टोकियो, जापान ।
जापान सरकारले ‘बिजनेस म्यानेजर भिसा’ प्राप्त गर्ने मापदण्ड कडा बनाएपछि आवेदन संख्या ९६ प्रतिशतले घटेको छ । जापान अध्यागमन बिभागका अनुसार गत वर्ष अक्टोबरअघि मासिक औसत १,७०० आवेदन पर्ने गरेकोमा नयाँ नियम लागू भएपछि यो संख्या घटेर करिब ७० मा सीमित भएको छ।
यो परिवर्तनले जापानमा रेस्टुरेन्ट, किराना, ट्रेडिङ तथा साना व्यवसाय सञ्चालन गर्दै आएका नेपालीसहित विदेशी व्यवसायीहरूमा ठूलो असर परेको छ । जापान सरकारले भिसा प्रणालीलाई केवल बसोबासको माध्यमका रूपमा दुरुपयोग हुन नदिन नियम कडा बनाएको जनाएको छ।
नयाँ नियमअनुसार अब बिजनेस म्यानेजर भिसाका लागि कम्तीमा ३ करोड येन पूँजी आवश्यक पर्नेछ। यसअघि ५० लाख येन भए पुग्थ्यो। साथै कम्पनीमा कम्तीमा एक जना जापानी नागरिक वा स्थायी बसोबास अधिकार भएको विदेशीलाई पूर्णकालीन कर्मचारीका रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। जापानी भाषा दक्षता पनि अनिवार्यजस्तै बनाइएको छ, जसअन्तर्गत कम्तीमा जेएलपिटि एन २ स्तरको योग्यता मापदण्ड निर्धारण गरिएको छ।
नयाँ मापदण्डले विशेषगरी साना रेस्टुरेन्ट तथा पारिवारिक व्यवसाय सञ्चालन गरिरहेका विदेशी व्यवसायीहरूलाई समस्या परेको छ। टोकियो शोको रिसर्चको हालै सार्वजनिक अध्ययनअनुसार ५ प्रतिशत विदेशी व्यवसायी व्यवसाय बन्द गर्ने तयारीमा छन् भने ४५ प्रतिशतले नयाँ नियमले व्यवसाय सञ्चालनमा असर पार्ने बताएका छन्।
साइतामा प्रान्तमा १८ वर्षदेखि भारतीय रेस्टुरेन्ट सञ्चालन गर्दै आएका मनिष कुमारले भिसा नवीकरण अस्वीकृत भएपछि व्यवसाय बन्द गर्नुपरेको बताएका छन्। “मेरो परिवार जापानमै हुर्किएको छ, बच्चाहरूले जापानी भाषा मात्र बुझ्छन्, तर अब आफ्नै देश फर्कन भनिएको छ,” उनले आफ्नो पिडा सुनाउँदै भनेका छन् ।
यस विषयमा जापानमा रहेका नेपाली व्यवसायीहरू पनि चिन्तित बनेका छन्। विशेषगरी सानो पूँजीमा रेस्टुरेन्ट, फुड डेलिभरी, आयात–निर्यात तथा खुद्रा व्यापार गरिरहेका नेपालीहरूले नयाँ नियम पूरा गर्न कठिन हुने बताएका छन्।
यद्यपि, पुरानो नियमअन्तर्गत भिसा लिएका व्यवसायीलाई नयाँ मापदण्ड पूरा गर्न तीन वर्षको समय दिइएको छ। साथै व्यवसायको वास्तविक योगदान, कर भुक्तानी र रोजगारी सिर्जनाका आधारमा मूल्यांकन गर्नुपर्ने माग गर्दै जापानमा हस्ताक्षर अभियानसमेत सुरु गरिएको छ।
जापानको नयाँ बिजनेस भिसा लिने ठप्प, भएकाहरु भटाभट बन्द वा कम्पनी गाभ्दै
जापान सरकारले ‘बिजनेस म्यानेजर भिसा’ सम्बन्धी नियम कडा बनाएपछि नयाँ भिसा आवेदन लगभग ठप्पजस्तै बनेको छ भने पहिलेदेखि सञ्चालनमा रहेका साना व्यवसायहरू बन्द हुने, आपसमा गाभिने तथा साझेदारीमा जान थालेका छन्। यसको असर जापानमा व्यवसाय गरिरहेका नेपाली समुदायमा पनि प्रत्यक्ष देखिन थालेको छ।
नयाँ नियमपछि विशेषगरी साना रेस्टुरेन्ट, किराना, ट्रेडिङ, फुड डेलिभरी तथा आयात–निर्यात व्यवसाय सञ्चालन गर्दै आएका नेपाली व्यवसायी दबाबमा परेका छन्। धेरैले आवश्यक पूँजी जुटाउन नसकेपछि कम्पनी बन्द गर्ने, अर्को कम्पनीसँग गाभिने वा नाम मात्रको साझेदारी खोज्ने अवस्था आएको छ ।
जापानमा नेपाली समुदायले सञ्चालन गरेका धेरै व्यवसायहरू सानो लगानीमा आधारित छन्। विशेषगरी नेपाली र भारतीय रेस्टुरेन्ट, हलाल फुड पसल, ट्राभल एजेन्सी, डेलिभरीसम्बन्धी सेवा तथा साना ट्रेडिङ कम्पनीहरूमा नयाँ नियमले प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्।
कतिपय नेपाली व्यवसायीले भिसा नवीकरणमा समस्या आउन सक्ने डरले कम्पनीको पूँजी बढाउने प्रयास गरिरहेका छन् भने केहीले जापानी साझेदार खोज्न थालेका छन्। केही व्यवसायीले एउटै कम्पनी अन्तर्गत धेरै व्यवसाय मिलाएर सञ्चालन गर्ने तयारी पनि थालेका छन्।