(Japan) 20 th May | 2022 | Friday | 2:48:34 AM || (Nepal) 11:33:34 PM
 
 

जापानमा कोभिड-१९ क्वारेन्टाइन - मेरो अनुभव

  POSTED ON : Monday, 07 March, 2022 | Views : 5054

जापानमा कोभिड-१९ क्वारेन्टाइन - मेरो अनुभव


जापानमा विदेशबाट आउने सबै यात्रुले (तीन वटा खोप लगाइसकेका बाहेकले) तीन दिनसम्म अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नु पर्दछ ।

टोकियोको एयरपोर्टमा जहाज अवतरण गरेपछि अनाउन्समेन्ट हुन्छ – “सबै यात्रुलाई आ-आफ्ना सामान लिदै सामाजिक दूरी कायम राखेर बिस्तारै बाहिर निस्कनका लागि अनुरोध गर्दछौं ।” 

यात्रुहरू बाहिर निस्कदा जहाजको गेटमा लहरै उभिएका क्याबिन एटेन्डेन्टले हँसिलो अनुहारमा Thank you, आरिगातोउ गोजाइमास्, सायोनारा भन्दै बिदाइ गर्छन् । कुना कुनामा टाउको निहुराएर उभिएका कर्मचारीले यति नम्र भएर यात्रुलाई बाटो देखाउँछन् कि लाग्छ हरेक यात्रु यिनका मन्त्री हुन् । 

केहीबेर फराकिला प्यासेजबाट हिडेपछि ठूला हलमा पुगिन्छ । त्यहाँ केही फारम भराइन्छ । स्मार्टफोनमा स्वास्थ्यसम्बन्धी MySOS नामको App पनि डाउनलोड गर्न लगाइन्छ । यी काम सकेर अगाडि बढ्दै जाँदा दुई तीन ठाउँमा थप कागज पत्र लेख्नु पर्दो रहेछ ।

त्यसपछि हाम्रो थुक संकलन गरी त्यसबाट पिसिआर परीक्षण पनि गरिँदो रहेछ । १५-२० मिनेटजति पर्खिएपछि रिजल्ट आयो – नेगेटिभ । अनि एक जना कर्मचारीले डोर्याउँदै इमिग्रेसनमा गेटसम्म पुर्याइन् । इमिग्रेसन चेकबाट निस्किएपछि चेकइन लगेज संकलन गर्ने ठाउँमा गइयो । समान लिने ठाउँमा अर्की कर्मचारी आएर डोर्याउँदै बाहिर लगिन् । बाहिर केही बेर कुरेपछि होटेलका कर्मचारीले बस चढ्ने ठाउँतिर लगे । उनीहरूले नै हाम्रा सुटकेटहरू बसको डिकीमा राखिदिए ।

बस चढेर १५-२० मिनेट जतिमा क्वारेन्टाइनमा बस्ने होटेल आइपुग्यो । होटेलको लबीमा यात्रुलाई दुई-दुई मिटरको दूरीमा राखिएका कुर्सीमा बसाएर होटेल कर्मचारी आफैले केही फारमहरू भरेर हामीलाई होटेल बसाइका नियमहरू सिकाएर हाम्रो कोठाको साँचो कार्ड दिइन् । सामानहरू कोठासम्म होटेलका कर्मचारीले नै पुर्याइदिए ।

खानको लागि जनही एक एक वटा लन्चबक्स पनि दिए । जहाजबाट ओर्लिएर क्वारेन्टाइन र इमिग्रेसनका सबै काम सकेर होटेलको कोठासम्म पुग्नका लागि ४-‍५ घण्टाको समय लाग्दो रहेछ ।

क्वारेन्टाइनमा बस्नका लागि ठिकै साइजको कोठा छ । तीन दिनसम्म चलाउन पुग्ने गरी तौलिया, टुथब्रस, पेस्ट, स्याम्पु तथा साबुनको झोल कोठामा राखिएको छ । तीन दिनसम्म कोठा सफा गर्ने कर्मचारी बाहिरबाट आउँदैनन् ।

आफू पनि कोठाबाट बाहिर निस्कन मिल्दैन । बिहान, दिउँसो र बेलुका तीन छाक खाना लन्चबक्समा अर्थात् बेन्तोमा बिहान ७ बजे, ११ः३० बजे र बेलुका ५ः३० बजे तिर आउँछन् । सेता पोलिथिनका झोलामा खानाका डब्बाहरू कर्मचारीले हरेक कोठाका अगाडि राखिदिन्छन् ।

खाना शाकाहारी, मांसाहारी दुवै प्रकारका हुन्छन् । जापानका लन्चबक्सको खाना तातो हुँदैन तर पौष्टिक तत्त्व तथा क्यालोरी मिलाएर बनाइएको हुन्छ । स्वाद जापानी परिकार कै हुन्छ । चिल्लो, पिरो, मसला हालेको हुँदैन ।

कोठामा तातो पानी तताउने इलेक्ट्रिक भाँडो छ । चिया, कफीका प्याकेट पनि राखिएका छन् । अर्डर गरेमा इन्स्ट्यान्ट मिसो सुपको कप पनि आउँछ, तातो पानी खन्याएर तातो सुप खान सकिन्छ । 

क्वारेन्टाइन अवधिभरि हरेक दिन बिहान आफ्नो तापक्रम नापेर स्वास्थ्यसम्बन्धी रिपोर्टिङ अनलाइनबाटै गर्नु पर्दछ । केन्द्रबाट अटोमेटिक भिडियो कल पनि आउँछ । तीस सेकेण्ड जति लामो आफ्नो अनुहारको (फेसमास्क नलगाएको) भिडियो खिचेर पठाउनु पर्छ । 

तीन दिनको क्वारेन्टाइन अवधि सकिएपछि होटेलमा नै पिसिआर परीक्षण गरिन्छ । नेगेटिभ रिजल्ट आएमा बसमा चढाएर आएको एयरपोर्टको गेटमा लगेर यात्रुलाई छोडिन्छ । त्यसपछि सार्वजनिक यातायात चढेर आ-आफ्नो घर जान सकिन्छ र घरमा थप क्वारेन्टाइनमा बस्नु पर्दैन ।

क्वारेन्टाइनमा बस्ने होटेल तथा खानाको व्यवस्थापन जापान सरकारले गरेको छ । यसका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएकोले यात्रुले एक पैसा पनि खर्च गर्नु पर्दैन ।