(Japan) 1 st August | 2026 | Saturday | 1:06:06 PM || (Nepal) 9:51:06 AM
 
 

अमेरिकाले पनि येन बचाउन हस्तक्षेप गर्न सक्ने अड्कलबाजीले डलरविरुद्ध येन बलियो, नेपाल रेमिट्यान्समा पनि सुधार

  POSTED ON : Saturday, 01 August, 2026 | Views : 208

अमेरिकाले पनि येन बचाउन हस्तक्षेप गर्न सक्ने अड्कलबाजीले डलरविरुद्ध येन बलियो, नेपाल रेमिट्यान्समा पनि सुधार


टोकियो, जापान ।

जापानी येनको विनिमय दरमा पुनः ठूलो उतारचढाव देखिएपछि अमेरिकाले पनि येनलाई बलियो बनाउन विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न सक्ने अड्कलबाजी बढेको छ ।

जापानी अधिकारीहरूले बिहीबार बजारमा हस्तक्षेप गरेपछि डलरको तुलनामा करिब ५ येनले मजबुत हुँदै १५७ येनको माथिल्लो स्तर पुगेको थियो । निजी क्षेत्रका विश्लेषकहरूका अनुसार जापानले गरेको हस्तक्षेपको आकार ६ देखि ९ खर्ब येन बराबर हुन सक्ने अनुमान गरिएको छ ।

शुक्रबार जापान समय अनुसार येन फेरि कमजोर भएर प्रति डलर १६० येन नजिक पुगे पनि साँझसम्म पुनः सुधार हुँदै १५८ येनको मध्य स्तर मा फर्किएको थियो ।

त्यसपछि शुक्रबार राति र शनिबार बिहान विभिन्न समयमा येन खरिदको चाप बढेपछि विनिमय दर १५७ येनको तल्लो स्तर सम्म पुगेको छ । यो करिब साँढे दुई महिनायताकै सबैभन्दा बलियो स्तर हो ।

वाशिङ्टन स्रोतहरूका अनुसार अमेरिकी ट्रेजरी विभागले केही बैंकहरूलाई शुक्रबार स्थानीय समयअनुसार येन खरिदमार्फत बजारमा हस्तक्षेप हुन सक्ने जानकारी दिएको छ । साथै, केही विश्लेषकहरूले अमेरिकी फेडरल रिजर्भले मुद्रा कारोबारकर्तासँग विनिमय दरसम्बन्धी ‘रेट चेक’ गरेको हुन सक्ने बताएका छन् । यस्तो कदमले अमेरिका र जापानबीच समन्वयमा हस्तक्षेप भएको संकेत गर्न सक्ने उनीहरूको भनाइ छ ।

विदेशी विनिमय बजारमा अमेरिकी हस्तक्षेपको सम्भावनाबारे आधिकारिक पुष्टि भने हालसम्म गरिएको छैन । बजार सहभागीहरू आगामी दिनमा अमेरिका र जापानका अधिकारीहरूको थप संकेततर्फ ध्यान दिइरहेका छन् ।

येनमा आएको सुधारसँगै जापानबाट नेपाल रेमिट्यान्स गर्दा हुने बिनिमयमा पनि सुधार आएको छ । हालको बजार बिनिमयदर अनुसार नेपाली १ लाख रुपैयाँको लागि करिव १० मान ५ हजार जापानी येन आवश्यक पर्दछ । बिहिबार यस्तो बिनिमयदर प्रति एक लाख १० मान ७ हजार येन भन्दा माथि पुगेको थियो ।