जीवनलाई संयमतापूर्वक जीउनुपर्ने परिप्रेक्षमा विगत शताब्दीमा ओशोको नयाँ चिन्तनले अर्को एक उपाय सुझाएको पाइन्छ अध्यात्त्म संगै जीबन जीउने कला । बुद्धले पाएको शान्तिको सानो झलक हामीले पायौं भने सायद बुद्ध जन्मेको देशमा म जन्मिएको हुँ भन्ने तथ्य सार्थक र सत्य बनाऔं । नत्रजीवन फगत एक दुर्घटना मात्रै हुनेछ भन्ने मुल मर्म ओशोको नयाँ चिन्तन हो ।
मानिस एक सम्भावना हो । त्यो सम्भावनाको पृष्ठभूमिमा उसको विगत छ भने अगाडि उसले आफूलाई कसरी लैजान्छ त्यसको आधारमाबन्ने भविष्य छ । आधुनिक विकासवादको सिद्धान्तलाई आधार मान्दा मानिसको विगत एक कोषीय एमिबाबाट सुरु भई विभिन्न जीवका अनेकन रूपहरूबाट गुज्रिएर रुख विरुवा, पंक्षी, पशु हुँदै विकास भएर आज ऊ यस रूपमा आएको हो ।
पुराणहरूमा उल्लेखित अवतारकावर्णन आधुनिक विकासवादको सिद्धान्तसँग मिल्ने देखिन्छ । पुराणमा हिन्दुका १० अवतारमा पहिलो अवतार मत्स्य, दोस्रो अवतार कुर्म त्यसपछि बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की हुन् । यी अवतारको क्रमलाई हेर्ने हो भने मानिसको विकासको रूपरेखा बुझ्न सकिन्छ । यो विकासको खुड्किलोमा उल्लेख भएका सुरुका अवतार शारीरिक रूपमा मात्र विकसित भएका देखिन्छन् भने पछिका अवतारमा चेतनामा फरक भएको बुझ्न सकिन्छ । बराह 'जनावर', नृसिंह 'आधा मनुष्य आधा सिंह', वामन 'पुड्को मनुष्य', परशुराम 'लडाकु मनुष्य', राम 'अनुशासन प्रिय', नैतिक मनुष्य कृष्ण 'उत्सवपूर्ण, गैरगम्भीर प्रेमपूर्ण मनुष्य', बुद्ध 'शान्त, करुणाशील मुनष्य' ।
मनुष्यको शारीरिक बनावट एकै किसिमको छ । हामी सबै चेतनशील प्राणी हौं । तर हाम्रो बाह्य शरीरभित्र प्रकृति प्रदत्त प्रज्ञालाई गतिमान गराउने र चेतनाको बोधका लागि गतिलो औजारका रूपमा प्रयोग हुनसक्ने अर्को तह छ । यो हाम्रो मन हो । मन सतत् परिवर्तन भइरहने एक अस्थिर अस्तित्व हो । स्वयंमा विश्रान्तिको अभ्यास नभएको मन दुःख निर्माण गर्ने एक कुशल यन्त्र मात्र हो । यो यति गतिमान छ कि यसलाई वर्तमानसँग खासै मतलब हुँदैन ।
हाम्रो मनमा एक मिनेटमा औसत ४८ वटा विचार चल्छन् । २४ घन्टामा करिब ७० हजार विचार दौडिरहेका हुन्छन् । त्यसैले वर्तमान क्षण यसका लागि भविष्यमा कतै पुग्ने एक बिन्दु मात्र हो । धन, वैभव, सम्मान, आनन्द सबै भविष्यमा कतै छन्, अहिले जति भए पनि पुगेकोछैन भन्नु नै यस मनको स्वभाव हो ।
अहिले यसको केही अंश भए पनि यो भन्दा धेरै गुणा भविष्यमा हुनेछ भन्ने यसलाई विश्वास हुन्छ । भविष्यमा चाहिं कहाँ पुग्ने भन्ने उत्तर मन स्वयंसँग नभएका कारणले यसले एक परिस्थितिजन्य मनोवैज्ञानिक उत्तर खोज्छ, त्यसैलाई बारम्बार दोहर्याउँछ, अनि त्यसैमा विश्वास गर्छ र त्यसैलाई सत्य ठान्छ । तर जगत्को आफ्नै नियम र हाम्रो मन आफैँ अराजक भएकाले धेरै परिस्थिति हामीले चाहे अनुसार हुँदैन र विचारको तीव्र भिडले हामी अशान्त, असन्तुष्ट भइरहन्छौं ।
अर्को उदेकलाग्दो कुरा मनोवैज्ञानिकहरू भन्छन् । उनीहरूका अनुसार हाम्रो मनको संस्कारित ठूलो भाग करिब ९० प्रतिशत त दबेर बसेकोछ । यसलाई प्रत्यक्ष रूपले हेर्ने धेरै उपाय छैनन् । यसलाई अचेतन र अवचेतन मन भनिन्छ । आधुनिक मनोविज्ञानका अनुसार बाहिर व्यवहार गर्ने मन त हाम्रो सम्पूर्ण मनको १० प्रतिशत मात्रै हो । यसरी कहिल्यै नरोकिने मनमा चलिरहने अनन्त इच्छा, भय, लोभ, क्रोध, हिंसा जस्ता गहिरा संवेगले बनेको मनलाई बुझ्न दुरुह छ ।
अझ हाम्रा नैसर्गिक आकांक्षाहरू दबेर कुण्ठा बन्छन्, कामनाहरू दबेर अशान्ति बन्छन् । प्रायस् नराम्रो भन्ने थाहा पाउँदा पाउँदै पनि आफूलाई सम्झाउन नसक्नु, संवेगहरूले आफैँलाई हानी गरिसकेपछि मात्रै थाहा पाउनु र बडो कठिनाइले सम्हालिन सक्नु, तिनको कुरूप यथार्थ थाहा पाएर पनि पुनः पुनः ती वृत्तिहरू दोहरिरहनु-यो अचेतनमा तहतह बनेर बसेको कुण्ठाको कारणले हो । त्यसैले बच्चाहरूमा व्यवहार गर्ने ‘चेतन मन’ र संस्कारले बनेको अचेतन मन बीच पर्खाल बनिसकेको हुँदैन्र उनीहरूको आँखामा एक निर्दोषता, निर्मलता हुन्छ । स्वच्छन्द, सधैँ तरोताजा, उत्साहित, विस्मयभावले उनीहरूलाई डोर्याइरहेको हुन्छ ।
मनलाई यस्तो अवस्थ्य स्थितिबाट सहज स्थितिमा फर्काउने तरिकाहरू छन् भन्ने जस्तो साधारण ज्ञान पनि हामीलाई नभएको कारणले तनाव, चिन्ता विषाद बढिरहेको छ । अमेरिकी व्यावसायिक डाक्टर तथा मनोचिकित्सकहरूको सहयोगका लागि सन् २०१३ मा जारी गरिएको मानसिक रोगहरूको वर्गीकरण ‘डाइग्नोस्टिक एन्ड स्टाटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअर्डर’ नामक गाइडबुकमा सामान्य देखि कडा किसिमका करिब ३०० प्रकारका मनोवैज्ञानिक रोगहरूको सूची पाइन्छ । यी मनोवैज्ञानिक रोगहरूमा खानपान, दुर्व्यसन र कुलत, संवेगका उतारचढाव, डिप्रेसन, डर, अनिद्रा, सिजोफ्रेनिया डिमेन्सियादेखि लिएर डाक्टरहरूको सल्लाहमा खानेगरिएका औषधिहरूको असरले निम्त्याएका रोग पनि पर्छन् ।
स्मार्टफोन र अन्य ग्याजेटका नयाँ नयाँ संस्करण किन्न रातभर तँछाडमछाड गर्दै लाइनमा लाग्ने मानिस मनोरोगका नयाँ नयाँ संस्करणले आक्रान्त भई अस्पतालमा पनि दुःखी निराश लाइनमा लाग्न अभिशप्त छ । मानिसको दैनिक क्रियाकलापमा असर गर्ने खतरनाक रोगमध्ये ५० प्रतिशत रोग मानसिक रोग हुन् । महामारीका रूपमा फैलिँदै गएको मानसिक रोग यति साधारण भइसक्यो कि अब मनोचिकित्साको जगतमा ‘एबनर्मल इज द न्यु नर्मल’ भन्न थालिसकिएको छ।
८३ वर्ष बाँचेका र जीवनका करिब ६० वर्ष मानिसको मनबारे गहिरो अध्ययन गरेका मनोविज्ञानका पिता भनेर चिनिने फ्रायड जीवनको उत्तरार्धमा एक अनौठो कुरा बारम्बार भन्ने गर्थे 'मानिसलाई सुखी त बनाउन सकिँदैन तर कम दुःखी बनाउन भने प्रयास गर्न सकिन्छ।'
तर हामी दुःखी किन हुन्छौं ? यसको कारण के हो ? पूर्वीय र पश्चिमी चिन्तनमा दुःख के कारणले हुन्छ भन्ने विषयको व्याख्या फरक-फरक छ । पश्चिमको यो धारणा छ कि दुःखको कारण परिस्थितिमा छ, यदि हामीले परिस्थिति बद्लियौं भने दुःखको अन्त्य हुन्छ । बाहिरको स्थिति यस्तो बनाउन सकियोस् कि जहाँ दुःख नै पैदा नहोस् । बाह्यलाई बद्लियौं भने दुःखको समाप्ति हुनेछ । यही चिन्तनाबाट प्रेरित पश्चिमी गोलार्द्ध विगतका दुई हजार साल यही दिशामा अग्रसर रह्यो र यसमा कुनै सीमासम्म समृद्धि, यन्त्र कौशलता, वैज्ञानिक प्रगतिगर्न सफल पनि भयो । तर यो सफलतासँगसँगै जीवनको अर्थहीनता, नैराश्य, उदासी, विषाद पनि कमायो । र, यो बढ्दो छ। यो परिस्थितिको कल्पना पश्चिमी चिन्तकहरूले सायदै गरेका थिए ।
तर पूर्वीय दृष्टाहरूले दुःख परिस्थितिमा होइन, मनुष्यको चेतनामा नै छ भनेका छन्। अझ एक क्षेत्रीय राजकुमार भई जीवनलाई उद्दामशिखरमा भोगेर विषाद मात्रै देखेका बुद्धले प्रज्ञादृष्टि पाएपछि जीवन दुःख हो भनेका छन् । बुद्धले भनी हाले भनेर भोग अधकल्चै भएका हामीले यो कुरा माने जस्तो गर्नु बेग्लै कुरा हो तर भोगको शिखरमा पुगेर पनि संवेदनशीलतालाई नगुमाई आफैँभित्र नियाल्नु चानचुने कुरा होइन, धेरै ठूलो प्रज्ञा चाहिन्छ। पूर्वीय चिन्तना अनुसार मनुष्यको चेतनालाई रूपान्तरण गर्ने हो भने दुःखबाट छुटकारा हुनसक्छ । अन्यथा बाहिरको परिस्थिति जतिसुकै परिवर्तन गरे पनि दुःख पैदा गर्ने मनुष्यको मनले पुनः पुनस् दुःख पैदा गरिरहन्छ ।
त्यस्तो मानिस सफलताको शिखरमा पुगेर फ्रस्डेड हुन्छ, नाम कमाएर पनि कुलतमा फस्छ, सुविधाले घेरिएर डिप्रेस्ड हुन्छ, धनधान्यको खोलोमाझ भयाक्रान्त, अनिँदो रहन्छ । यस्तो परिस्थितिमा न ऊ व्यक्तिगत निजतामा रमाउन सक्छ, न ऊ एक सुखपूर्ण सामाजिक प्राणी बन्न सक्छ ।
व्यस्त देश र व्यस्त मानिसहरुको लागि ध्यान कसरी उपयोगी हुन सक्छ ?
यही परिप्रेक्षमा विगत शताब्दीका ओशोको नयाँ चिन्तनले अर्को एक उपाय सुझाएको पाइन्छ( त्यो हो नव संन्यासको अवधारणा । समाज मै रहने संन्यासी । यसलाई विगत शताब्दीका ग्रीक उपन्यासकार कजानजाकिसको सकारात्मक र उत्सवपूर्ण पात्र ‘जोर्बा’ र आफूभित्र डुबी शान्ति फैलाउने ‘बुद्ध’को सम्मिश्रित समग्र मनुष्य ‘जोर्बा दि बुद्ध’को दर्शन पनि भनिन्छ । त्यो दर्शन विगतको हाम्रो संन्यासको धारणासँग फरक भएकाले सन्यास शब्दलाई पारम्पारिक अर्थमा बुझ्नेहरूका लागि अनौठो लाग्न सक्छ । समाजमै बसेरआफ्ना दैनिक व्यवहारलाई पनि नछोड्ने तर प्रत्येक दिन एक घन्टा आफूभित्र सहज र सजग विश्रान्तिमा प्रवेश गर्ने, आफ्ना नराम्रा पक्षहरूसँग लडेर समय र शक्ति क्षय नगर्ने बरु आफैँभित्रको शुभ पक्षमा केन्द्रित भई स्वयंको चेतनाको रूपान्तरण गर्ने यो दर्शन हो ।
ओशोको भनाइमा ‘वासनाहरूद्वारा विचलित आत्मा 'चेतना' मन हो भने निर्वासना भएको मन आत्मा हो ।’ अरु चाहियो, अरु चहियो भन्दै बाहिर दौडेको मनले एकदिन रोकिनै पर्छ, कमसे कम पनि मृत्युका क्षणमा । अशान्त मनका लागि यो एक दुर्घटना जस्तै हुन्छ, ४ नम्बर गियरमा तीव्र गतिमा कुदेको गाडी झड्याम्म पर्खालसँग ठोकिएझैँ । तर एक कुशल चालकले गाडीलाई गियर डाउन गर्दै विस्तारै रोक्छ । कुशल चालक हुनु पनि एक कला हो । गाडीको लाइसेन्स लिनलाई हामी महिनौं ट्रेनिङ लिन्छौं एकैचोटिमा सफल नहुन पनि सक्छौं । त्यस्तै मनलाई सकुशल चलाउन हामी ट्रेन्ड हुनैपर्छ । ओशोको एक प्रख्यात भनाइ छ, ‘यदि मन चेतनाको सेवक भयो भने त्यो सुन्दर हुन्छ, तर यदि मन चेतनाको मालिक भयो भने त्यो खतरनाक हुन्छ ।’
सबै चिज छाडेर फर्किने जीवनका अन्तिम क्षणहरूमा हामीलाई सहायता गर्ने त्यही शान्त मन हो । यसमा सबै प्रज्ञापुरुषहरूको एकमतछ। एकपटक बुद्धलाई सोधिएछ, ‘तपाईं बुद्ध कसरी हुनुभयो ?’
बुद्धले यस्तो जवाफ छ-‘जे मेरो थिएन तर म सोच्थेँ मेरो हो। मैले त्यो सोचलाई त्यागिदिएँ। मभित्र अब अकम्प शान्तिको उदय भयो। मबुद्ध भएँ। अब मलाई केहीले विचलित बनाउन सक्दैन।’
शान्ति प्राप्तिको प्रयास एक निरन्तर अभ्यास हो । बिहान बेलुका समय निकालेर स्वयंभित्र विश्रान्तिमा डुब्ने कला सिकौँ । हरेक कामकाबीच पनि एक क्षण ५(१० सेकेन्ड शान्त भएर बस्न सिकौं । फेरि काममा लागौँ । फेरि फुर्सद निकालौं, पुनः शान्तिलाई अवतरण हुन दिऔं । हामीले यसबाट केही गुमाउने छैनौं, तर मृत्युले पनि खोस्न नसक्ने सम्पदा हात पार्नेछौं । दैनिक जीवनमा ज्यादै गुरु गम्भीर बन्नबाट भने आफूलाई बचाऔं । उत्साही बनौं । मुर्दाशान्तिलाई पनि प्रश्रय नदिऔं । तपाईंले कमाएको शान्तिले तपाईंको उपस्थितिलाई गरिमापूर्ण बनाउने छ किनकि त्यही शान्तिको क्षणमा तपाईं आफैँभित्रको बुद्धको नजिक पुग्नुहुन्छ । बुद्धले पाएको शान्तिको सानो झलक हामीले पायौं भने सायद बुद्ध जन्मेको देशमा म जन्मिएको हुँ भन्ने तथ्य सार्थक र सत्य हुनेछ। नत्र जीवन फगत एक दुर्घटना मात्रै हुनेछ।
अहोभाव,
मनमा, शरीरमा, भावनामा भएका बिकारहरुको शुद्धिकरण होस,सबैको स्वास्थ्य राम्रो रहोस यहि मंगलमय शुभकामना सबैलाई ।
...
यशोदा नेपाल 'माँ बोधी यशोदा'
ओशो संन्यासी
हाल जापान