(Japan) 20 th May | 2022 | Friday | 2:59:33 AM || (Nepal) 11:44:33 PM
 
 

‘चैते कमरेड’ : निर्मल घिमिरे

  POSTED ON : Thursday, 03 February, 2022 | Views : 944

 ‘चैते कमरेड’ : निर्मल घिमिरे


उमेरले लगभग दुइ-बिसको हाराहारीको हुदो हो 'कमरेड बैकुण्ठ' । माथिल्लो ओठ देखी तल्लो ओठसम्म मुखलाई वरिपरी घेरेर तल्लो च्यापूमा चाही चुस्स छोडेको दार्ही राखेर हिड्थ्यो, जसलाई ऊ ‘लेनिन स्टाइलको फ्रेन्च कट’ भन्दथ्यो ।

एक कलम सधै कमिजको खल्तीमा भिरेर हिड्ने गरेता पनि तेस्रो पटकमा एसएलसी ज.पा. (यानिक जस्ट पास डिभिजन)मा भएर २ बर्से प्रबिणता प्रमाण पत्र तहमा ६ साल सम्म पढ्दा पनि पास हुन नसकेर छोडेको उसको शैक्षिक इतिहास थियो । उसले हाइ स्कूल सिध्याउने बेलामा २ कक्षामा पढ्ने भुराभुरीहरु उसको कलेजका ब्याजी ।

उसका अगाडी सबैले 'ओहो ! अङ्कल त कत्ती माथी सम्म लिङ्क भएको मान्छे, हजुर भएर पो हो हामी यो क्याम्पस पढेको, नत्र त हामी सदरमुकाम तिर नै गइहाल्थ्यौ नि' भनेर फुरुङ्ग पारिदिन्थे । ऊ पनि दार्ही मुसार्दै एकछिन केटाकेटीहरुलाई मार्क्सवादको भजन गाउन लागिहाल्थ्यो । 

प्राय हरेक बिहान सात-आठ बजे तिर चौतारीको चिया पसल तिर निस्कन्थ्यो । चिया पसलमा पुग्नासाथ दाहिने हात दर्हो मुट्ठी कसेर जुरुक्क उठाएर 'अभिवादन है सबैलाई' भन्दथ्यो । अनि सुरु हुन्थ्यो उसको दैनिकी भाषण । चिया पसलमा अनि क्याम्पस क्यान्टिनमा पनि ऊसले यदी त्यस दिन कोही ‘मुर्गा’ भेटिइहाल्यो भने दुइ चार कप दुध चिया र खाजा पनि दोबार्न भ्याउथ्यो भने त्यस्तो अवसर नआएको दिन एक कप कालो चिया उधारोमा पिएर घर तिर लाग्दथ्यो । 

विवाह गरेको थिएन । “किन नगरेको” भनेर सोध्दा “यो तालले बुढी पाल्न सकिने अवस्था छैन अनि आफु जस्तो डुकुलन्ठ्याङ लाई कसले छोरी दिन्छन र भन्ने वास्ताविकतालाई कहिल्यै बताउदैन थियो, बरु उल्टै गर्बका साथ आफ्ना नेताहरुको सिको गरेर बाकी जिवन क्रान्तीमा लगाउन बिहे नगरेको भन्थ्यो । बिगत १३-१४ बर्षमा उसको पृष्ठभुमी हेर्ने हो भने यो उसको चौथो दल थियो । लोकतन्त्र आउनु अगाडी ऊ राप्रपाको युवा सँगठनमा आबद्द थियो, जब शान्ती प्रकृया आयो तब ऊ राम्रो अवसर लिन तत्कालिन माओवादी दलमा आबद्द भयो, अनि त्यसपछी नेपाली काँग्रेसको सरकार भएका बखत ऊ ने.बि. सङ्घ अनि तरुण दलमा आबद्द भयो भने एकिकृत हुनु केहि अघी मात्र तत्कालिन एमाले पार्टीमा टिका लगाएर प्रबेश गरेको उसको इतिहास थियो । गाउ बजारमा जिल्ला तह वा केन्द्र तिरका जुनसुकै दलका नेता आएर ’पार्टी प्रबेश कार्यक्रम‘ राख्न्ना साथ ऊ त्यही पार्टीमा टिका लगाइ सोही पार्टीमा छिर्थ्यो । अहिले पछिल्लो पटक कम्युनिस्ट भएको ऊ केवल तीन साल जती पुग नपुग भएको थियो ।

केहि बोल्नु पर्‍यो भने सुस्तरी बोल्दा पनि सुनिने ठाउमा उच्च गर्जनका साथ अनि शब्दहरु पनि चलन चल्तीको नभएर लेख्दा प्रयोग हुने खालको (औपचारिक शब्दावलीहरु) बढी प्रयोग गरेर बोल्थ्यो । अरु सर्बसाधारण गाउलेहरु भन्दा ऊ अलि बढी कुरा गर्न जान्दथ्यो । किनकि अरु सबै जनाको आ-आफ्नो पेसा थियो भने ऊ चाही केवल त्यही ‘ठुटे राजनिती’ गर्दथ्यो । हरेक बिषय बस्तुमा सतही जनकारी राख्दथ्यो । बोल्ने हरेक अनुच्छेदमा कही न कही कम्युनिजमको भाषा बोल्दथ्यो । प्रसङ्ग अरु तिर भए पनि उसले चाही धेरै जान्ने सुन्ने भइ टोपल्न कुरा गर्दा कहि न कहि सामन्तवाद, अधिनायकबाद, पूजिबाद नोकरशाहीतन्त्र, दक्षिणपन्थ, यथास्थितिवाद, समर्पणवाद, अधिनायकवाद, निरंकुशतन्त्र, संसोधनवाद देखि रुसो र मुसोलिनीको प्रसङ्ग जोड्दथ्यो । अक्टोबर क्रान्ति देखि चीनिया क्रान्ति सम्म, लेण्डुप दोर्जे देखि फिडेल क्यास्ट्रो, चे ग्वाभाराको उत्थान देखी होस्नी मुबारकको पतन सम्मै, सद्दाम हुसैनको शशन देखी भुट्टोको हत्या सम्मका नाम तिथी मिती कण्ठ गरेर बसेको थियो, जुन कुराको भ्यालू ग्रामिण जनताहरुलाई खासै नभएता पनि जहाँ पनि त्यो कण्ठस्थ अनुच्छेद औंला उठाइदै बोल्ड स्वरमा भन्दथ्यो । थाह होस् या नहोस् माथी उद्गगारित हरेक वाद र तन्त्रको व्याख्या गर्न थाल्दथ्यो । सुन्दै नसुनेको नामको बेरोजगार अनि बेकामे युटुब्बेहरुलाई उनले समय समयमा एउटै कुरा दोहोर्याइ-त्यहाँर्याइ अन्तरवार्ता दिन पनि भ्याउथ्यो ।

लेनिनले यो मितीमा यस्तो भनेका थिए देखी स्टालिनले उस्तो, कमरेड माओले फलानो मिती देखी कमरेड 'ल्य्ह्यु प्याङ'ले ढिस्काना सम्मै । कमरेड पुस्पलालले यो मितिमा यो भन्नु भो, देखी कमरेड मदनले जबज पारित गर्नु एक दिन अगाडीको मितीमा त्यो भन्नु भो जस्ता मितीहरु कण्ठ गरेर गाउलेहरुलाई सुनाउथ्यो अनि गाउलेहरु भन्दा आफु अत्यन्तै अब्बल रहेको ठान्दथ्यो । अरुलाई खासै मतलब नहुने कुरा उसले चाही मान्छे हरुलाई गफ दिन कै लागी याद गरेर राख्थ्यो अनि मौका मिल्ना साथ अरु भन्दा धेरै अब्बल देखिनलाई ब्यक्त गरी हाल्थ्यो जस्तै 'लु भन त गाउले हो ! अमेरिकाको संविधानमा कती ओटा धाराहरु छन्' भन्ने जस्ता अरुलाई जानकारी नभएका कुराहरु सोध्दथ्यो, अनि गाउलेहरुले भन्न नसके पछी कत्ती न बाघै मारेर आए जसरी जुङ्गामा ताउ लाउदै बहुतै ठालु टोपलिएर आफैले बताइदिन्थ्यो । लाग्छ ऊ सबै भन्दा कडा कम्युनिस्ट हो । उ जति शुद्ध क्रान्तिकारी अरु कोहि छैन जस्ता रवाफ देखाउनमै माहिर ठान्दथ्यो । अनि हरेक दिन 'अव भोली नया कुरा के गर्ने होला' भनेर बिभिन्न न्युज पोर्टलहरु प्राय सबै अपडेट हुन्थ्यो । 

पत्रीकाको हेडिङ चाही प्राय सबै पढ्न भ्याउथ्यो त्यो पनि किनेर होईन, पसल मै गएर । स्टीच नै लगाएको छ भने पनि कोट्याइ कोट्याइ हेडिङ चाही कण्ठै गर्न भ्याउथ्यो । आफ्नो पार्टीसँग सम्बधि खबर फेसबूक तिर देख्ना साथ सेयर गर्न भ्याउथ्यो भने बिपक्षीहरुको खबरलाई नकारात्मक कमेण्ट गर्ने काम उसको दैनिकी नै थियो । 

सदरमुकाम तिर जादा होस या कहिले काही प्रदेश मुकाम वा काठमाण्डौ तिर पुग्दा आफ्ना आस्था अनुसारको दलको नेतालाई सौभाज्ञवस एक मिनेट मात्र पनि भेट्न पायो भने उसको काम नै फोटो खिच्ने हुन्थ्यो र त्यो फोटोलाई तुरन्तै सामाजिक सन्जालमा “समसामयिक राजनैतिक बिषयमा छलफल पश्चात“ भन्ने यस्तै यस्तै क्याप्सन लेखी पोस्ट गरीहाल्थ्यो । “फलानो नेताले मलाई बोलाएका हुनाले गए अनि जहाँ यो यो बिषयमा छलफल भयो” भनेर गाउघर तिर पुगी गोडा चारेक हप्ता त्यही कुरा बढाइ चडाइ भन्न मै ब्यस्त हुन्थ्यो । कुनै सभा सम्मेलन ताका पुग्दा होस या बाटोमा हिड्दा हिड्दै बेला नै किन नहोस उसको काम नै ठुला नेताको नजिकै पुगेर फोटो खिच्ने हुन्थ्यो । ऊ सँग प्राय सबै नेताजीसँग टास्सिएर बसेको केहि न केहि फोटो मोबाइलमा सेभ थियो जुन उसलाई गाउ ठाउमा गफ दिनलाई भरपर्दो प्रमाण हुने गर्थ्यो । आफ्नो मोबाइलको वालपेपरमा सबैभन्दा ठुला नेतासँग भेटेको फोटो राखेको हुन्थ्यो । 

गफ लाउनु पर्दा सांसद मन्त्री भन्दा तल्लो स्तरकाहरुको गर्दैन थियो भने निजामती पट्टी उपसचिव भन्दा तल्लो दर्जा अनि प्रहरी प्रसासन तिर डि.एस.पी. अनि फौज तर्फ कर्णेल भन्दा तल्लो दर्जाको कुरै गर्दैन थियो । 

तर माथिल्लो तहका नेताहरुले उसको नाम लिदा सायद कसैले पनि चिन्दैनन थिए । नेताहरुलाई त्यस्ता मान्छेहरु प्रतीदिन कती आउछन जान्छन वास्ता नहुनु स्वभाविक नै थियो । 

अधिकांस नेताहरुको जन्ममिती उसको डायरीमा नोट गरिएको थियो अनि उनिहरुका जन्म मोतीमा आफुले कयौ साल अघी आफु समेत भएर खिचेका फोटो सामाजिक सन्जालमा मिठा-मिठा क्याप्सन सहित पोस्ट्याइ गर्ने गर्थ्यो अनि सोलाई भए भरका सबै लाई ट्याग गर्ने गर्थ्यो । नेता ज्यु हरुले ब्यक्त गरेका समान्य भन्दा सामान्य अभिब्यक्तीलाई समेत उसले सेयर मात्र होइन भए भरका सबैलाई ट्याग गर्ने काम गरी उसको नेताहरु सँग नजिक हुने अर्को हत्कण्डा अपनाउथ्यो । मान्छेहरुका अगाडी पुग्दा अफ भएको मोबाइलबाट आउदै नआएको फोन समेत उठाएको जसरी अत्यन्तै ठुला मान्छेहरुसँग धेरै ठुला कुरा गरेको जस्तै गरी एकातर्फीको आवाज मात्र सबैले सुन्ने गरी बोल्थ्यो र ठालु बनि टोपल्थ्यो । 

उधारो खाएको नतिर्दा अनि प्राय जहाँपनि तुच्छ बोली बोल्ने कारणले यदाकदा भाग्न नभ्याएको बखत कुटाइ पनि खाने गरेको कारण टाउका अनि घुडामा दाग अनि टाटाहरु पनि प्रसस्तै देखिन्थ्यो तर कसैले सोध्यो भने “क्रान्तीमा लाग्दा सामन्ती जत्थाहरुले गरेको आफु माथीको जघन्य आक्रमण” भनेर गफ लगाइदिन्थ्यो । जुन खतहरु उसको क्रान्तीको पौरख देखाउदै त्यसैलाई भजाएर दुनो सोझ्याउने बलियो हतियार थियो । अरुका हरेक कुरामा केहि न केहि आफ्नो मत वा कमेण्ट गर्नै पर्ने स्वभाव, अनि कुराको चुरो निस्कर्ष उहि भएता पनि आफ्नो पाराले केहि न केहि भन्नै पर्ने स्वभावले गर्दा उसको अनुपस्थितीमा उसलाई सबै गाउलेहरुले अ.जा.सु. (अती जान्ने सुन्ने) बैकुण्ठे भन्दथे भने जन्मजातै कम्युनिस्ट भएकाहरु भन्दा पनि ऊ टिका लगाएर हिजो पार्टीमा आएको टिके कमरेडले कम्युनिजमको ब्याख्या गरेको सुन्दारदेख्दा गाउलेहरु पनि अचम्ममा परेका हुन्थे । अनि आपसमा कुरा गर्दथे कि, न यसले युद्द गर्‍यो न त कुनै योगदान पार्टीमा, तर आज सबैभन्दा बरिष्ठ कमरेड कहलिएको छ चैते डाका ।” भनेर लोपारीदिन्थे । भने मुखुन्जेल चाही 'केटो धेरै टाठो छ है' भनी टोपल्थे अनि ऊ चाही झनै मख्ख पर्दै गम्कन्थ्यो । सबै गाउलेहरुलाई उसको त्यो ‘तोरिलाहुरे नेतागिरी’ को बारेमा जानकार थिए नै तर पनि सबैले “हो हो कमरेड्” भनेर सुनिदिन्थे र झन फुर्क्याइदिन्थे कि 'हाम्रो गाउमा माथिल्लो तह सम्मै सिधै पहुच भएको यदी कोही छ भने त्यो केवल बैकुण्ठे कमरेड मात्र हो, गर्छ केटो ले' भनेर बुढापाकाहरु झन उकासीदिन्थे ऊ झन हौसिन्थ्यो ।

उता घरमा “काम वरको सिन्को पर सार्ला भन्नु छैन्, खाली बारालिएर डुकुलन्ठ्याङ पाराले हिड्यो । दुइ पैसाको इलम गर्नु छैन । घरमा घास दाउरा सघाए पनि हुन्थ्यो नि । जतिबेला पनि नेता गिरी गर्दै हिड्यो । कसैले टेर पुच्छर लाउनु छैन्, आफैले आफैलाई मै हु भनेर कत्तिके कुकुर झै लखर-लखर खोक्रो भाषाण गर्दै हिड्छस ओइ रागिनासे बजिया, घरको काम चाही के तेरो बुढो बाउले मात्र गर्छन तुलिगाडा । आमा गोठबाट भकारो सोहोर्दै फत्फताउथिन । “ह्या सक्दिन, आज गाउपालिकामा पालिका स्तरिय प्रशिक्षण छ, तिमी बुझ्दिनौ के आमा राजनिती भनेको, लु छिटो छिटो गोबर सोहोरेर खाना पकाइ हाल त, ढिला हुन्छ मलाई फेरी, अहिले मलाई राजनिती गर्नलाई प्रसस्त सहयोग गर्यौ भने नि पछी साम्सदरमन्त्रीकि आमा हुन पाउछौ के बुढिमाउ ।' बैकुण्ठेले केहि आश समेत देखाइ खाना चाडो बनाउन लगाउथ्यो । 'नापिस्' आमा झन आक्रोशित हुँदै गोबरले तत्पतिएको हातले फरिया अलि माथी कस्दै 'कस्तो बेकामे भो भने, सगैका साथीहरुले कत्ती पढेर कोइ खर्दार कोही हल्दार भइसके, कोहीले बिदेश गएर सदरमुकाममा बाटोले जोडिएको घरेडी जोडिसके । हाम्रो यो तोरिलाहुरे डाम्नो चाही घाम कन्ना कन्नामा आउने बेला सम्मै पसारीरन्छ । अनि उठ्ना साथ आखा चुल्हो तिर लगाउछस । हैन ए गधा तलाई साथीभाइको अलिकती पनि इख लाग्दैन ?” धिक्कारिन्थिन आमा । 

ऊ चाही भात खाएर पालिका स्तरिय भेलामा सहभागी भएर फर्की आएको भोलीपल्ट बिहानै उहि पुरानै शैलीमा उसले चोकमा गफ लाउदै फुर्ती लगाइ रहेको ठाउमा डेरीबाट दुध पुर्याएर फर्केका बाले हकार्दै “हैन ओइ रागिनासे बजिया, त अस्ती केहि अगाडी सम्मै सबै भन्दा बड्ता राजावादी ठान्दै हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्थिस्, फेरी केहि पछी बर्गिय क्रान्तीको कुरा गर्दै लालसलाम भन्दै हिडिस अनि केहि बर्ष पछी समाजवादको ब्याख्या गर्दै बि.पि. र गणेशमानको भजन गाउथिस फेरी आजभोली सबै भन्दा शुद्द कम्म्युनिस्ट भएको खोक्दै हिड्छस्, बरु थपक्क गएर भकारो सोहोरेर आमालाई सहयोग गर त जा, कत्ती गर्छस यस्तो ठुटे राजनिती चैते कमरेड“ भनेर हकार्दै थिए, ऊ चाही सुन्दै नसुनेको गरी फुत्त निस्कन्छ ।

...

निर्मल घिमिरे
जापान