(Japan) 17 th July | 2026 | Friday | 1:15:51 PM || (Nepal) 10:00:51 AM
 
 

जापानबाट विदेशिले एकै बर्ष १० खर्ब रेमिट्यान्स आफ्नो देश पठाए - भियतनाम पहिलो, नेपाल पनि शिर्ष स्थानमा

  POSTED ON : Friday, 17 July, 2026 | Views : 142

जापानबाट विदेशिले एकै बर्ष १० खर्ब रेमिट्यान्स आफ्नो देश पठाए  - भियतनाम पहिलो, नेपाल पनि शिर्ष स्थानमा


टोकियो, जापान ।

जापानमा कार्यरत विदेशी कामदारको संख्या निरन्तर बढ्दै जाँदा जापानबाट विदेश पठाइने रेमिट्यान्स (विदेशी मुद्रा प्रेषण) पहिलोपटक १ ट्रिलियन येन नाघेको छ । जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०२५ (अप्रिल २०२५-मार्च २०२६) को तथ्यांक अनुसार विदेश पठाइएको कुल रकम १.००४ ट्रिलियन येन पुगेको हो ।

यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ११.५ प्रतिशतले बढी हो । सन् २०१५ मा विदेश पठाइएको रेमिट्यान्स ४६४.८ अर्ब येन मात्रै रहेको थियो। अर्थात्, पछिल्लो १० वर्षमा जापानबाट विदेशिने रेमिट्यान्स दोब्बरभन्दा बढी भएको देखिएको छ ।


येन कमजोर हुँदा बढ्यो रेमिट्यान्स

विशेषज्ञहरूका अनुसार जापानी येनको लगातार अवमूल्यन हुनु रेमिट्यान्स रकम बढ्नुको प्रमुख कारणमध्ये एक हो ।

येन कमजोर हुँदा आफ्नो परिवारलाई उही मूल्य बराबरको रकम पठाउन विदेशी कामदारले पहिलेभन्दा धेरै येन पठाउनुपर्ने अवस्था सिर्जना भएको छ । उदाहरणका लागि, नेपाल, भियतनाम वा अन्य देशमा निश्चित रकम पुर्‍याउन अहिले पहिलेको तुलनामा बढी येन खर्च गर्नुपर्छ ।

यसका साथै अन्तर्राष्ट्रिय बैंक मार्फत हुने मुद्रा सटही (येनलाई विदेशी मुद्रामा परिवर्तन) को मात्रा बढ्दा पनि येनमाथि थप दबाब पर्ने विश्लेषण गरिएको छ।


भियतनाम पहिलो, नेपाल पनि प्रमुख रेमिट्यान्स पठाउने देशमध्ये

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५ मा जापानबाट सबैभन्दा धेरै रेमिट्यान्स भियतनाम पठाइएको छ।

भियतनाम - २८८.८ अर्ब येन

इन्डोनेसिया - ८९.८ अर्ब येन

फिलिपिन्स - ६७.२ अर्ब येन

नेपालको रकम छुट्टै सार्वजनिक नगरिए पनि जापानमा कार्यरत नेपालीहरू पनि नियमित रूपमा परिवारलाई रेमिट्यान्स पठाउने प्रमुख समुदायमध्ये पर्दछन् । तथ्यांगत आधारमा हेर्दा नेपाल चौथो वा पाचौं नम्वरमा रहेको अनुमान गरिएको छ ।


९५ प्रतिशत एसियाली कामदारले परिवारलाई पैसा पठाउँछन्

जापान पेमेन्ट सर्भिस एसोसिएसनले सन् २०२४ मा गरेको सर्वेक्षण अनुसार जापानमा रहेका एसियाली विदेशी कामदारमध्ये करिब ९५ प्रतिशतले आफ्नो परिवारलाई आर्थिक सहयोगका लागि नियमित रूपमा पैसा पठाउने गरेका छन् ।

त्यस्तै १३.५ प्रतिशत विदेशी कामदारले आफ्नै देशको बैंक खातामा रकम जम्मा गर्न वा सामान खरिदका लागि पनि अन्तर्राष्ट्रिय रेमिट्यान्स प्रयोग गर्ने गरेका छन् ।

यो सर्वेक्षणमा इन्डोनेसिया, फिलिपिन्स, भियतनाम, म्यानमार, कम्बोडिया र नेपालका गरी १,२७० जना सहभागी थिए । अधिकांश सहभागी २० देखि ३० वर्ष उमेर समूहका रहेका थिए र उनीहरू टेक्निकल इन्टर्न वा  Specified Skilled Worker (SSW)  भिसामा जापानमा कार्यरत छन् ।


जापानमा विदेशी कामदार २५ लाख नाघे

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ अक्टोबरसम्म जापानमा २५ लाख ७० हजार (२.५७ मिलियन) विदेशी कामदार कार्यरत छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतले बढी हो।


देश अनुसार हेर्दा :

भियतनाम - करिब ६ लाख ६ हजार

चीन - करिब ४ लाख ३२ हजार

फिलिपिन्स - करिब २ लाख ६१ हजार


नेपाल पनि जापानमा तीव्र रूपमा बढिरहेको विदेशी श्रमिक समुदायमध्ये एक हो, विशेषगरी Specified Skilled Worker (SSW), इन्जिनियर, विद्यार्थी तथा टेक्निकल इन्टर्न भिसामा नेपालीहरूको संख्या निरन्तर बढिरहेको छ ।


सन् २०४० सम्म विदेशी जनसंख्या झन्डै ५.९ मिलियन पुग्ने अनुमान

जापान सरकारले आगामी वर्षहरूमा श्रमिक अभाव झन् बढ्ने अनुमान गर्दै सन् २०४० सम्म विदेशी जनसंख्या करिब ५.८६ मिलियन (५८ लाख ६० हजार) पुग्न सक्ने प्रक्षेपण गरेको छ।


तर कमजोर येनले जापानको आकर्षण घटाउँदै

विदेशी कामदारको संख्या बढे पनि कमजोर येनका कारण जापानको रोजगारी बजारको आकर्षण भने केही घट्न थालेको देखिएको छ।

हालै सार्वजनिक माइनाभी ग्लोबलको सर्वेक्षणअनुसार पाँच वर्ष वा सोभन्दा बढी समय जापानमा काम गर्ने इच्छा राख्ने विदेशीको संख्या घटेको छ।

विशेषगरी भियतनामी कामदारमा यो गिरावट उल्लेखनीय देखिएको छ। सर्वेक्षण अनुसार पाँच वर्षभन्दा बढी जापानमा बस्न चाहने भियतनामीको अनुपात ८१.७ प्रतिशतबाट घटेर ६३.३ प्रतिशत मा पुगेको छ।

विश्लेषकहरूका अनुसार येन कमजोर हुनु, आफ्नै देशमा तलब वृद्धि हुनु तथा जीवनयापन खर्च बढ्नु यसको प्रमुख कारण हुन्।


जापानमा रहेका नेपालीका लागि रेमिट्यान्स पठाउने रकम बढ्नुको अर्थ

जापानमा कार्यरत नेपालीहरूले पनि पछिल्लो समय विनिमय दरको उतारचढावको प्रत्यक्ष असर भोगिरहेका छन् । परिवारलाई निश्चित नेपाली रुपैयाँ पठाउन पहिलेभन्दा बढी येन खर्च गर्नुपर्ने अवस्था बनेको छ । यद्यपि जापानमा काम गर्ने धेरै नेपालीले अझै पनि मासिक आम्दानीको महत्वपूर्ण हिस्सा नेपालमा रहेका परिवार, शिक्षा, घर निर्माण तथा अन्य आर्थिक आवश्यकताका लागि पठाइरहेका छन् ।

विदेशी कामदारको संख्या बढ्दै गएसँगै आगामी वर्षहरूमा जापानबाट नेपालसहित विभिन्न देशमा जाने रेमिट्यान्स अझै बढ्ने अपेक्षा गरिएको छ । यस बाहेक जापानमा बिजनेस भिषा लगायत अन्य भिषामा कडाई हुँदा जापान छाडेर जाने व्यक्तिहरुको संख्या बढ्दा उनिहरुको जापानमा रहेको चल अचल सम्पत्ति विक्रि लगायतबाट प्राप्त रकम पठाउने क्रम बढेकाले पनि रेमिट्यान्स रकममा बृद्धि हुने सम्भावना देखिन्छ ।