गाडी चढेर जन्ती जाने र मन्दिरमा बिहे गर्ने हुँदैनथ्यो ।आँगन पोलेर छोरी दिनु/ बुहारी भित्राउनु सौभाग्य मानिन्थ्यो । दहीको ठेकी बोकेर "यति जना जन्ती आउँछन्" भन्ने खबर लिएर भत्खौरे जान्थे ।
अलि पछि आमाले रातो पछ्यौरीले ढाकेर छोरालाई दूध खुवाउँदै भन्थिन् - "आजबाट मेरो दूध छुट्यो, अब ठूलो भयौ । भाइ र माइको ऑसु नलिए ।" आमा रुन्थिन् । छोरो भावुक हुन्थ्यो ।
******
"लौ रागी हो ! जन्ती निस्किने बेला भो ! मङ्गलराग बजाओ ! नरसिंहा बजाओ ।" - आँगनमा बाजा बजे ।
कलश्यौली कन्याहरु अघि लागे । सुपारी चपाउँदै दुलाहा हिँड्यो । भोटो-कन्ननी गरेका दमिनी आमाहरुले आँगनमा बाटो छेके । हलो जोतेर वर्षभरीको अन्न भित्र्याइदिने घर्तिबुबाकी श्रीमतीले तहरोमा बाटो छेकिन् ।
"वरपीपलमा धजा चढाउ । पोखरीमा पैसो चढाऊ ।" प्रकृति पुजिइन् ।
"लौ हाम्रा स्यानालाई नि स्वास्नी चाहिनी भएछ, अस्ति सम्म कट्टु नलाई हिँड्तो , कत्ती चाडै तीन तिघ्रे भैसकेछ, जन्मेसि बढ्न कति बेर………!" - जन्तीमध्येको रसिक बोल्यो ।
"बुहारीका पाउजू बजेको घरमा वास्तुदोष हुँदैन । अब घरमा लच्छिन पस्ने भयो ।" - काशी पढेर फर्केका गुरु बोले ।
वरियात दुलहीका घरमा पुगेपछि माइती पक्षले जन्ती पर्सिन्थे । स्वयम्वर सकेर यज्ञमा लगेपछि जन्तीहरु भात खान जान्थे ।
"लौ ! सिखार चल्नीजति तल्ला गराँ जानोस । पाक्के नखानी फलाहारी यही गराँ बस्नोस् ।"
मासु खानेजति तल्लो गरामा । नखानेहरु खाना पकाएकै गरामा ।
पाटा परेका बारीका कान्लामा गुन्द्री, पिर्का, थर्कटी ओच्छाएको हुन्थ्यो । बाहुनहरुले धोती फेरेर भात पकाएका हुन्थे । मासको दाल । फर्सीको तरकारी । पिँडालु र बोडिको अचार । मासका फुरौला ।
****
जन्तीहरु पङ्क्तिमा बसे ।
दुई जनाले डोकाभरि ल्याएर नेभारो, बडहरका ठूला ठूला पात गाँसेर बनाएको टपरी राखिदिए । बिचबिचमा पानीका लोहोटा राखिए । सुरुमा भात हाल्दै गए । अर्काले दाल हालिदिए । अर्काले तरकारी । अनि अचार ।
"लौ भाइ हो ! बल हालओ !!" लोहोटाको पानी टपरीमा घुमाउँदै बुढाहरु मन्त्र पढ्न थाले - ॐ भूपतये स्वाहा, भुवनपतये स्वाहा, भूतानाम् पतये स्वाहा, चित्राय स्वाहा, चित्रगुप्ताय स्वाहा …… !!
पकापक खान सुरु भयो ।
टपरोभरी सिखारको झोल र भात खान पाउँदा मांसाहारी खुशी । सेल, फलफूल, अर्सा, अनरसा, कसार अचार खान पाउँदा शाकाहारी खुशी ।
खाएपछि ठिटाहरु बाजाको तालमा नाच्न थाले । उता
बुढाहरु गएर बेहुली पक्षका बुढाहरुसँग सिलोक बाच्न थाले -
आठ् बिस् कोस् हनुमानले मुख धरी थर्थर् गराया तसै………
उद्यापन् हरिको नुवारन हुँदा बाजा बजे नौमती ……… !
******
कन्यादान भयो । सिन्दूर हालियो । साँझपख बेहुली अन्माइदिए । बाजा बजे । बेहुली रोइन् । ताम्दानमा बसेर कर्मघर गइन् ।
बाजाले बाटोघाटो गुन्जेको छ । रत्यौलीमा लुठो नाच्दै छ ।
"भाइ त ढुनुमुनु बरै,
कुन बहिनीले लाइच मोहनी !"
"ए मञा ! पोखरा झर,
मन भए धन कति लाउच र....!"
आँगनमा रत्यौली गम्केर धुन्धान छ ।
*******
जमाना फेरियो ।
बाइकमा जन्ती । उत्ताउलो मुन्नी बदनाम हुइ र शिला कि जवानी डान्स्, आधा ढाड देखिने पोइचोली लगाएका तरुनीहरू । तिनै पटाउने दाउका जँड्याहा जन्ती । फेसबूक आइ. डी. माग्दै पट्याउन कोसिस गर्दै गरेका तोरी अल्लारे । क्याटरिङले अजिना मोटो ठोकेर गलाएको खाना । बफे सिस्टम ।
कठै ! अहिलेका बिहे ।