(Japan) 24 th August | 2026 | Monday | 3:10:20 PM || (Nepal) 11:55:20 AM
 
 


‘ओखाने मोचीहरुको क्लब’ जस्तो नबनोस हाम्रो एनआरएनए जापान

Nirmal Ghimire   POSTED ON : Thursday, 04 November, 2021 | Views : 5248

‘ओखाने मोचीहरुको क्लब’ जस्तो नबनोस हाम्रो एनआरएनए जापान


‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मुल नारा दिएर स्थापना भएको यस सँगठन नेपाल बाहिर रहेका नेपालीको हितका लागि जन्मिएको सबैजना नेपालीहरु अटाउने एक गैर राजनैतिक, एबम बिशुद्द सामाजिक छाता संगठन हो । ऐतिहाँसिक प्रार्दुभाव कोट्याउनु पर्दा यो बिदेशमा रहेका केहि नेपालीहरुले आज भन्दा झण्डै अठार साल अघि अर्थात सन २००३ को अगस्ट महिनामा बेलायतको राजधानी लण्डनमा एक भेला आयोजना गरी बिभिन्न देशमा छरिएर बसेका नेपाली हरुलाई एकताको सुत्रमा बाध्ने अभिप्रायले एक साझा सँगठन गठन गर्ने निर्णय गरि सोही वर्षको अक्टोबर ११-१३ तारिक काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर उपेन्द्र महतोको संयोजकत्वमा विधिवत् गैरआवासीय नेपाली संघको स्थापना भएको थियो ।

आफ्नो मातृ भुमिको बिकाश र उन्नति, प्रगति हुन सकेन भने नेपाल बाहिरका नेपालीको पनि प्रसिद्धि बढ्न नसक्ने र जन्मभूमिको विकासका लागि हामी परदेशिएका नेपालीहरुको पनि दायित्व हो भन्ने निर्क्यौल निकाली यस संस्थाको जन्म भएको हो ।

एनआरएनएको परिकल्पना रसियामा, अवधारणाको छनोट बेलायतमा, र विधिवत स्थापना आफ्नै मात्रिभुमि नेपालमा भएको हो । समान उदेश्य, समान मन र उस्तै चिन्तनका सानो सन्ख्यामा रहेका प्रबासी नेपालीहरुले स्थापना गरेको यस संस्था हाल छोटो समयमा नै करिब विश्वका ७४  देशमा अभियानका रुपमा फैलिएर विशाल संघ निर्माण भइसकेको छ, भने हालसम्म ८१ देशमा यसको शाखा तथा सन्जाल बिस्तार भैसकेको तत्थ्याङ्क यसको केन्द्रिय कार्यालयबाट पाउन सक्छौ । स्थापना कालदेखि यसलाई बिभिन्न कालखण्डमा बिभिन्न ब्यक्तीहरुले नेतृत्वदायी भूमिका सम्हालि सकेकोमा हाम्रो कर्मभुमि जापानबाट अहिले सम्म दुइजना ब्यक्तित्वहरु (श्री देवमान हिराचन र भवन भट्ट) ले सफलता पुर्वक एक-एक कार्यकालको नेतृत्व सम्हाली सक्नु भएको छ ।

प्रस्तुत विषयबस्तुको शिर्षकलाई शार्थक तुल्याउन यहाँ म एक 'दलिल' प्रस्तुत गरी ब्याख्या गर्न जादैछु । पहाडमा कोदो, मकै जस्ता उत्पादन मात्र फल्ने हुदा हाम्रो हजुरबुबा ओखलढुङ्गा जिल्लाबाट बिकल्प खोज्दै भनौ या धान खेती गरेर सेतो चामलको भात खाने रहरले मधेसको सर्लाही जिल्ला तिर आउनु भएको थियो । त्यहा आएर केहि समय बस्दा त्यहिको वातावरण र हावापानी आफु अनुकुल लाग्यो र त्यो ठाउ मन परेको कारण उहाले त्यहि स्थानमा बसाइ सर्नु भयो । मधेस झरे पछी हजुरबाले सेवा सुबिधा उपभोग गरेको अनि उन्नती प्रगति गरेको छिमेकीका अन्यले देखेको हुदा पहाडबाट अन्य छिमेकीहरु पनि बिस्तारै क्रमिक रुपमा हामी भएको स्थानमा बसाइ सरी आउने क्रम बाक्लिन लाग्यो ।

जसरि एक पछी अर्को परिवार पहाडबाट बसाइ सरी आउने क्रम जारी रह्यो,  बिस्तारै बिस्तारै पहाडी मुलका मानिसहरुको जनसँख्या थप हुँदै गयो । स्थानियहरु सरह आफ्नो हैसियत बनाउन र मर्दा-पर्दा, बिबाह बटुलमा एकताबद्द भइ कार्य सम्पादन गर्न सहज होस भन्नाका खातिर सबैजना भेला भएर ‘ओखलढुङ्गे समाज सर्लाही’ भन्ने एक समुह स्थापना गरे र सोहि समुह मार्फत उहरुले मासिक रुपमा भेला भइ आफ्ना तितामिठा कुराहरु एक अर्कामा आदन प्रदान गर्ने, भलाकुसारी मार्ने, स्लोक भन्ने, हस्यौली-ठट्यौली, रमाइलो गर्ने , भजन कृतन गर्ने, नाचगान गर्ने र अब कसरि अगाडी बढ्ने भनेर छलफल गर्ने काम देखि मासिक केहि बचत गर्ने काम गर्ने गरे । त्यो नेपाल कै दोस्रो समुह थियो अनि बिस्तारै त्यो समुहमा समाहित हुने सङ्ख्या थप हुदै गयो । एकताबद्द अनि आर्थिक रुपमा पनि त्यो समुहका घरधुरीहरु बलिया हुदै गए । 

त्यहाँका स्थानियहरु खासै पढ्ने र पढाउने परिपाटी थिएन सो बखत । दुख बुझि आएका परिवारहरु भएको र अब सो दुखको निराकरण कसरि गर्न सकिन्छ भन्ने सामुहिक छलफल गर्ने परिपाटीको बिकाश गरेका हुनाले उनिहरुले आफ्ना बालबच्चालाई दुख गरेर भए पनि पढाए । ब्यापार ब्यवसाय सानोतिनोबाट सुरुवात गरेर बिस्तार गर्दै लगे । कालान्तरमा त्यहाका रैथाने यादब समुदायका अन्य मानिसहरुको जग्गा-जमिन समेत किनेर बसाइ सरी आएका रैथानेहरु भन्दा अब्बल र झन बढी सक्षम हुदै गए । सन्तानहरुले पढे-लेखेको हुँदा उनिहरु कै बलबुत्तामा गाउमा विद्यालयको स्थापना गरे । सो बिध्यालायमा उनिहरु कै सन्तानहरु मास्टर भए । सरकारी रोजगारीहरुमा उनिहरुले नाम निकाले । बिस्तारै त्यहाँको  प्रशासन चलाए, उनिहरु कोहि सरकारी जागिरे भए, कोहि ब्यापारी ब्यबसायी भए, कोहि राजनितिमा लागे, कोहि सेना प्रहरिमा जागिर खाए भने कोहि सामाजिक काममा लागे । कोहि प्रधानपञ्च अनि गाबिस अध्यक्ष भए, उनिहरु नै सो स्थानको साम्सद हुदै मन्त्री समेत भए । भने कोही कोही चाही रास्ट्र कै बिद्वान बिदुसीहरु भए ।  जसरि हाम्रो परिवारले असजिलो अवस्था खेप्नु पर्यो, त्यो जति धेरै असहज परिस्थिति हाम्रा छिमेकीहरुले भोग्नु परेन त्यो नयाँ ठाउमा । किनकि सो स्थानमा पहिल्यै उनिहरुका चिनेजानेका ब्यक्ति पुगिसकेका थिए र सो नयाँ ठाउमा सिकाउने, बुझाउने, चुनौतिहरुका बारेमा अबगत गराइदिने अनि बिभिन्न मानिस, निकायहरुको बारेमा जानकारी दिलाइदिने काममा उनिहरुलाई सहयोग गर्ने काम आफुहरु भन्दा अघि आउने हाम्रा परिवारले गरेका थिए अरे !

उल्लेखित 'दलिल' यस कारण पनि यहा शिर्शकसँग सम्बन्धित भएको हुँदा उल्लेख गरेको हुँ कि, बर्तमान एनआरएनए जापान भनेको हाम्रो हजुरबाको परिवार हो, भने हामी भर्खरै आएका नब आगन्तुकहरु चाहि उहाँको अन्य छिमेकीहरु जस्तै हौं । जसरी हजुरबा पछी आप्रवासन भएका परिवारहरुले जसरी परिवारले दुःख अनि हण्डर कम खाए, ठिक त्यसै गरि संस्थाको स्थापना गर्ने अग्रजहरुले खेप्नु परेको जती दुःख हामीले पाएका छैनौ । त्यति बेला न त अहिले जस्तो सुचना सम्प्रेशण प्रणाली नै थियो, न त सहयोग गर्ने कोहि नै थिए, नयाँ ठाउँ, नयाँ परिवेस, अफ्ठ्यारा भासा भएको यस परिवेसमा कत्ति कठिनाइको सामाना गर्नु परेको थियो होला, त्यो हामी सहजै अनुमान लगाउन सक्छौं ।  त्यति असहज परिस्थिति अहिलेका पुस्ताले गर्नु परेको छैन । झण्डै लाखको सङ्ख्यामा रहेका नेपाली यहाँ बिशेष गरी बिद्यार्थी, रोजगार, पेशा ब्यबसाय गरी बसोबास गरेका छौं । मासिक तलब भन्दा पनि प्रतीघण्टा तलब पाउने गरी काम गरी खाने बर्ग बढी बसोबास्स गर्ने भएकोले यहाँ फुर्सद मिलाउन प्राय सबैलाई समस्या हुने देश हो जापान । यत्ती हुँदा हुँदै पनि एन आर एन ए जापानले नेपाल र नेपालीहरुको लागी गरेको सेवाभावलाई भने म व्यक्तिगत रुपमा मुक्तकण्ठले प्रशंसा गर्दछु । जसले हामी नयाँ आउने आप्रवासीहरुलाई आफ्नोपन प्रदान गरेको छ । मेरो मान्यतामा त हरेक देशमा भएका राजदुतावास सो राष्ट्रमा बस्ने नेपालीहरुका आफ्नै घर हो भने एनआरएनए चाही 'मावली घर' । हाम्रो दुताबासको सिमित कर्मचारी संयन्त्र स्रोत र साधनको कारण सो निकाय सबै नेपालीहरु बसोबास गरेको सबै स्थानमा पुग्न नसकिरहेको यथार्थता हो । तर एनआरएनए को सन्जाल त देशको सबैजसो कुनाकाप्चा सम्म पुगेको हुन्छ । जहा-जता आप्रबासी नेपाली, त्यहा त्यहा यसको उपस्थिति देखिन्छ । 

यहाँ रहेका नेपाली जो कुनै आपत बिपत वा संकट सास्तीमा रहेका सुचना पाउना साथ त्यस्ता नेपालीको उद्धारका लागि नेपालका सम्बन्धित निकाय र नियोगमा संयन्त्र स्थापना गरी नियमित रुपमा एन आर एन संग सहकार्य गरिरहेको देखिन्छ । संघले आफ्ना राष्ट्रिय समन्वय परिषदमा विभिन्न बिषयगत शाखा संयन्त्रहरू खोलेर, अन्तर्राष्ट्रिय समन्वय परिषद्मा बिषयगत महाशाखाहरूको व्यवस्था गरेर तथा नेपाल स्थित संघको कार्यालयमा समेत बिषयगत अनुगमन शाखा र पर्याप्त संख्यामा कर्मचारी राखेर यसले तजबिजले भ्याए सम्म कार्यसम्पादन गरिरहेकै छ । त्यस्तै गरी आबश्यक बिषयगत कमिटीहरूको र टास्क फोर्सको नियमित बैठक राखेर प्रगतिको अपडेट गरेको हामी देख्न सक्छौ ।

मैले देख्न चाहेको एनआरएनए जापान :

राज्यको आधिकारिक जिम्मेवार निकाय भनेको सो देशमा रहेको राजदुतावास हो । एनआरएनएले गर्ने भनेको समन्वयात्मक काम नै हो । परदेशमा यी दुइ निकायको सम्बन्ध नङ र मासुको जस्तै हुनु पर्दछ । यी दुई निकायमा सुमधुर सम्बन्ध र सकृयता भएको मुलुकमा सो राष्ट्रमा रहेका सबै आप्रवासी नागरिकहरुले धेरै सहजता महसुश गरिरहेका हुन्छन । सबैजनाले आफ्नो मामाघर राम्रो होस्, आफुहरुको दुख पिडा, पिर मर्का, खुशी साट्न आफ्नो मावलीमा मामा माइजू अनि मामा घरका दाजुभाइ दिदीबहिनी होस भन्ने चाहना सबैमा हुनु स्वभाबिक नै हो । यस सङ्गठनलाई अब आउँदा दिनमा एन आर एन ए को यस आन्दोलनलाई मेरो मनमा लागेको डेढ दर्जन सुधारका उपाय मार्फत अझ प्रभावकारी बनाउन सकिन्छकि भन्ने ठानेको छु !

क. बिभिन्न केनमा पुगी सचेतना जगाउने, अपनत्व सृजना गराउने, कृयाकलापहरु सन्चालन गर्ने, सदस्यता बिवरण प्रकृयालाई मौसमी मात्र नभइ सहज र सरल बनाउने, अनलाईन मार्फत सदस्यता फारम भर्न नजान्नेहरुका लागि सहजीकरण गरिदिनु पर्दछ । यो संस्थालाई जापानी भाषामा भनिने ‘ओखाने मोची र टाठा बाठाहरुको मात्र क्लब हो’ भन्ने सर्बसाधारण, मजदुर अनि बिद्यार्थीहरुमा परेको भानलाई चिर्न त्यस्तो होईन, हामी सबै एकै हौं है भनेर एन आर एन शिक्षा मात्र हैन व्यवहारमा समेत काम गरेर देखाउनुपर्ने आवस्यकता हुन्छ । 

ख. प्रत्येक केनमा रहेको एनआरएनएको क्षेत्रीय कार्यालयहरुमा एकजना सम्पर्क ब्यक्ती तोकिदिने, जसको सहज उपलब्धता सो क्षेत्रमा बसोबास गर्ने सबैमा रहोस, एबम सहजै भेट्न र आफ्नो दुख, पिर मर्का पोख्न सकियोस । सम्पर्क ब्यक्तीले आफ्नो कार्यक्षेत्र भित्र भएका, बसाइ सरी आएका बिद्यार्थी, रोजगारी गर्न आएका एबम ब्यवसायी इत्यादी सबै सँग सबन्धित डिपेन्डेण्टहरु लगायत सबैको तथ्याङ्क अद्यावधिक राख्ने । त्यी सम्पर्क ब्यक्तीलाई प्रदान गर्ने तलब या भनौं केही आर्थिक सर्पोट चाही सदस्यहरुबाट नै सदस्यता सुल्कबाट सङ्कलन गर्न सकिन्छ । 

ग. राजदुताबास र सर्वसाधारणहरु बिच सम्बन्ध प्रगाढ बनाउन त्रैमासिक रुपमा अन्तर्कृया कार्यक्रम सन्चालन गर्न सम्पर्क सेतुको रुपमा काम गर्ने । अन्तरकृया मार्फत माथिका बिचार र सवालहरु एबम सर्वसाधारणहरुका गुनासाहरुलाई यथोचित सम्बोधन गर्नको लागी नेपाली दुतावास मार्फत नेपाल सरकार र जापान सरकारको ध्यानाकर्षण गर्ने । 

घ. नेपाली दुताबासबाट उपलब्ध सेवा, सुचना, अवसर र नया-नया जानकारीहरु आफ्ना मातहतका निकायहरु मार्फत नागरिकहरुलाई सु-सुचित गराउने । दुताबासमा नै पुगी बनाउनु पर्ने ब्यबहारिक कागजात र सो को लागी भर्ने अफ्ठ्यारा फारमहरुलाई जनमैत्री बनाउन समन्वयात्मक भूमिका निर्वाह गर्ने । 

ङ. सामुहिक लगानीमा नेपाली भाषाको समाचार च्यानल्, नेपाली पत्रपत्रीका, आधिकारिक फेसबूक पेज्, ट्वीटर, युट्युब च्यानल, नेपाली एफ.एम. रेडियो, नेपाली भाषाको परिभेष सुहाउँदो टेलिभिजन इत्यादी संचालन गर्न गराउन सहजिकरण गरी हाम्रो नेपाली कला संस्कृतिको प्रसार-प्रसार गर्ने । नेपाली कला र परम्परा एबम संस्कृतीको प्रचार-प्रसार गर्न सो झल्किने कृयाकलापहरु सन्चालन गर्ने । जस्तै नेपालका मुख्य-मुख्य पर्यटकिय निकायहरु र राजदुतावाससँगको समन्वयमा नेपालका बिभिन्न पर्यटकिय सम्भाब्य बोकेका धरोहरहरुको प्रसार-प्रसार गर्न दुताबास तथा यहाँका स्थानिय सरकारसँग सम्न्वय गर्ने । बिशेस गरी भगवान गौतम बुद्धको जन्मस्थानको बारेमा जापानी सर्वसाधारणहरुमा रहेको मिथ्या भ्रमलाई हटाउन सहजिकरण गर्ने । 

च. जापान मै कर्मभुमी बनाएर यहीँ पेसा ब्यबसाय गरी लामो समय देखी बसोबास गरी बस्नेहरुका सन्तानहरु नेपाली र अँग्रेजी भाषामा कमजोर हुने हुँदा सो समस्याको न्युनिकरण गर्न लगानीकर्तालाई प्रोत्साहन गर्ने । र सहज शुल्कका लागी समन्वय गर्ने । साथै टोफेल्, आइ.एल.टि.एस, जि.आर.इ, जि.म्याट. जस्ता भाषाका आधिकारिक भाषा कक्षाहरु संचालन गर्न लगानीकर्ता र दक्ष व्यक्ति सहभागीतामा पहल गर्ने । 

छ. यहाँको अध्यागमन बिभाग्, बिमानस्थल, प्रहरी कार्यालय, अस्पतालहरुमा उपलब्ध अंग्रेजी, चिनिया, थाइ, भियतनामी, कोरियन्, श्रीलङ्कन्, पोर्तुगाली लगाएत अन्य बिदेशी राष्ट्रहरुको भाषा जस्तै हाम्रो आफ्नो भाषालाई पनि नेपालीहरुका लागी सम्पर्क भाषाको रुपमा उपलब्ध गराइदिन दुताबास मार्फत जापान सरकारको सरोकारवाला निकायमा 'डेलिगेशन' जाने र सो को कार्यान्वयन नहुन्जेल सम्म फलो अप गरी नै रहने ।

ज.  युरोपका केहि देशहरु एबम जापान कै पनि हालै सम्पन्न भएको अधिवेशनमा देखिएको कचिङ्गललाई एक महत्वपुर्ण सिकाइको रुपमा लिइ ब्यबस्थित गर्न पुर्ववत रुप मै ब्यबस्थापकिय काम ‘कार्य योजना’ बनाएर सबैलाई कार्य बिभाजन गरी सोही अनुसार सम्पन्न गर्ने । 

झ. जापानमा बेसाहारा भएका, अङ्ग-भङग भएका र मृत्युवरण भएका ब्यक्ती र उनिहरुको परिवारलाई नेपाल सम्म पुग्न/पुर्याउन पिडित परिवारको हितको लागी जापानमा रहेका बिभिन्न सामाजिक संस्थाहरुसँग सम्बन्ध प्रगाढ बनाइ राख्ने, दुतावास र जापान सरकार, एबम यहाँका बिभिन्न सामाजिक संस्थाहरुको समन्वयमा सहजिकरण द्रुत गतीमा गर्ने । 

य. ‘प्रवासी नेपालीहरुको नोट चल्ने तर भोट नचल्ने’ प्रबृद्दीलाई हटाउन बिदेशबाट पनि मतदान गर्न पाउनु पर्ने मुद्दाको सम्बोधन गराउन एनआरएनए केन्द्रिय कमिटी मार्फत नेपाल सरकारलाई जोडदार माग राख्ने । 

ट. सङ्गठनमा राजनितीको गन्ध समेत पस्न नदिने । नेपालबाट आउने नेताहरुलाई प्राथमिकता नदिने, ज्यु ज्यु र हजुरी गर्ने र आवश्यक भन्दा बढ्ता महत्व दिदै नदिने । सो कुरालाई आफ्नो ‘कोड अफ कण्डक्ट’ को रुपमा कडाईका साथ लागु गर्ने । 

ठ. प्रवासी नेपालीहरुको नेपाल होस या जापानमा लगानी गर्नका लागी रहेको बिद्यमान कानुनी र प्रकृयागत झण्झटिला बिषयबस्तुहरुको सम्बोधनको लागी दुतावास मार्फत सम्वन्धित सरकारहरुको ध्यानाकर्षण गर्ने र गराउने । साथै अबैधानिक बिप्रेशण रोक्नको लागी सरोकारवालाहरुलाई खबरदारी एबम ध्यानाकर्षण गर्ने गराउने । 

ड. आप्रवासी नेपाली महिलाहरुलाई चाड पर्वको बेलामा आफ्नो माइती देशबाट टाढा रहेको भान हटाउन तथा माइत जान नपाउदा मन कुड्याएर खिन्न मन लिएर बस्नु नपरोस् भन्नका लागी तीजमा चेली बिशेष कार्यक्रम निश्चित शुल्क निर्धारण गरी सबै केनमा आयोजना गर्नका लागी एन आर एन ए ले मुख्य समन्वयात्मक भूमिका निर्वाह गर्ने ।

ढ. नेपालमा मात्र नभइ जापान मै पनि समय समयमा हुने भबितब्यमा सहयोग गर्न सकियोस भन्नका लागी एक सामाजिक 'रिजर्भ फण्ड' स्थापना गर्ने, जसमा सदस्यहरु तथा मनकारी ब्यक्तीहरुबाट दान सङ्कलन गर्ने र आवश्यक पर्नासाथ सहयोग गर्न सकिएको अवस्थामा संस्थाप्रतीको आम मानिसको प्रतिकृया थप सकारात्मक हुन जान्छ । साथै जापानमा स्थापित बिभिन्न सामाजिक संस्थाहरुलाई गोलबद्द गराइ हातेमालो गर्ने ।  

ण. अधिकाशं कुक पेशामा होटलमा आउने कामदारहरुलाई होट रेष्टुरेण्ट मालिकहरुले असुल्दै आएका दश लाख भन्दा माथी रकम र यहाँ आउँदा पाउने अति न्यून तलब पाइरहेको यथार्थता, तर कागजी रोजगार सम्झौतामा चाही जापानी नियमानुसारको तलब तथा सेवा सुविधा दिएको भन्ने बनाउने, जसले गर्दा श्रमिकले पाउने भन्दा बढ्ता रकमको आय कर तिर्नु पर्ने बिवशता, काम गर्ने समय १४ घण्टा भन्दा बढी हुने परिपाटीका साथै हप्तामा केवल आधा वा एकदिन मात्र पाउने बिदा भनेको जापानको श्रम कानुन विपरितको दण्डनिय व्यवहार भएको कारण सो बेथितिलाई हटाई कुक दाजुभाइ हरुको चर्ह्याईरहेको मनलाई शितलता प्रदान गर्न एबम आइन्दा आउने त्यस्ता कामदारहरु पुन प्रताडित हुनु नपरोस भन्नका लागी सो मा कडिकडाउ गर्न दुताबासलाई घच्घच्याउने र सबै होटल मालिक एबम श्रमिकहरुलाई पनि जागरुक बनाउन साथै ठाउ ठाउमा पुगी अन्तर्कृया कार्यक्रम गर्ने, सचेतनामुलक कार्यक्रमहरु श्रव्य दृश्य माध्यम मार्फत संचालन गर्ने । सचेत गराउँदा अटेर गर्ने मालिकहरुलाई कानुनी कारवाहीको लागि कामदारहरुलाई सहयोग गर्ने ।

त. बिद्यार्थी भिषामा आउने बिद्यार्थीहरुलाई नेपालमा रहेका कन्सल्टेस्नीहरुले अनेकन लोभ, लालच, अनि प्रलोभन देखाएर मन परी ढङ्गले असुली रहेको शुल्कलाई नियमन गर्न केन्द्रिय कार्यालयको समन्वयमा नियामक निकायहरुलाई घच्घच्याउने ।

थ. बिशेष गरी शहरी क्षेत्रमा कोठा नपाइने समस्या, पाइएमा पनि लाखौं येन कि मनी तिर्नै पर्ने बाध्यतालाई न्युनिकरण गर्न एबम न्युन आय भएकाहरुका लागी जापान सरकारले ब्यबस्था गरेको दान्ची हाउस (न्युन आय भएका हरुका लागी उपलब्ध घर, कोठा) को बारेमा धेरै नेपालीहरुलाई जानकारी नहुन सक्छ । सो को उपलब्धता गराउन कुन कुन ठाउमा सो सेवा उपलब्ध छ, सो को तथ्यांक तथा जानकारीहरु आफ्नो पेज मार्फत प्रचार प्रसार गर्ने ।

द. बिद्यमान एनआरएनए भित्र एक ‘रोजगार ब्यबस्थापन बिभाग’ गठन गरी सोलाई सकृय परिचालन गर्ने, जसका लागी बिभिन्न हाक्केन खाइस्या (मानव सन्साधन कम्पनि) वा अन्य स्थानहरुमा खुलेको कामको सुचना जापानी भाषामा आउने हुँदा सो जानकारी सबैलाई नपुग्न वा नबुझ्न सक्छन, त्यसका लागी गठित बिभागले नेपाली वा अङ्ग्रेजी भासामा जानकारी रुपाण्तरण गरी सहजिकरण गरिदिने । साथै पढाइ सकिएपछि कामदार भिषामा परिवर्तन गर्न हुने ब्यहोर्नुपर्ने कठिनाइ , झण्झट तथा एजेण्टलाई अनावश्यक रकम बुझाउन बाध्य हुनु परेकोले लाखौ रकमको बिद्यमान अवस्थालाई चिर्न दुतावासको समन्वय तथा बिशेष पहलमा 'जब-फेयर' आयोजना गर्न कन्सल्टेन्सी, कलेज , बिद्यार्थी, रोजगार प्रदायक कम्पनी तथा एनआएएनए बिच अन्तरकृया कार्यक्रम आयोजना गर्न नियामक निकायहरुलाई घच्घच्याउने...

यो सत्य हो कि, केवल एक नेतृत्वको कार्यकाल भरिमा यस सङ्गठनले लिएका सबै भिजन, मिशन अनि गोलहरु पुरा हुन्छन भनेर उच्च महत्वाकांक्षालाई सङ्गालेर मनको लड्डु घिउ सग खानु पनि एक प्रकारको बचपना हुन सक्छ । एकै कार्यकालमा एउटै नेतृत्वबाट यि काम सकिन्न, यद्यपी यो संस्था आफ्ना घोषित लक्ष्यहरू पुरा गर्ने दिशामा छ वा छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । सङ्घको स्थापनापछि संस्थाको चासो, चिन्ता र प्रतिबद्धताहरूलाई प्रतिनिधित्व गर्न संसारभरका बिभिन्न देशहरूमा जसरी राष्ट्रिय समन्वय परिषद् स्थापना गरी यो संस्था सबै गैर-आवासीय नेपालीहरूको साझा संस्थाको रूपमा विकसित भएको छ । हो, त्यही सन्जाल अनि विङहरुलाई परिचालन गरेर यसले आफ्नो उद्देश्य भेट्टाउन पहलकदमी चाल्नु पर्दछ । अत : यो कार्यकालबाट हालको एनआरएनए जापान अरु सबै भन्दा 'रोल मोडल' हुन सक्नु पर्दछ । यो एउटा साझा चौतारीको रुपमा स्थापित संस्थालाई साझा चौतारीको रुपमै प्रयोग गरौं । कुनै पनि संघ सस्था सञ्चालन गर्नको लागि एउटा मेरुदण्ड बनेको हुन्छ, त्यो हो बिधान, जब सम्म हामीले त्यो बिधान भित्र रहेर काम गर्न सक्दैनौं या जान्दैनौं तब सम्म हाम्रो सोंचमा परिवर्तनको बिकास हुँदैन भने चेतना पनि जाग्दैन । हामीले अरुलाई चेतना फैलाउनु पर्ने बेलामा आँफै अल्मली रह्यौं भने कस्तो सन्देश जाला जनमानसमा ? यो कुरा हामीले हृदयङ्गम गर्न सक्नु पर्दछ । अब यसले स्पस्ट भाबी कार्यनीति बनाएर सो लाई पुरा गर्ने जुझारु 'टास्क फोर्स' अनि सोही अनुसार कै 'भोलेण्टियर टिम' निर्माण गरी 'एक्सन प्लान' बनाएर काम गर्न सक्नु पर्दछ त्यसो गरेमा असम्भव भन्ने कुनै पनि कुरा नहोला ।

यस सामाजिक सस्थामा हामी कसैको माग पुरा गर्ने ठाउमा बसेका छैनौं । यो संस्थाप्रती कसैको तिक्तता छ भने आपसी समाझदारी गरेर जाऊं, एक अर्का प्रती स्नेह जगाएर जाऊं, सहानुभुती प्रकट गरौं, रिस राग त्यागौं । कतिपय अवस्थामा समस्या माथि समस्या थप्ने काम भएका छन, त्यस्ता ब्यक्तीहरुको पहिचान गरी सद्बुद्धी दिऊं । हो नेपाली पन, नेपाली मन सदैब उच्च बनाउन तपाईं हामी लाग्न सकेको खण्डमा मात्र हाम्रो पहिचान सुरक्षित र उच्च रहन्छ ।  सबैले हातेमालो गरी बराबर खटेको खण्डमा मात्र एनआरएनएको यो 'मूभमेण्ट'ले सार्थकता पाउन सक्छ जसका लागी सबैको साथ जरुरी छ ।
जय एनआरएनए !

...

निर्मल घिमिरे
यामानसी, जापान