(Japan) 24 th August | 2026 | Monday | 3:11:59 PM || (Nepal) 11:56:59 AM
 
 


एनआरएनए सिमित सदस्यको नभई सबैको साझा संस्था कहिले बन्छ ?

  POSTED ON : Thursday, 19 August, 2021 | Views : 3962

एनआरएनए सिमित सदस्यको नभई सबैको साझा संस्था कहिले बन्छ ?


'गैर आवासीय नेपाली' भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ । यसरि परदेशमा रहेका नेपालीहरुको हक, हितका खातिर स्थापित संगठन नै गैर आवासीय नेपाली संघ हो ।

विभिन्न देशमा रहिआएका नेपालीहरूको हक, हित र संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना सन २००३ अक्टोबर ११ मा भएको थियो । साथै, पर्यटन प्रबर्दन गर्ने तथा नेपालमा लगानी भित्राउने यसको अर्को प्रमुख उद्देश्य थियो ।यो संस्थाले स्थापनाकालको झन्डै दुई दशकमा विभिन्न उतारचढावको सामना गर्दै आइरहेको छ । साथै यसको दायरा, उद्देश्य र सीमा पनि विस्तारित भएको छ ।

एनआरएनएलाई बुझ्नका लागि एनआरएनएको इतिहास बुझ्न जरुरी हुन्छ । एनआरएनएको आधिकारिक वेबसाइटमा एनआरएनको स्थापनाको उद्देश्यलाई हेर्ने हो भने पहिलो वाक्य यस्तो लेखिएको छ – 'Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003.

यसको स्थापनाको उद्देश्यलाई अध्ययन गर्दा  जो कसैको मन छुन्छ । विदेशिन बाध्य नेपालीहरुलाई एउटा छातामुनि राखेर उनीहरूको हक र हितका लागि लड्नु भनेको नेपालीको लागि गर्वको कुरा हो । यो एउटा पवित्र कार्य पनि हो ।

गैह्र आवासीय नेपाली संघको बारेमा थप चर्चा गर्नु पर्दा  ‘ गैरआवासीय नेपाली भन्नाले नेपाली मूलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढी नेपाल सरकारबाट खटिई विदेशस्थित नेपाली नियोगमा वहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरू बाहेकका अन्य देशहरूमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँदछ ।’ भनेर संस्थाको बिधानमै उल्लेछ गरेको छ । यसरि हेर्दा अहिले विश्वका विभिन्न मुलुकमा रहेका धेरै नेपालीहरुमध्ये अधिकांशलाई एनआरएन भनेर मान्न सकिन्छ ।

विश्वको जुन सुकै मुलुकमा पनि नेपाली नपुगेको सायदै होला । त्यसैले पनि एनआरएनएको गरिमा र भुमिका दुबै कुराले अत्यन्तै महत्व राख्दछ । 

नेपाली परदेशिनु भनेकै आफ्नो देशमा कुनै न कुनै समस्यामा पर्नु हो । चाहे त्यो आर्थिक राजनैतिक वा शैक्षिक नै किन नहोस । दुईछाक टार्न र बालबच्चा पाल्नको लागि परदेशिनु पर्ने नेपालीको संख्या धेरै छ । पछिल्लो समय दैनिकि राम्रै चल्दा चल्दै पनि आर्थिकपाटो अझै सबल बनाउन तथा अध्ययनको सिलसिलामा विदेश पसि बिदेशमै भबिश्य खोज्ने नेपालीहरु पनि उत्तिकै मात्रामा देखिन्छन् ।

यो हुदा पछि समग्रमा एनआरएन नेपालीको बिषयमा अध्ययन गर्दा गरिबिले पिल्सिएका, दुईछाक टार्न समस्यामा रहेका, आफ्ना बुढा बाबा आमाको मुहारमा खुसिको बहार छर्न र साना लालाबालाको भबिष्य चम्काउन कुनै न कुनै हाबानामा परदेशिएका हुन् । अब प्रश्नआउछ, के एनआरएनएले तिनिहरुको हक हित र समस्या समाधान सम्म पुग्न सकेको छत ? जवाफ लेखिरहन पर्छ जस्तो लाग्दैन । सजिलै जो कसैले जुन सुकै ठांउमा पनि जवाफ दिन सक्छ । यति बेला नेपालीले चिनेको एनआरएनए पनि यहि नै हो जस्तो लाग्छ ।

नेपालमा साधारण जनताले पनि एनआरएन भनेका त विकसित मुलुकमा बस्ने, अरबपति, करोडपति वा सम्पन्नशाली हुन् भनेर बुझ्नेगरेका छन् । त्यति मात्र होइन, एनआरएनहरु भनेका विकसित राष्ट्रका ग्रिनकार्ड वा पीआर एइजु , विदेशकै परिचय पत्र पाएका धनिहरु  हुन् भने मानसिकता विकसित भइसकेको छ । उनिहरु संग सम्बन्ध बनाउन सक्यो भने वा पारिवारिक नाता जोड्न सक्यो भने ठुलै सफलता प्राप्त गरेको महसुस गर्नेहरु पनि छन् । उदाहरणका लागि पिआर वा एइजु होल्डरलाई कुनै कुराको संकोच नमानि ज्वाई बनाएको तपाई हाम्रै समाजमा प्रसस्तै देख्न र सुन्न पाईन्छ । 

समग्र विश्वमा एनआरएनए अहिले यस्तो संस्थाका रूपमा पनि स्थापित भएको छ, जसको नेतृत्वमा पुग्न सम्पन्न हुनैपर्छ । उद्योगी, व्यापारी, हुण्डीवाल, कन्सल्टेन्सी सञ्चालकहरू नै नेतृत्वमा पुग्नुले यसको पुष्टि गर्छ । संस्थाको नेतृत्व जो कसैले पनि गर्न पाउदछ । यहा नेतृत्वमा को पुगे वा पुगेन भन्ने सवाल होइन । माथि उल्लेख भए जस्तै समस्या नै समस्याले जकडिएको वर्गले नेतृत्व गर्न पायो कि पाएन त ? खास समस्याहरु संस्थाको केन्द्रसम्म पुगे कि पुगेनन् त ? जस्ता अनुत्तरित यावत प्रश्नहरु प्रश्न मै सिमित छन् ।  समस्या त त्यहाँ हुन्छ जब अल्पसंख्यकको प्रतिनिधिले बहुसंख्यकलाई नेतृत्व गर्न खोज्छ ।

अनि, समस्या बन्छन् मुख्य एजेण्डाहरू । अनेक बखडाबाजि गरेर भए पनि नेतृत्वमा धनवालहरु पुग्छ । धनपतीहरु नै नेतृत्वमा पुगे पछि आफ्नै निहित स्वार्थको लागि उद्योग व्यापार जस्ता सम्बन्धित कुराहरु नै प्राथमिकतामा उठाउनु स्वभाविक नै हो । उनिहरुको  मुख्य एजेण्डा भनेको कसरी लगानी गर्ने, कसरी व्यापार गर्ने भन्ने रहन्छ । यसकारण, सबभन्दा पीडित समूहरूका एजेण्डाहरू स्वतः छायाँमा पर्दै जान्छन् । यसरि हेर्दै जादा नेतृत्वमा पुर्याउने वर्गका समस्याहरू जहांको त्यहिँ रहन गएको छ । केहि काम भएका छैनन् भन्ने चाहि हुँदै होईन ।  समस्याको सम्बोधन हुनका लागि तिनीहरू पनि नेतृत्व तहमा पुग्ने वातावरणको श्रृजना गर्नु अत्यन्त जरुरी छ । तर, समग्रमा अहिलेको एनआरएनएको सांगठानिक चित्रलाई बुझ्ने र हेर्ने हो भने त्यस्तो हुन सकेको छैन ।  

जापानको हकमा हेर्ने हो भने सन २०२१ को मध्य तिर आई पुग्दा अनेक खिचातानिका कारण एनआरएनए एउटा नेपालीको संस्था होकि कुनै राजनैतिक दल हो भन्ने भ्रम नेपाली समुदायमा पर्न गएको देखिन्छ । २०२१-२०२३ नेतृत्वका लागि भएको निर्वाचन र चुनाव पछिका हरेक गतिबिधि हेर्ने हो भने नेपालको राजनैतिक खिचातानि र जापानमा संस्थाको पदका लागि भएका खिचातानि उस्ता उस्तै देखिन्छन । एनआरएनए संस्थाआफैमा गलत नहुदा नहुदै पनि एनआरएनए भन्ने शब्द सुन्दा बित्तिकै गलत अर्थ बुझिने गरि गतिबिधि हुनु नेपालीको लागि दुःखद कुरा हो । यस्ता समाचारहरु जापान मात्र नभई अन्य देशबाट पनि बेला बखत आईरहेका छन् । 

एउटा कुरा के मान्न सकिएला भने सफल व्यापारी, उद्योगीसँग यो संस्थालाई दिने पैसा र समय दुवै होला जति विद्यार्थी, कुक वा अन्य रोजगार र सामान्य पेसामा रहेको नेपालीको नहोला । हरेक दिन काम गरेर हातमुख जोर्ने एउटा मान्छेले म समाजसेवा गर्छु वा म नेतृत्व गर्छु भनेर भन्न नसुहाउला तर त्यसो भन्दैमा नेतृत्वलाई सामाजिक हिसावले समावेशी बनाउनै सकिन्न भन्नेचाहिँ होइन । 

जापानको मामिलामा पनि सबभन्दा पीडित पक्ष कुक पेसा र विद्यार्थीलाई पनि अटाउन सक्ने वातावरण बनाउनु प्रमुख चुनौती रहेको छ । हुन त अन्य पेसामा रहेका नेपालीहरु समस्यामा परेका छैनन् भन्ने चांहि हुदै होईन । साथै, अन्य केही पेशाकर्मी, महिलाहरूलाई पनि यस संस्थाले आकर्षण गर्न नसकेको स्वीकारोक्ति वेलावेलामा नेतृत्व पक्षले गरेकै छन् । महिलाहरु  नेतृत्व गर्नको लागी पदको अगाडि महिला भनेर जोड्नै पर्नेकुराले यसको पुष्टि गरेको छ । उपाध्यक्ष पदमा उमेद्वारि दिनको लागि महिला उपाध्यक्ष भनिएको छ । के अब अध्यक्ष पदमा महिलाले नेतृत्व गर्नको लागि महिला अध्यक्ष भनेरै लड्नु पर्ने हो त ? प्रश्न खडा भएको छ । महिला सदस्य भन्नै पर्ने दिन कहिले सम्म ? उपाध्यक्ष अथवा अध्यक्ष जस्ता पदमा सिधै महिलाले सजिलै नेतृत्व गर्न सक्ने वातावरण शिर्जना हुनु पर्दछ । 

काम गर्दै जादा बिभिन्न पोजेटिभ तथा नेगेटिभ टिकाटिप्पणि आउनु स्वभाविक नै हो । संस्थाले पोजेटिभ कुरा सबै नेपाली सम्म र नेगेटिभ कुरालाई सबैले बुझ्ने गरि प्रष्ट पार्नु जरुरि हुन्छ । तर त्यसो हुनुको साटो झन द्वन्द गरेको जस्तो नेपाली समुदायमा पर्न गएको छ । यो कुरालाई चिरफर गर्न जरुरि छ ।

त्यस्तै अर्को तर्फ तथ्यांकगत रुपमा हेर्दा सन २०२० मा नेपाल सरकारको तर्फदेखि परराष्ट्र मन्रालय तथा अन्तर्राष्ट्रिय श्रम तथा रोजगार विभागका तत्कालिन सम्वन्धित निकायका ब्यक्तित्व रामेस्वर राय यादव र दिनेस केसिको नेतृत्वमा सार्वजनिक भएको रिपोर्ट अनुसार सन १९९३/९४ मा अन्तराष्ट्रिय श्रम स्वीकृति लिने नेपालिको संख्या ३ हजार ६ सय ५ थियो । त्यसै गरि सन २००३/४ मा त्यो संख्या बढेर १लाख ६ हजार ६ सय ६० पुग्यो । यहि समयमा एन आर एन ए को स्थापना भएको थियो । 

अन्तराष्ट्रिय श्रम स्विकृति लिनेको संख्या सन २०१३/१४ मा आईपुग्दा ५ लाख १९ हजार ६ सय ३८ पुगेको थियो भने पछिल्लो तथ्यांकलाई अध्ययन गर्दा सन २०१७र१८मा यो संख्या घटेर ३ लाख ५४ हजार ९८ र सन २०१८/१९ मा यो संख्या अझै घटेर २लाख ३६ हजार २ सय ८ पुगेको छ । यो माथिको तथ्यांकले पनि केदेखाउछ भने पछिल्लो समय नेपालीहरु एनआरएन हुन चाहदैनन् अझ भनौ परदेशिन चाहदैनन् । नेपाल मै केहि गर्ने र जिबिको पार्जन परिवारसंगै दैनिकि चलाउनेको संख्या बढेको छ । आफ्नो परिबारसंगै रमाउदै जिवन शैलि सहज बनाउन अहिले हाm परदेशमा रहेका नेपालीहरुको चाहना हो । त्यसैले परदेशिएका नेपालीलाई स्वदेशमै रोजगारि शिर्जना गर्दै दिर्घकालिन योजनाका लागि नेपाल सरकारसॅंग समन्वय गरि केहि नयां कामको थालनी गरेको हेर्ने चाहना छ ।

अर्को तर्फ सन २०२० मा प्रकाशित नेपाल सरकारका बिभिन्न रिपोर्टलाई आधार मान्ने हो भने १८ बर्ष देखि ३५ बर्ष उमेरका युवाहरु बिदेश पलायन भएका छन् । त्यस मध्ये २०१८ मा ५९५ र २०१९ मा ६४५ युवा दक्ष कामदारको सुचिमा पर्दैनन् । काम गर्न नजाने पछि मिस्टेक हुन्छ नै हुन्छ । त्यो मिस्टेकले कि त ज्यान लिन्छ कि त जेललान्छ । उदाहरणको लागि ड्राईभिंग नै नसिकेको मान्छेलाई गाडिको साँचो सुम्पिदियो भने के होला ? कुरा प्रष्ट नै छ । हरेक बिकसित देशले शैक्षिक जनशक्तिलाई बिभिन्न भिषामा तानिरहेको छ । त्यसरी एकातिर शैक्षिक जनशक्ति पलायन हुदै जादा दिर्घकालमा देशलाई ठुलोघाटा पुग्ने देखिन्छ । दक्ष जनशक्ति बिकसित मुलुकमा र अर्धदक्ष जनशक्ति कम बिकसित मुलकमा पलायन हुदै गर्दा अर्थात एनआरएन बन्दै गर्दा भबिष्यमा नतिजा सुखन आउँदैन ।

गांउघरमा यतिबेला हरेक घरबाट कुनै न कुनै सदस्य देश बाहिर छन् । गांउघरमा छन त केवल बुढाबुढि र केटाकेटि मात्रै । एनआरएनएले देबघाटमा बृद्धआश्रम त बनायो त्यो राम्रो काम हो । तर अब दिर्घकालको लागिपनि के त्यो नै समाधान हो त रु जन्म दिएका बाबा आमासंगै बसेर बुढा बुढि र केटा केटिको सहारा प्रत्यक्ष आफ्नै सन्तान हुन सक्ने किसिमको योजना संस्थाले गर्यो भने त्यो अझ प्रभावकारि र दिर्घकालिन समस्या समाधानको पक्ष बन्ने छ ।

एनआरअनए परदेशमा रहेर परदेशिने र परदेशमा भएका नेपालीको लागि काम गर्ने संस्था भएकोले यो बिषयमा दिर्घकालिन योजनाका साथ काम गरेको हेर्ने चाहना छ । 

यति भन्दै गर्दा एनआरएनएले गरेका बिद्यार्थिलाई छात्रवृत्ति, भुकम्पको समयमा गरेको योगदान, बाढि पहिरो आगलागि जस्ता प्राकृतिक प्रकोपका बेला गरेका आर्थिक सहयोग, बालबालिका, महिला तथा पिछडिएको वर्गलाई लक्षित गरि गरिएको बिभिन्न कार्यक्रम लगायलका राम्रा कामलाई बिर्सन मिल्दैन ।

समग्रमा परदेशिएका नेपालीको आँकडा हेर्दा संस्थामा २० प्रतिशत नेपालीको पनि सहभागिता नजनाउनु संस्था प्रतिको विस्वसनियता नहुनु हो भनेर बुझ्न सकिन्छ । खुसि खोज्ने यात्रामा परदेशिएका नेपाली झन दुःख र समस्याको जन्जालमा परि विभिन्न कारणले आत्महत्या सम्म गर्न पुगेका घटना बढिरहेका छन् । यस तर्फ पनि एनआरएनएको ध्यान जानु जरुरि छ। 

शिर्षकको अन्तिम पक्षमा चर्चा गर्नु पर्दा नेपाली समुदायले अब एनआरएनहरूलाई हर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ । संस्थाले परदेशमा नेपालीको मृत्यु पछि लाश स्वदेश पठाउने  पहल हैन ज्यान जोगाउन गर्नु पर्ने अतिआवस्यक कदम चालेको हेर्न र त्यसैमा सहयोग गर्ने चाहना सायद मेरो मात्र होईन होला । यसका लागि संस्थाले त्यो किसिमको वातावरण बनाउनु पर्छ । एनआरएनहरु उद्योगि, धनी, सम्पन्न वा विश्वका सम्पन्न मुलुकबाट मात्र आएका हुँदैनन् भनेर प्रमाणित गर्दै अरब, मलेसिया वा कम विकसित मुलुकमा बसेर आफ्नो पसिना बगाउने बहुसंख्यक नेपाली वर्गको पनि समान अस्थित्व छ भन्ने भनुभुति गराउदै त्यो वर्गलाई एनआरएनको परिभाषाको बक्ररेखा भित्र ल्याउनु पर्छ । तर, वास्तविक एनआरएनए बनाउन जुन सोंच, चेतना र एजेण्डाहरूको जरुरी छ, त्यस्ता एजेण्डा ल्याउने नेतृत्वको अभाव भइरहेको छ । ती समस्याको सम्बोधन हुनका लागि तिनै मानिसहरूबाट यस संगठनको नेतृत्वमा पहुँच पुयाउनु जरुरी हुन्छ ।

समस्याहरु जहाँ पनि हुन्छन् । समस्या समाधानका लागि सम्बोधन गरिएनन् भने यस्ता समस्याहरू अझै आउनेछन् । यस्ता समस्याहरूको समाधान बेलैमा गरिनुपर्छ । यस्ता कुरामा हरेक चुनावका नयाँ नेतृत्व सजग भएर काम गरेको हेर्ने चाहाना छ ।

गैरआवासीय नेपाली संघ दक्षिण एसियाली मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मूलका विदेशी नागरिकअटाउन सक्ने गैर आवासिय नेपालीहरुको अन्तर्राष्ट्रिय सञ्जाल हो । हालसम्म ८१ वटा देशमा यसका राष्ट्रिय समन्वय परिसदहरु विस्तारित भएका छन् । यसको केन्द्रीय कार्यकारी संरचना भने अन्तराष्ट्रिय समन्वय परिसद नै हो, जुन अन्तर्राष्ट्रिय महाधिवेशनबाट पारित नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्नको लागि निर्वाचित हुन्छ । हरेक दुई वर्षमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनबाट छानिएर आएका प्रतिनिधिहरूको महाधिवशेनबाट यसका प्रमुख पदहरु निर्वाचित हुन्छन्। सदस्यहरू भने राष्ट्रिय महाधिवेशनहरूले नैनिर्वाचित गरेर पठाउँछन् । निर्वाचन पछिका टिकाटिप्पणिको सामना गर्नु भन्दा पनि कस्तो ब्यक्ति छनौट गर्ने भन्ने बिषयमा सबै उदेश्य मिट हुने गरि एउटा क्राईटेरिया (परिधि) बनाउनु पर्छ । 

संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायत त्यस पछि नेतृत्वमा पुग्नु भएका देवमान हिराचन, जिवा लामिछाने, शेष घले, भवन भट्ट हुदै अहिलेसम्म आई पुग्दा के साच्चै एनआरएनएको आदर्श वाक्य नेपालीका लागी नेपाली हुन सकेको छ त ? मुल्यांकन गर्ने बेलाआएको छ ।

अग्रजहरुले गरेका राम्रा उदाहरणिय कामको अनुसरण गर्दै र बिग्रिएका त्रुतिहरु सच्चाउदै जानु पर्ने आजको नेतृत्वको मुल उदेश्य हुनु जरुरि छ । उदाहरणको लागि भनौ जापानमा झन्डै एक लाखको नजिक नेपालीहरु बसोबास गर्छन तर किन एनआरएनएको सदस्यता जम्मा १० हजार मात्रैले लिए त ? अन्य देशमा संस्थाको तथ्यांक हेर्दा पनि अबस्था उस्तै छ । यसले पनि यो पुष्टि गर्छ कि संस्थाप्रति व्यक्तिको विस्वास टुटेको छ । टुटेको र फुटेको त्यो विस्वास लाई जित्दै सबैलाई मेरो संस्था हो भन्ने अनुभुति दिलाउदै आफै संस्थामा आबध्द हुने बातावरण बनाउन सक्यो भने एनआरएनए सबैको मन मनमा बस्न सक्ने छ । जसरि बिरामि पर्दा मानिस अस्पताल धाउछ त्यसै गरि परदेशमा समस्या र खुसिका क्षणमा सुख दुःख साटासाट गर्न संस्थासंग दोहोरो सम्पर्कमा रहन उत्प्रेरणा जाग्ने किसिमको बातावरण बनेको हेर्ने चाहना छ । 

विकसित राष्ट्रमा आएर बसेका हामी नेपालीले यहाँका राम्रा राजनीतिक, सामाजिक संस्कार सिक्नुको साटो फोहोरी क्रियाकलापलाई बढावा त दिइरहेका छैनौं ? यो अहिलेको विदेशिएको पहिलो पुस्तामाथि उठ्ने एउटा गम्भिर प्रश्न हो ।छिमेकिले पांच तले घर बनायो भने उसको घरको झ्याल ढोका फोर्ने हैन कि कसरि त्यो प्रगति गर्यो भनेर सिक्न जरुरि छ । नेपाली समुदायले पनि संस्था गलत होईन संस्थालाई केहि भ्रष्ट व्यक्तिले गलत बनाएका हुन भन्ने बुझ्न जरुरि छ । 

सामाजिक संजालका ट्रोल र फेक आईडिले फैलाएको गलत अतिरन्जित प्रचारका पछाडि दौडिनुको साटो संबन्धित पक्षसंग खास कुरा नबुझ्नु, बुझ्न नखोज्नुले पनि एनआरएनए तथा अन्य संघसंस्था तथा ग्रुपहरु पब्लिकको सामु नराम्रो जस्तो देखिएका छन् । युबा पिडिले सामाजिक संजालको दुरुपयोग गर्ने केहि त्यस्ता जमातलाई निरुत्साहित गर्दै सफा समाज निर्माण गर्न भुमिका निर्बाह गर्नु पर्दछ ।

तथ्यमा आधारिक सत्य एकातिर, गलत प्रचार बाजि अर्को तिर हुनु र त्यहि गलत कुरालाई अतिरन्जित पारिनुले समग्र नेपाली समुदाय नै प्रभाबित बनेको छ । समाजमा भएका यस्ता खाले नेगेटिभिटिलाई हटाउन अबको एनआरएनएले पोजेटिभ भ्वाईसको लागि प्रमुख काम गरेको हेर्नेचाहना छ । यस्तो प्रवृत्तिलाई रोक्न र राजनीतिबाट मुक्त, स्वच्छ समाजसेवाप्रति अग्रसर भएर लाग्न सक्ने नेतृत्वको आवश्यकता छ । विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुंजिको परिचालन गर्दै अगाडि बढ्न सक्यो भने ब्यक्ति, संस्था, समाज र समग्र देशलाई नै फाईदा पुग्ने छ । 

...

नारायण पोखरेल 

धुर्कोट गांउपालिका ४ जैसिथोक 

रौताडि, गुल्मी

हाल : टोकियो