एजेन्सी, जापान ।
अमेरिकाले जापान, चीन, दक्षिण कोरिया तथा युरोपेली संघ सहित विश्वका दर्जनौँ देशमाथि थप आयात शुल्क (ट्यारिफ) लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले चीन लगायत विभिन्न देशबाट जबर्जस्ती श्रम प्रयोग गरेर उत्पादित वस्तु आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै यस्तो प्रस्ताव अघि सारेको हो।
प्रस्ताव अनुसार जापान, चीन, दक्षिण कोरिया लगायत ४५ देशमाथि थप १२.५ प्रतिशत र युरोपेली संघ, क्यानडा लगायत केही देशमाथि १० प्रतिशत अतिरिक्त शुल्क लगाइनेछ । यद्यपि यो शुल्क कहिलेदेखि लागू हुने भन्ने मिति भने अमेरिकाले सार्वजनिक गरेको छैन ।
अमेरिकी पक्षले जापानले जबर्जस्ती श्रम प्रयोग गरी बनेका वस्तु आयातमा प्रभावकारी प्रतिबन्ध लगाउन नसकेको दाबी गरेको छ । यसले अमेरिकी व्यापारलाई असर गरिरहेको अमेरिकी रिपोर्टमा उल्लेख गरिएको छ ।
डोनाल्ड ट्रम्प प्रशासनले फेब्रुअरीमा सर्वोच्च अदालतबाट केही पारस्परिक ट्यारिफ व्यवस्था खारेज भएपछि अस्थायी रूपमा विश्वभर १० प्रतिशत ‘ग्लोबल ट्यारिफ’ लागू गरेको थियो । उक्त व्यवस्था जुलाई २४ मा समाप्त हुँदैछ । त्यसको स्थायी विकल्पको रूपमा अहिले नयाँ शुल्क योजनाहरू अघि सारिएको बताइएको छ ।
यसअघि पनि ट्रम्प प्रशासनले ब्राजिलमाथि २५ प्रतिशत अतिरिक्त शुल्क घोषणा गरेको थियो । आगामी हप्ताहरूमा भियतनाम सहित अन्य देशबारे पनि थप अनुसन्धान निष्कर्ष सार्वजनिक हुन सक्ने संकेत गरिएको छ ।
नयाँ प्रस्तावमा केही क्षेत्रलाई भने छुट दिइएको छ। ऊर्जा, दुर्लभ खनिज, विमानका पार्टपुर्जा तथा गाईको मासु र कफी जस्ता केही खाद्य वस्तुहरूमा विशेष छुटको व्यवस्था गरिएको छ ।
विश्लेषकहरूका अनुसार अमेरिकाको यो कदमले विश्व व्यापार बजारमा नयाँ तनाव सिर्जना गर्न सक्नेछ। विशेषगरी जापान लगायत एशियाली साझेदार देशहरूमा यसको आर्थिक प्रभाव पर्ने छ ।