(Japan) 24 th August | 2026 | Monday | 3:08:36 PM || (Nepal) 11:53:36 AM
 
 


व्यस्त देश र व्यस्त मानिसहरुको लागि ध्यान कसरी उपयोगी हुन सक्छ ?

  POSTED ON : Tuesday, 31 August, 2021 | Views : 6740

व्यस्त देश र व्यस्त मानिसहरुको लागि ध्यान कसरी उपयोगी हुन सक्छ ?


व्यस्त मानिसलाई अबको समयमा सबै भन्दा बढी ध्यानको आवश्यकता छ । हाम्रो जीवन व्यस्तता र विश्रामको सम्यक सन्तुलनमा मात्र सुखी र सृजनात्मक हुन सक्छ । बाहिरी जीवनमा हामी सृजनात्मक हुनुपर्छ र आफुभित्र सुखको अनुभूतिको स्रोत पनि पहिल्याउनुपर्छ । हामीभित्रका अनेक मानसिक तनाव, विशाद, हतासा, दुःख, चिन्ताको मुख्य कारण खाली मनलाई दौडाउने एकोहोरो जीवनशैलीको परिणाम हो । हामीले आन्तरिक विश्रान्तिको कला सिक्नै सकेनौं । अनिंदोपन पनि यसैको परिणाम हो । राति सारा प्रकृति गहन शान्त विश्राममा भएको बेला पनि हाम्रो मन चलिरहेकै हुन्छ र हामी सुत्न सक्दैनौं । यो भन्दा खराब स्थिति के हुन सक्छ रु यदि हामीले थोरै समय निकालेर आप्नो लागी ध्यानका प्रयोगहरु दैनिक रुपले गर्न थाल्यौं भने हामी यी समस्याहरुबाट मुक्त हुन सक्छौं । दिनभरीको कामबाट थाकेको हाम्रो शरीर र मनलाई ध्यानको सचेतन प्रयोगले तुरुन्तै उर्जावान स्थितिमा फर्काउन सकिन्छ ।

श्वास प्रश्वासका प्राणयामका विधिहरु, रेचन विधिहरु, विचारलाई साक्षी भएर ध्यान लगाउने विधिहरु, भजन कीर्तनले आध्यात्मिक जागरणलाई बढाउन र दुःखबाट मुक्तिको बाटो पहिल्याउन मद्दत गर्छन् । २४ घण्टामा सके १९२ घण्टा समय आफुलाई दिनुहोस र हेर्नूहोस सम्भव नभए १ घण्टामात्र दिनुहोस । अरु समय त हाम्रो कामधाम, यताउता, रमझम, अरुको लागी बिताउछौ, तर जून ध्यान को लागी दीइन्छ त्यही छोटो समय १ घण्टा जिबनमा सार्थक हुँन्छ । अरु समय त केबल सब भागदौड मात्र हो ।

के ध्यान र योगले मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न मदत गर्छ त ? सबैलाई जान्ने उत्सुकता हून्छ !

ध्यानले विचारलाई शान्त र भावनालाई नियन्त्रित गर्न सिकाउन र त्यसको प्रत्यक्ष अनुभूति दिलाउंछ । योग र ध्यानले सन्तुलन, बल र शान्ति प्रदान गर्छ । जसले गर्दा त्यसै भाव दिने हर्मोनहरु शरीरमा उत्पन्न हुन्छन् र प्रत्येक कोशिकाहरु पनि त्यही दिशामा कार्य गर्ने पथमा लाग्छन् र हामीलाई त्यसको समग्र अनुभूतिले नयाँ उत्साह र भर प्रदान गर्छ र आफैंप्रतिको आत्मविश्वास बढाउँछ । यसलाई आजको विज्ञानले पनि पुष्टि गरेको छ ।    

मैले ८-९ बर्ष अगाडी स्वामी आनन्द अरुण संग ओशो तपोबनमा ओशोको सन्यास (दीक्षा) लिएको थिएं । जिबनमा नयाँ अन्तस् आयामको अनुभव भयो । तपोवनमा हूने र तपोवनको ध्यान कार्यक्रमहरुमा भाग लीन गईरहन्थें । ध्यानहरुमा संलग्न हुन मलाई त्यति असहज हूने वाताबरण थिएन किनकी मेरो आमाबुवा सपरिवार ध्यानमा सम्लग्न र ओशोको सन्यासी अर्थात् शिष्य हुनुहुन्थ्यो । बुवा तपोबनमै रहनुहुन्थ्यो र पहिलो प्रेरणा तथा सौभाग्य त बुवा आमा बाट नै मिल्यो । यस्तो राम्रो अबसर गुरुसँग जोडिन पायौ । हामी दाजुभाई, बहिनी, साथीभाई फुर्सद हुनेबितिकै तपोबनको ध्यान साधनामा नाच्न पुगीहाल्थ्यौं । शनीबार सत्संग कार्यक्रम एकदिन छुट्यो भने हामीलाई तरकारीमा नुन नलागे जस्तो अनुभव हुन्थ्यो ।

ध्यानले मानसिक शारीरिक दुबैलाई जागरूक बनाउने र जीवन जीउने कला अध्यात्मको माध्यमबाट सिकाउछ । ओशोको यो देशना,अमूल्य खजना हो । जापानमा धेरै ओशोको मेडिटेसन सेन्टरहरू छन र नेपाली तथा जापानिज, सन्यासीमित्रहरु पनि धेरै हूनुहुन्छ । जापानीज नागरिकहरुले ओशोको मौन ध्यान अति रचाएको पाएको छु ।

के आजको विश्व ,संसारको लागि ओशोको सन्देश अझै सान्दर्भिक छ त ? छ भने कसरी ? भन्ने लाग्न सक्छ सबैलाई !

योग जस्तै अहिले ध्यानको लहर पनि विश्वव्यापी भएको छ । ओशोले विगत शताब्दीमा के भन्नुभयो भने मनुष्यले सामान्य जीवन जिउन या त लागूपदार्थ, मद्यपान या अन्य औषधिको सहारा लिनुपर्छ या त ध्यान गर्नु पर्छ, अन्य विकल्प छैन । उहाँको एक प्रख्यात वचन छ – मेडिटेशन अर मेडिकेशन । त्यसैले उहाँले सबै किसिमका मानिसहरुलाई अनुकूल र उपयुक्त हुने ६ सय ध्यानका विधिहरुको र हजारौं छोटा ध्यानका विधिहरुको सृजना गर्नुभयो । नृत्य, उत्सव, ध्यान, मौन, संगीत सबैलाई लिएर अनेकौं सुन्दर ध्यानका विधिहरु ओशोले दिनुभयो ।

त्यस्तै अत्यन्त गहन थेरापी टेक्निक पनि दिनुभयो । उहाँलाई थाहा थियो कि २१ औं शताब्दीको मनुष्य आफैं अशान्त, चिन्तितमनको शिकार हुनेछ र उसलाई ध्यान अत्यन्तै जरुरी हुनेछ । त्यसैले ओशो सांसारिक तथा आध्यात्मिक जीवन दुबैलाई समग्र रुपमा स्वीकार गर्नुहुन्छ । उहाँले ‘जोर्बा द बुद्ध’ को सम्पूर्ण जीवन शैलीको व्याख्या गर्नुभयो । त्यसरी नै जीवन जिउन सिकाउनुभयो । मानिसले संसारलाई पनि महत्व दिनुपर्छ र तर त्यहीं हराउने पनि होइन, हामीले आफूभित्रको बुद्धलाई पनि जगाउनुपर्छ । संसारमा वासनाको कुनै अन्त छैन । कुनै एक दिन हामीले सबै छोडेर जानुपर्छ । यदि हामीले आफूभित्रको बुद्धलाई जगाउने साधना र ध्यान गरेका छौं भने हामीले सबै छोडेर जाने बेलामा हामीलाई पीडा हुँदैन । नत्र हाम्रो अन्तिम क्षण पनि वासना र प्राणको लडाईं मै बेहोसीमा बितेर जानेछ ।

ओशोले मृत्युको अकाट्य सत्य र बुद्ध बन्ने संभावना दुबैलाई महत्व र साधना विधि दिनुभएकोले ओशोको महत्व आज झन सान्दर्भिक भएर आएको छ ।  

अन्त्यमा, नेगेटिभ बिचार बाट मुक्त र हाम्रो मनमा सँधै सकारात्मक भाव जगाइ राख्न के गर्नु पर्छ त ? 

सकारात्मक रहन सकारात्मक हुने भाव जगाउने माहोल चाहिन्छ । त्यसको पहिलो स्थान हाम्रो शरीर हो । शरीरले रसायनको स्रावले सकारात्मक या नकारात्मक अवस्था पैदा गरिरहेको हुन्छ । हाम्रो मनमा खेल्ने विचार र त्यसले उत्पन्न गर्ने भावले हामीमा भविष्यप्रतिको भरोसा निर्मित गरिरहेको हुन्छ । विचारलाई शान्त बनाउने उपाय भयो भने मात्रै हामी सकारात्मक हुने बाटो खुल्छ । नत्र धन, पद, अरुले दिएको जति सुकै मान र इज्जतले पनि हामीलाई एकै प्रकारका नकारात्मक भाव उत्पन्न गर्ने विचारको अनवरत प्रवाहबाट बचाउन सक्दैनन् ।

आज धनी देखिइएका देशहरुमा यही भईरहेको छ ।  यही समस्याबाट मानिसहरु गूज्रीरहेको छन । त्यसैले अबको समय शारीरिक व्यायाम, योग, ध्यान सिक्ने, जानेको कुरा अरुलाई बाँड्ने र सिक्न सक्ने वातावरण सिर्जना गर्ने र त्यसले उत्पन्न गर्ने राम्रो माहोल अहिलेको आवश्यकता हो ।

अहोभाव,

मनमा, शरीरमा, भावनामा भएका बिकारहरुको शुद्धिकरण होस, सबैको स्वास्थ्य राम्रो रहोस यहि मंगलमय शुभकामना सबैलाई ।


...

यशोदा नेपाल (माँ बोधी यशोदा) 

ओशो संन्यासी

हाल : जापान