(Japan) 27 th July | 2026 | Monday | 6:05:53 PM || (Nepal) 2:50:53 PM
 
 

जापानद्धारा ट्याक्सी, बस र ट्रक चालक 'एसएसडब्लु' भिषामा ल्याउने तयारी

Gokarna Adhikari   POSTED ON : Sunday, 17 September, 2023 | Views : 2864

जापानद्धारा ट्याक्सी, बस र ट्रक चालक 'एसएसडब्लु' भिषामा ल्याउने तयारी


टोकियो, जापान ।

ट्याक्सी, बस र ट्रक चालकको चरम अभावलाई सम्बोधन गर्ने लक्ष्य राख्दै, जापानले यातायात र खाद्यान्न उद्योगहरूमा विदेशी नागरिकहरूलाई आकर्षित गर्न निर्दिष्ट दक्ष कामदारहरूको लागि अवस्थित (SSW/एसएसडब्लु) भिसाको ढाँचा विस्तार गर्ने योजना बनाएको छ ।

दुबै उद्योगहरूले विशेष गरी हाल उपलब्ध चालकहरू बृद्ध हुँदै जाँदा नयाँ कामदारहरू भर्ना गर्न संघर्ष गरिरहेकाले, आगामी वर्षहरूमा जनशक्तिको अवस्था बिग्रने चिन्ता गरिरहँदा नयाँ कदम चाल्न लागेको हो ।

जापानको माइनिचि शिम्बुनले उल्लेख गरे अनुसार सरकारले यस आर्थिक वर्षको अन्त्यसम्ममा २०२४ मार्च सम्म निर्दिष्ट दक्ष नीलो कलर कामदार (BLUE COLOR WORKER) हरूको लागि 'ट्रान्सपोर्ट ड्राइभर' श्रेणी थप्ने योजना बनाइरहेको छ ।

यातायात मन्त्रालयका एक अधिकारीले सरकारले त्यो विकल्पलाई विचार गरिरहेको पुष्टि गर्दै नयाँ श्रेणी कहिले थपिने भन्ने अझै स्पष्ट भने नभइसकेको बताएका छन् ।

ट्याक्सी र बस चालकहरूको लागि एक प्रकारको विशेष ड्राइभर इजाजतपत्र आवश्यक छ, तर परीक्षण जापानी भाषामा मात्र उपलब्ध छ । त्यसैले गैर जापानी व्यक्तिहरुलाई जापानमा गाडी चलाउनको लागि असहजताहरु सामान्यतया उच्च रहने गर्दछ । श्रम अभावको सामना गरिरहेका उद्योगहरूलाई मद्दत गर्ने उपायको रूपमा २०१९ मा निर्दिष्ट दक्ष कामदार कार्यक्रम सुरु गरिएको थियो ।

जनशक्ति अभावका कारण समस्यामा परेको जापान ट्रेकिङ एसोसिएसनले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र सरकारी निकायलाई देशको दक्ष कामदार कार्यक्रममा ड्राइभिङलाई रोजगारीको क्षेत्रका रूपमा थप्न आग्रह गरेको छ ।

जापान हायर ट्याक्सी संघ र निहोन बस संघले पनि विदेशी नागरिकलाई भाडामा लिन सक्ने व्यवस्था मिलाउन दबाब दिइरहेका छन् ।

बस व्यवसायले सामना गरिरहेको गम्भीर चुनौती भनेको चालकको अभाव हो। सञ्चालित बसको संख्या घटेकाले यसको असर देखिन थालेको छ, त्यसैले थप समय पर्खन नसकिने निहोन बस संघले चालु आर्थिक वर्षको व्यापार योजनामा भनेको छ ।

थोरै चालकहरू भएकाले महामारी पछि आन्तरिक र बाह्य पर्यटन पुन: प्राप्तिको कारणले गर्दा उद्योगले चार्टर्ड बसहरूको माग पूरा गर्न नसकेको संघले जनाएको छ ।

'खाद्यान्न उद्योगको लागि २०२४ समस्या' को साथ अर्को वर्षदेखि स्थिति गम्भीर हुने अपेक्षा गरिएको छ, जसमा ट्रक चालकहरूको लागि ओभरटाइम काम अप्रिलदेखि हालको नियममा सुधारपछि एक वर्षको ९६० घण्टामा सीमित हुनेछ । जसले चालक अभावको समस्या थप चुलिनेछ ।

नयाँ नियम लागू भएपछि ड्राइभरहरूले सम्भवतः कम कामहरु सम्हाल्नुपर्नेछ जसले गर्दा डेलिभरी सेवाहरूमा समस्या तथा अवरोधको बारेमा चिन्ता बढाउँदै लगेको छ ।

नोमुरा रिसर्च इन्स्टिच्युटले गरेको अनुमान अनुसार यो समस्यालाई सम्बोधन गर्न कुनै उपाय नअपनाइएको खण्डमा सन् २०३० मा उद्योगले  करिब ३५ प्रतिशत कम कार्गो ढुवानी गर्नुपर्ने अवस्था आउनेछ ।

कम तलब र लामो समय काम गर्नुपर्ने कारण ट्रक कम्पनीहरूले जापानका युवा, नयाँ कामदारहरूलाई आंशिक रूपमा आकर्षित गर्न सकेका छैनन् ।

२०२१ मा, भारी ट्रक चालकहरुले औसत वार्षिक २५ सय ४४ घण्टा काम गर्नुपरेको थियो । जुन जापानमा गरिने सबै कामको औसत भन्दा ४३२ घण्टा लामो हो । जबकि वार्षिक आय केवल ४६ लाख ३० हजार येन थियो । यो सबै उद्योगको औषत भन्दा ५ प्रतिशत कम तलब हो ।

श्रम मन्त्रालयका अनुसार जुलाईमा ट्रक, बस र ट्याक्सी चालकको लागि जागिर आवेदक अनुपात क्रमशः २.१४, २.२९ र ४.१५ प्रतिशत रहेको छ, वा प्रत्येक जागिर खोज्नेको लागि दुई देखि चार रोजगारी विकल्प छन् । जबकी जापानमा सबै प्रकारका कामका लागि केवल १.१५ रहेको छ । यसले अन्य क्षेत्रको तुलनामा चालकहरुको रोजगारी माग उच्च रहेको देखाउँछ ।

हालका चालकको उमेर बढ्दै गएकाले नयाँ युवा चालकको सङ्ख्यामा बृद्धि हुनु अत्यन्तै जरुरी रहेको हुँदा 'लजिस्टिक' उद्योगले आफ्नो सञ्चालन प्रणालीमा पनि सुधार गर्नुपर्ने औंल्याइएको छ ।