(Japan) 23 rd May | 2026 | Saturday | 3:20:26 AM || (Nepal) 12:05:26 AM
 
 


जापानमा बिदेशी पर्यटक आगमन घट्यो

  POSTED ON : Friday, 22 May, 2026 | Views : 184

जापानमा बिदेशी पर्यटक आगमन घट्यो


टोकियो, जापान ।

जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अप्रिल महिनामा घटेको छ । जापान राष्ट्रिय पर्यटन संगठनले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार अप्रिल २०२६ मा जापान आउने विदेशी आगन्तुकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले घटेर ३६ लाख ९२ हजार २०० मा सीमित भएको हो । पछिल्ला तीन महिनायता लगातार बढिरहेको पर्यटक आगमन पहिलो पटक घटेको जनाइएको छ ।


विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी तनाव र हवाई उडान कटौतीका कारण इजरायल सहित खाडी क्षेत्रका आठ देशबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको छ । ती देशबाट जापान आउने पर्यटक २१.४ प्रतिशतले घटेर २२ हजार ३०० पुगेको छ ।


यस्तै, चीनबाट आउने पर्यटकको संख्या पनि निरन्तर ओरालो लागेको छ । अप्रिलमा चिनियाँ पर्यटक ५६.८ प्रतिशतले घटेर ३ लाख ३० हजार ७०० पुगेका छन् । यो लगातार पाँचौँ महिनाको गिरावट हो। चीनबाट आउने पर्यटक घट्नु जापानी पर्यटन उद्योगका लागि ठूलो चिन्ताको विषय बनेको विश्लेषण गरिएको छ ।


युरोपेली देशहरूबाट आउने पर्यटकमा पनि कमी देखिएको छ । यस वर्ष इस्टर पर्व मार्चको अन्त्यतिर परेकाले धेरै युरोपेली पर्यटकहरूले अप्रिलको सट्टा मार्चमै जापान भ्रमण गरेको अनुमान गरिएको छ । बेलायतबाट आउने पर्यटक १३.८ प्रतिशत, जर्मनीबाट १५.२ प्रतिशत तथा इटालीबाट ३४.२ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।


तर फ्रान्सबाट आउने पर्यटकको संख्या भने नयाँ रेकर्ड स्तरमा पुगेको छ । अप्रिल महिनामा मात्रै फ्रान्सबाट ५९ हजार २०० पर्यटक जापान आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३.७ प्रतिशतले बढी हो ।


त्यस्तै, दक्षिण कोरिया, ताइवान र भियतनामबाट जापान आउने पर्यटकको संख्या अप्रिल महिनाका लागि हालसम्मकै उच्च रहेको छ । दक्षिण कोरियाबाट ८ लाख ७८ हजार ६००, ताइवानबाट ६ लाख ४३ हजार ५०० तथा भियतनामबाट ७६ हजार पर्यटक जापान पुगेका छन् ।


देशगत आधारमा दक्षिण कोरिया जापानमा सबैभन्दा धेरै पर्यटक पठाउने मुलुक बनेको छ । त्यसपछि ताइवान दोस्रो र चीन तेस्रो स्थानमा रहेका छन् । संयुक्त राज्य अमेरिकाबाट आउने पर्यटकको संख्या ०.८ प्रतिशतले बढेर ३ लाख ३० हजार पुगेको छ ।


बुधबार आयोजित पत्रकार सम्मेलनमा जापान पर्यटन एजेन्सीका प्रमुख शिगेकी मुराताले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, बढ्दो हवाई भाडा तथा क्षेत्रीय अस्थिरताबीच पनि जापानले सन् २०३० सम्म ६ करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्य कायम राखेको बताए । उनले थप देश र क्षेत्रबाट पर्यटक आकर्षित गर्न रणनीतिक प्रवर्द्धन अभियान सञ्चालन गरिने जानकारी दिए ।