✍️लेखक : अमर देव बाँस्तोला
कुरा यही सेप्टेम्बर १८ को साँझ यस्तै ६ बजेको हुँदो हो । सपनाको झोला काँधमा बोकेका केही थान मान्छेहरू टर्कीज एयरलाइन्सबाट जापानको हानेदा विमानस्थलमा अवतरण भए । चरम विकासको काँधमा विराजमान भएको युगले व्यक्तिगत, अझ भनौँ जन्मजात अधिकारहरू माथि यस्तो प्रतिबन्ध लगाएको थियो कि खुलेर श्वास प्रश्वास गर्न सम्म अनुमति थिएन । भनौँ भने सबका आँखा र कान बाहेक सबै ढाकिएको थियो । युगको गुलाम बनेका मुख मण्डलहरूलाई थुनेर बन्दी बनाइएको थियो । सबैको हात हातमा यो शताब्दीले थमाइदिएको स्मार्टफोनहरू थिए । अर्को हातमा बिना कसुर कारावासमा बस्न जबरजस्ती कबुलियत मञ्जुरीनामा गराइएका केही थान कागजहरू थिए ।
मनमा छुट्टै किसिमको एउटा त्रास थियो । आजकल मान्छेले मान्छेलाई डराउन, धम्क्याउन हतियार बोकेर हिँड्नु पर्दैन । तैपनि यी निहत्था मान्छे-मान्छे बिच आँखामा बेग्लै किसिमको त्रास थियो । यति सम्म युगले फड्को मारेकै रहेछ मनले अड्कल गरेँ । अबको केही क्षणमा छिट्टै हामीलाई बेकसुर, बन्दी गृहमा लिएर जानेछन् भन्ने खालको त्रास सबैको आँखा आँखामा स्पस्ट देखिन्थ्यो ।
सबै हतारमा थिए हातका स्मार्टफोनहरूमा वाइफाईको सिग्नल खोज्न । सायद सधैँ जस्तो हुन्थ्यो भने वाइफाई कनेक्ट गरेर, म्यासेन्जरका म्यासेज र लाइक कमेन्ट गर्न हतार हुन्थ्यौँ । तर अहँ यसपालीको वाइफाई सिग्नलले म्यासेन्जरको इनबक्स र लाइक कमेन्ट बिच दौडिने अनुमति दिएको थिएन । हाम्रो बन्दी गृहका लोकेशनहरू एवं हाम्रा आफ्नै व्यक्तिगत विवरणहरू लगायत हामी माथि जासूस एप्सहरू इन्स्टल गर्न कडा निर्देश गरिएको थियो।
जसो जसो पाइलाहरू अगाडि बढ्दै गए त्यसो त्यसो हाम्रो हातका औँलाहरूले आफ्ना व्यक्तिगत विवरण सहित बन्दी गृहमा जाने डिजिटल एग्रिमेन्ट गर्दै गए । मास्क लगाएर मास्क माथि पुनः फेस सिल्ड लगाएका अनि हातमा सेता पञ्जा लगाएका सेता वर्णका मान्छेहरूले उनिहरूकै भाषामा हातको इशारा सहित अगाडि बढ्न निर्देश गरे । हाम्रो १० जनाको टोली एकसाथ अगाडि बढ्यौँ। तत्पश्चात् रोल क्रम अनुसार हाम्रो कागज पत्रहरू र मोबाइलका मोनिटरिङ्ग एप्सहरू चेक गर्न थालियो । मैले देखिरहेको थिएँ हर मान्छे टाउकोको इशारामा बुझेँ र बुझिनको प्रतिउत्तर दिँदै थिए । सोचेँ युगले यति सजिलै मान्छेलाई रोबर्ट बनाउँदो रहेछ। लाग्थ्यो हामी कसैबाट परिचालित एक यस्तो यन्त्र हौँ, जो मान्छेले इन्स्टल गरिदिएको सिस्टममा परिचालित छौँ ।
क्रमश हाम्रो बन्दी गृह प्रस्थानको यात्रा नजिकिँदै थियो । अगाडि बढिरहेका पाइलाहरूलाई अब कृपया यो लाइन ल्याब्रेटोरी टेस्टको लागि प्रस्थान गर्नुहोस् भन्ने निर्देशसँगै सोही अनुरूप प्रस्थान गरियो । टेबलमाथि सपनाको झोला र नेपाली हुनुको परिचय दर्शाउने पासपोर्ट राखियो अनि स्याम्पल कलेक्शन किट्सहरूमा थुक्न निर्देश गरियो । १२ घण्टाको लगातार हवाईयात्राको थकान र मनमा भएको त्रास र यसैमाथि लगाइएको मास्कले ओठ मुख सुकेर खडेरी लागेको थियो । जिब्रोले मुख भित्र गालाका भित्ता भित्ता घोचेर, निचोरेर स्याम्पल कलेक्शन ट्यूबमा कलेक्ट गरेर बुझाइयो । सोचेँ वाह ! एक्काइसौँ शताब्दीको समृद्धिले मेरो थुक सम्म छोडेन । फेरि सोचेँ यसै न उसै यसको बजार भइदिए हुन्थ्यो नि । कमसेकम हर मुख हुनेहरू आ-आफ्नो कारखानाको मालिक त हुन्थे ।
मनै मनमा ल्याब्रेटोरी टेस्टको रिपोर्ट के आउला भन्ने त्रास त थियो नै । तर मस्तिष्कले अचानक दिवंगत हुनु भएका हजुरबुवा सम्झ्यो । पाखुरीको पाटको दाम्लो बाट्दै टिभी हेर्दै गर्नुभएको हजुरबुवाले खै कस्को हो भाषण सुन्दा सुन्दै “थुइय बज्जिया” भनेर रुस्ट हुनुभएको सम्झ्यो । अनि सोचेँ यदि संसारमा थुक बजार हुनथ्यो भने पनि मोटाउने तिनै बालुवाटारेहरू न रहेछन् । किनभने जति थुके पनि फरक नपर्ने कुर्सीवालाहरूको विशेषता नै छुट्टै रहेछ ।
यत्तिकैमा एनाउन्स गरियो मेरो ल्याब टेस्ट नम्बर बोलाइए पछि काउन्टर तर्फ प्रस्थान गरेँ । रिपोर्ट नेगेटिव आएको रहेछ । उसो त म पोजेटिव मान्छे नेगेटिव रिपोर्ट आउँदा पनि खुशी भएको थिएँ । अनि सोचेँ यदि पोजेटिव रिपोर्ट आएको भए ? यसै यसै हात खुट्टा लुला भएर आयो । मन डरले ओभर स्पिडमा कुद्न थाल्यो । हतार हतार मनको स्पिडलाई ब्रेक लगाएर सोचेँ, कुनै कुनै पोजेटिव कुराहरूले जीवनमा कति नेगेटिव असर पार्दा रहेछन् अनि कुनै कुनै नेगेटिव कुराहरूले पनि जीवनमा जिउने कला सिकाउँदो रहेछ।
करिब करिब डेढ घण्टा पछि हामी दश जनाको ग्रुपमा सबैको नेगेटिव रिपोर्ट आएको थाहा भयो अनि तीन तीन जनाको ग्रुपमा हामीलाई विभाजन गरियो । बाँकी नौ जना मध्ये म मात्र अरू दुई बिदेशी नागरिकको ग्रुपमा परेँ र ३/३ जनाको बिचमा एक एक जनाको दरले चेकिङ स्टाफहरूको कडा निगरानीमा स्काउट गरेर इमिग्रेसन तर्फ लगियो । हरियो रङ्गको पासपोर्टहरूले देशको पहिचान भन्दा देशको निरिहपन र हामी विदेशिनुको बाध्यता प्रस्ट्याइरहेको थियो ।
इमिग्रेसनको काम सकिए पश्चात हल वे को सुनसान बाटो हुँदै ग्राउन्ड फ्लोरमा बस स्ट्यान्ड तर्फ बढ्यौँ । एक प्रहरीले हातको इशाराले बस भए तर्फ सङ्केत गरे पश्चात् हामीलाई बस भित्र बस्न भनियो र बस सम्म स्काउटमा आएका मान्छेहरू देख्दा लाग्यो हामीहरूलाई बाख्रा जस्तै छेकी छेकी हालिँदै छ बस भित्र र पठाइँदैछ बन्दि गृह । करिब एक घण्टा पछि बन्दि गृह पुर्याइयो र आवश्यक चेक जाँच गरेर अठ्ठाइसौँ तलाको रुम नम्बर अठ्ठाइस बाह्रमा लगेर हुलियो ।
बाह्र मिटर स्क्वाएरको कोठा भित्र भित्तामा सोनिको बहत्तर इन्चको प्लाज्मा टि भि झुण्याइएको थियो । एक सय बिस बाइ एक सय नब्बे सेमीको डबल बेड, हट केटल, केही थान चिया कफिका प्याकेटहरू, फेस टावल, बडी टावल, मञ्जन ब्रस सबै चाहिने सामानहरू उपलब्ध थिए । मन मनले बन्दी भएर पनि एक किसिमको खुशी ब्यक्त गर्दै थियो। अठ्ठाइसौँ तलामा बसेर झ्यालको पर्दा खोलेर डिनर बक्स खोल्दै गर्दा आफूलाई राजा भएको फिल गरेँ । सोचेँ वाह सरकार होस् त यस्तो बन्दीलाई क्या मेजबान खुलाइरहेछ ।
हरेक दिनको एउटै टाइम टेबल थियो । ब्रेकफास्ट, लन्च डिनरको। बाह्र मिटर स्क्वाएरको रुमको झ्यालबाट तल हेर्नु आकाश हेर्नु, घामका किरणहरू फकाइ फकाइ कोठामा हुलेर ताप्नु बस, यो भन्दा दोस्रो काम नै पो के थियो र । हिजो आफूलाई राजा फिल गरेको मन चौबिस २४ घण्टा नहुँदै घुटन हुन थाल्यो । दिन बित्दै गर्दा सुरुमा भि आइ पी लाग्ने कोठा र यहाँको सुविधा प्रति वितृष्णा जाग्न थाल्यो । आफ्नो साइज भन्दा ठूलो टि भि हेर्दा हर आकृतिहरू भूत जस्तै लाग्न थाले । अठ्ठाइसौँ तलाको उचाईमा विराजमान मनले ग्राउन्ड फ्लोरको धरातल सम्झि रहेको थियो ।
सेता चिसा मान्छेहरू हातमा पञ्जा लगाएर रुमको ढोकाको ह्यान्डलमा ब्रेकफास्ट लन्च, डिनरका बक्स झुण्याएर जान्थे । मास्क लगाएर चुपचाप टाउको मात्र निकालेर खानाको प्लास्टिक तानेर टेबुलमा राखेर खान खोज्दा चिसोले खानै सकिँदैन थियो । यति बेला महसुस गर्थेँ कि यस्तो वल्डकै हट सहरका मान्छेहरूले कसरी यस्तो चिसो खाना खालान् ?
सोचेँ सायद देश समृद्ध हुन मान्छे चिसो हुनु पर्छ । खाना चिसै खानु पर्छ अनि चुपचाप जे भन्यो त्यही, जे गरायो त्यही, “उही लगे रहो मुन्ना भाइ” भने जस्तो हाम्रो ठीक उल्टो छ तातो खाना खान्छौँ ।अनि समृद्धिको सडक तताइ रहन्छौँ । चिसो सहर तताइ रहन्छौँ । कहिले टायर बालेर कहिले नारी अस्मिता जलाएर ।
तर जे भए पनि यस बिच आमाको हातको खाना, प्यारीको आद्रता र परिवारको आफ्नो पन बहुत मिस गरियो । मैले चार पर्खाल भित्रको जीवनमा धेरै थोक भएर सोचेँ । महसुस गरेँ कहिले बाख्रा भएर, पिँजडाको चरा भएर, दाम्लोमा बाँधिएको बस्तु भएर । अनि धेरै पटक उडाएँ मनलाई खुला उन्मुक्तिको आकाशमा । पंख काटेर पिँजडामा बन्द गरिएको पंक्षीको उड्ने रहरको मापन गरेँ । फेरि सोचेँ मान्छेको विज्ञानले मान्छेलाई नै यसरी बन्दी बनाएर, जनावर बनाउँदो रहेछ ।
जेन तेन यो सकसको जिन्दगीबाट पार पाएको छैटौँ दिन थियो । बन्दि गृहबाट दोस्रो बन्दी गृहमा सिफ्ट हुने दिन । दिनको करिब साढे दुई बजे तिर सुटकेस लिएर बन्दी गृहको लिफ्ट हुँदै तल ग्राउन्ड फ्लोरमा झरियो । अक्सर मान्छे तल झर्न रुचाउँदैनन् तर यसपाली पहिलो पटक झर्दा पनि बेहद खुशी लागेको थियो । यसरी “समयले झर्नुको महत्व सिकाउँदो रहेछ। किनभने सबै झर्नेहरू गिरेका नहुँदा रहेछन् ।” लबि हुँदै सिधै बस भित्र बस्ने निर्देश दिइयो अनि करिब एक घण्टाको ड्राइव पश्चात पुनः हानेदा विमानस्थलको बस स्ट्यान्डमा हामीलाई झरालियो ।
अब पालो थियो दोस्रो बन्दी गृह तर्फ प्रस्थान गर्ने, यसरी बन्दी गृह तर्फ प्रस्थान गर्दा पनि यसपाली मनमा एक किसिमको छुट्टै खुशी थियो । किनभने यसपालीको बन्दी गृह थियो आफ्नै घर । अबको आठ दिन आफ्नै घरमा बन्दी हुनु पर्ने थियो । यसपछि आ-आफ्नो घर तर्फ लागियो एक प्राइवेट गाडीमा । म अनि दुई जना साथि मेरो घरमा बन्दी हुने र अरू आ-आफ्नो घरमा बन्दी हुने सर्त थियो । घर पुग्दा घर घर जस्तो लागेन । घर बिरानो भयो या आफू बिरानो भएँ पत्तै भएन ।
छ दिन सम्म चिसो खानाले सेलाएका हामी तातिन हतार थियौँ तर बिडम्बना यो थियो कि घरमा ग्यास काटिएको थियो । सेता चामलका दानाहरूले कालोमोसो दलेर बसेका थिए । बत्ती काटेर फ्रिज भित्रका सामान कुहिएर फ्रिजबाट दुर्गन्ध आइरहेको थियो । यस्तै यस्तै थियो आधा वर्ष पछि घरभित्र छिर्ने बेलाको हालत ।
आफन्त साथीहरूलाई सम्पर्क गरियो, खानाको सरदम मगाएर घर बाहिर ढोकामा ल्याउदिन अनुरोध गरियो । अनि घरमै बिताइयो आठ दिनको बसाई । आठौँ दिन पश्चात आ-आफ्नो घरबाट दशै जना बन्दीहरू आज आजाद भएका छन् । मुखमा कोर्को लगाउने बाध्यता त यथावत नै छ नै तर पनि खुलेर खुला जगतमा बाहिरिनुको आनन्द छुट्टै हुँदो रहेछ । यसरी भित्रिनु भन्दा बाहिरिनुको मजा पनि समयले सिकाउँदो रहेछ ।
समयले यसरी मान्छेलाई बन्दी बनाउँदो रहेछ र आजाद पनि । तर मान्छेले पिँजडामा बन्द गरेका पंक्षीहरूको जीवनमा कहिल्यै आजादीका दिनहरू आएनन् । हामीले आजादीको आकाशमा उड्न पाए जस्तै ती पंक्षीहरूले कहिल्यै उड्न पाएनन् । न त सदियौँ देखि बालुवाटार र सिँहदरबारको पिँजडा भित्र कैद गरिएको मेरो देश नै आजाद भयो । आशा छ मेरो देशले छिट्टै आजादीको आकाशमा उड्न पाओस् । देश् बन्दी भएपछि जनता पनि अघोषित बन्दी हुनु रहेछ ।
नोट:- बन्दी गृह = क्वारेन्टाइन, यस्तै पीडा भोगेर आएका कैयौँ नेपाली साथीहरू छौँ र अझै पनि कति हुनु हुन्छ । सम्बन्धित देशको नियम कानुन अनुरूप चल्नु होला सानो गल्तीले ठूलो दुर्घटना एवं समस्या निम्त्याउन सक्छ।