानमा हरेक वर्ष जनवरीको दोस्रो सोमबार हुने सार्वजनिक बिदा हो। परिपक्वताको उमेरमा पुगेका सबैलाई बधाई र प्रोत्साहन गर्न यस दिन विशेष समारोहहरु आयोजित गरिन्छ । यस बर्ष उमेरले २० बर्ष पुगेका युवायुवतीहरु भेला भएर शुभकामना आदनप्रदान गर्ने गर्दछन् । जापानमा २० बर्ष पुगेका युवायुवतीहरुलाई एक किसिमको स्वतन्त्रता मिल्छ ।

- राष्ट्रिय स्थापना दिवस फेब्रुअरी ११ (खासमा फेब्रुअरी १२ मा मनाइन्छ)

राष्ट्रिय स्थापना दिवस ११ फेब्रुवरीमा जापानमा वार्षिक सार्वजनिक बिदा हो, जापानको स्थापनाको उत्सव मनाउन १९६६ मा तय गरिएको एक विशिष्ट क्याबिनेटबाट आदेश जारी गरि लागू गरिएको थियो ।

-सम्राटको जन्मदिन फेब्रुअरी २३

सम्राटको जन्मदिन जापानमा शासक सम्राटको जन्मदिन मनाउने वार्षिक सार्वजनिक बिदा हो । जुन वर्तमानमा २३ फेब्रुअरीमा पर्दछ । किनभने सम्राट नारुहितो १९६० मा त्यस दिन जन्मेका थिए ।


-बसन्त ऋतु आगमन (वर्नल इक्विनोक्स डे) मार्च २०

शोवा दिवस अप्रिल २९ शोवा दिवस सन् १९२६ देखि १९८९ सम्म शासन गर्ने जापानी सम्राट शोवाको जन्मदिनको सम्मानमा मनाईन्छ । शोको अर्थ ूचमकाउनेू वा ूउज्ज्वलू र वाको अर्थ 'शान्ति' हो, जसको अर्थ 'प्रबुद्ध' भन्ने हुन्छ ।


- संविधान स्मृति दिवस मे ३

संविधान स्मृति दिवस जापानको १९४७ को संविधान लागू भएको उत्सव मा मे ३ मा मनाईन्छ । यो गोल्डेन वीक भनेर चिनिने बिदाहरूको संग्रहको एक हिस्सा हो ।

- हरियाली दिवस मे ४

जापानमा सार्वजनिक बिदाको रूपमा हरियाली दिवसको वर्तमान अवलोकन शोवा युगमा प्रत्येक वर्ष अप्रिल २९ मा सम्राट शोवाको जन्मदिनको उत्सवबाट सुरुवात भएको हो ।

- बाल दिवस मे ५ (मे ६ मा मनाइन्छ)

सामुन्द्रिक दिवस जुलाई १५ (जुलाईमा तेस्रो सोमबार) समुद्री दिवस, जसलाई 'ओशन डे' वा 'सी डे' पनि भनिन्छ, जापानमा सामान्यतया जुलाईको तेस्रो सोमबार मनाइने सार्वजनिक बिदा हो । यो बिदाको उद्देश्य समुन्द्रले पुर्याएको सहयोगको लागि धन्यवाद दिन र जापानलाई समुन्द्रि राष्ट्रको रूपमा महासागरको महत्त्वलाई बुझाउनु हो ।


-पर्वत दिवस अगस्त ११ (अगस्ट १२ मा मनाइन्छ)

यो दिवस जापानको लागि नयाँ हो । तर यो अन्तर्राष्ट्रिय पर्वत दिवसको रुपमा नभई सन् २०१६ बाट पर्वतको महत्व बुझाउन मनाउन थालिएको दिवस हो । अगष्टमा नै यो पार्नुको कारण आठौं महिनाको हाचि 八 खान्जी पर्वतको आकारको हुने र ११ दुईवटा रुख जस्तो हुने भएकाले यस दिन पारिएको उल्लेख भएको पाईन्छ । ७० प्रतिशत पर्वत तथा पहाडी टाकुराले भरिएको जापानमा पर्वतहरुबाट प्राप्त प्राकृतिक श्रोतको महत्व बुझाउन यो दिवस मनाउन सुरुवात गरिएको बताईन्छ ।


-बृद्ध सम्मान दिवस सेप्टेम्बर १६ (सेप्टेम्बरको तेस्रो सोमबार)

केइरो नो हि लाई जापानी भाषामा 敬老の日को रूपमा लेखिएको छ, जसले सीधै 'वृद्ध दिवसको सम्मान' भन्ने बुझाउँछ । नामको रूपमा, यो छुट्टी पुरानो पुस्ताले हाम्रो लागि मार्ग प्रशस्त गरेको छ भनेर प्रतिबिम्बित गर्ने दिन हो । हामीले मनाउने बृद्ध दिवसमा बृद्ध व्यक्तिहरू आफन्त वा छिमेकका मानिसहरू, वा सामान्य रूपमा वृद्धहरू मात्र हुन सक्छन् । हामीभन्दा ठूलाहरूप्रति दया देखाउने पनि यो राम्रो समय हो ।

- शरद ऋतु आगमन दिवस सेप्टेम्बर २२ (सेप्टेम्बर २३ मा मनाइन्छ)

जापानमा यो सार्वजनिक बिदा सामान्यतया सेप्टेम्बर २२ वा २३ मा हुन्छ, जापानमा जाडो समयमो सुरुवातको रुपमा यो दिवसलाई लिइन्छ । यो मौसम परिवर्तनलाई चिन्ने मात्र होइन, हाम्रा दिवंगत आमाबुबा, हजुरबुबा र परिवारका अन्य सदस्यहरूलाई सम्मान गर्ने दिन पनि हो ।


- खेल दिवस अक्टोबर १४ (अक्टोबरको दोस्रो सोमबार)

खेलकुद दिवस, पहिले स्वास्थ्य र खेलकुद दिवसको रुपमा मनाईन्थ्यो । हाल जापानमा अक्टोबरको दोस्रो सोमबार वार्षिक रूपमा मनाइने सार्वजनिक बिदाको रुपमा रहेको छ । खेलकुद र सक्रिय जीवनशैलीलाई प्रवर्द्धन गर्न यो विदाको महत्व रहेको छ ।


- संस्कृति दिवस नोभेम्बर ३ (नोभेम्बर ४ मा मनाइन्छ)

संस्कृति, कला र अकाडेमिक प्रयासको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर ३ मा जापानमा संस्कृति दिवस मनाइने सार्वजनिक बिदा हो । उत्सवहरूमा सामान्यतया कला प्रदर्शनीहरू, परेडहरू र प्रतिष्ठित कलाकारहरू र विद्वानहरूका लागि पुरस्कार समारोहहरू आयोजना हुन्छन् ।


- श्रम धन्यवाद दिवस, नोभेम्बर २३

'लेबर थ्यांक्सगिभिङ डे' जापानमा हरेक वर्ष नोभेम्बर २३ मा मनाइने वार्षिक सार्वजनिक बिदा हो, नोभेम्वर २३ शनिवार परे शुक्रबार र आइतवार परेमा उक्त बिदा सोमबारमा सारेर दिइन्छ ।


वर्षको अन्तिम तीन हप्ताका दिनहरू सामान्यतया जापानका कम्पनीहरू र विद्यालयहरूले बिदाको रूपमा लिने गर्छन् । नयाँ बर्षको पहिलो तीन दिन अर्थात् जनवरी ३ सम्म जापानमा मानिसहरुले छुट्टीको रूपमा व्यवहारिक रुपमा बिदा मिलाउने गर्छन् ।

ओगोन शुकान (गोल्डेन वीक 黄金週間) जापानको लामो वसन्त छुट्टी हो । तर यसलाई राष्ट्रिय बिदामा गनिंदैन । गोल्डेन विक हरेक बर्ष अप्रिल २९ तारिखबाट सुरु हुन्छ र यो मे महिनाको सामान्य त ३ देखि ५ तारिखसम्म बिदा पर्दछ ।

यसलाई राष्ट्रिय विदाका रुपमा नभई छुट्टिका रुपमा चित्रित गरिन्छ । जुन अनिवार्य रुपमा राष्ट्रिय बिदा हुन्छ भन्ने छैन । यो जापानमा मनाईने सबैभन्दा लामो बिदाको समय हो । जापानीहरुले गोल्डेन विक बिदाको समयलाई देश भित्र र बिदेश भ्रमण गर्ने प्रमुख समयका रुपमा लिन्छन् ।