मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन र हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन् ।
मानिस जुनसुकै बेला जस्तो सुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाज सेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरुलाई सेवा गर्यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरु बताउँछन् ।
जुनसुकै धार्मिक ग्रन्थमा पनि समाजसेवा गर्नुपर्ने र यसले पुण्य मिल्ने कुराहरु कुनै न कुनै रुपमा लेखिएका छन् । मानिसहरु समाज सेवा गर्न किन रुचाउछन भन्दा पनि समाजसेवा एउटा मानवीय धर्म हो र हर मानिसमा मानवियता हुन्छ । समाजसेवा आत्मचाहना हो र आत्म सन्तुष्टिका लागि मानिसले गर्ने गर्छन ।
समाजसेवा निस्वार्थ हुनुपर्छ नै तर आजभोली हर क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएको भने छ । त्यसैले समाजसेवा जस्ता सबै कुराहरु सिद्धान्तमा मात्र छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यस्लाई अनुसरण गरेको पाइँदैन । सिद्धान्त अनुसार चल्ने हो भने नाम अनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ नि त्यस्को पनि मान र सम्मान राख्नु पर्दछ । तर यहाँ के भएको छ भने मानिसको अन्तिम बिन्दु समाज सेवीको नाममा अडकिएको छ ।
समाज सेवी फलाना र ढिस्कानालाई भन्दै कार्यक्रम संचालकले सम्मान गरेको देखका छौ । वास्तवमा के तिनीहरु सबै समाज सेवीको दायरामा पर्दछन् या समाजसेवीको बिल्ला राख्नको लागि साँच्चिकै हुन् त ? समाज सेवा भनेको परोपकार हो ।
समाज सेवाको नाममा कही कतै ब्रम्हलूट पनि भएको हामीले समाचार सुनेका छौं । समाज सेवीको नामबाट गलत क्रियाकलाप पनि नभएका हैनन् तर त्यो समाज सेवाको रथ हाक्ने जिम्मा मानिसले लिएका हुन्छन् । समाजसेवा पवित्र कार्य हो भने समाज सेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ र समाजसेवा गर्ने संस्थाहरु गनाउने भएका छन् ।
आजकाल छ्याप छ्याप्ती जहाँ गयो त्यहि समाजसेवी देखिन थालेका छन् । मैले समाज सेवीको भावार्थ न बुझेको हो कि । सबैलाई समाजसेवी भनिदियो भने खाँट्टी समाजसेवी त ओझेलमा पर्ने हो कि भन्ने आशंका लागेको छ ।
हामी नेपाली समुदायले एउटा कुनै संस्थामा काम गर्यो र भूतपूर्व अध्यक्ष या कार्यकर्ता भयो भने समाजसेवी लेखको पाईन्छ । जो कोहि समाज सेवामा लागेका छन् र उनीहरुले त्यो सम्मान खोज्दैनन् । समाज सेवाको मर्म बुझ्न कोसिस गर्नु पर्छ । विशुद्ध समाज सेवीलाई सम्मान गर्न सिक्नु पर्छ, समाजसेवी आफुले हैन अरुद्वारा पुकारिनु पर्छ र सम्बोधन हुनु पर्छ । केवल नाम र प्रतिष्ठा वृद्धि स्वरुप आफुलाई समाज सेवी भन्न तगारो लगाउनु पर्छ समाजसेवी सहि अर्थ लगाउन जान्नु पर्छ ।
आशा गरौं, समाजको यो भावनालाई बुझ्ने र आलोचना खप्न सक्ने तथा आत्मालोचना गर्न सक्ने इमान्दार सामाजिक व्यक्तिहरुलाई अब समाजले चिन्नुपर्छ र अगाडि ल्याउनु पर्छ । मैले बुझेको समाजसेवा व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समाजको सर्वोपरि हितको निम्ती लाग्नु हो । त्यसैले भन्न र देखाउनको लागि हैन असल मन र पवित्र भावनाले सबैको सेवा र सबैलाई सहयोग गरौं । सबैको जयहोस् ।
...
श्री गुरुङ
पूर्व अध्यक्ष
तमु धीं जापान