(Japan) 24 th August | 2026 | Monday | 3:10:56 PM || (Nepal) 11:55:56 AM
 
 


जापानमा ३ बर्ष अघी हराएको साईकल प्रहरिले खोजेर फिर्ता ल्याइदिए पछि

सेबक पिसी   POSTED ON : Sunday, 27 June, 2021 | Views : 12870

जापानमा ३ बर्ष अघी हराएको साईकल प्रहरिले खोजेर फिर्ता ल्याइदिए पछि


मेरो साइकल बस्ने घरको बाहिर पार्किङ गर्नेगर्थे । सँधै छोराले स्कुल जाने काम साईकलमा गर्थ्यो । साईकल पार्किंगमा राखिन्थ्यो ।

छोराले त्यसदिन पनि त्यसैगरि राखेर कोठामा आयो । भोलीपल्ट बिहान स्कुल जाँदा पार्किंगमा साईकल देखिएन । चाबी लगाएर राखेको साईकल हरायो । छोरो हिंडेर स्कुल गयो ।

बेलुकी फर्केपछि आमा र छोरा भएर पुलिसमा रिपोर्ट दिए । यहाँ रिपोर्ट दिनु पर्ने हुन्छ । पुलिसहरुले खोज्छ पनि र कसैले लगेर दुर्घटना गरायो भने पनि आफू जोगिन्छ ।

करिब २ हप्ता अगाडि मलाई खोज्दै टोकियो ईकेगामी प्रहरी चौकीबाट फोन आएको कुरा म पहिला बसेको ठाउबाट आयो, जहाँबाट साईकल हराएको थियो । त्यो घरको मालिकले भनेको भन्दै त्यहाँ परिचित जापानी बुढी आमाले मेरो श्रीमतीलाई फोन गरेर तिम्रो श्रीमानलाई खोज्दै प्रहरी चौकीबाट फोन आएको थियो भनिछन् ।

म काम बाट आएपछि श्रीमतीले प्रहरी चौकीबाट हजूरलाई खोज्दै फोन आएको थियो रे भनिन । म झसँग भएँ । उनिहरुलाई न बिरानु न डराउनु भन्दै शान्त मन पारी खाना खाएर सुतें । सुतेपछि कतै केहि गल्ति गरेको पो थिएँ की भनि केलाउन थालें ।

कतै नराम्रो बोलें की, कतै झगडा गरें की, कतै यहाँका नियमहरु मिचें की, अझै गहिरिएर सोचें की कतै कसैलाई ठगें की, कतै आपराधीक काममा सहभागी भएँ की ? अँह मलाई केहि याद हुन सकेन । किनकी केही गलत गरेको थिइन ।

त्यसको १ हप्तापछि मलाई नै फोन आयो । मेरो साईकल लिंदाखेरीको नम्बर चेन्ज भईसकेको, पहिलाको ठेगानापनि चेन्ज भएकोले प्रहरीले नगरपालीकामा बुझी मेरो बिबरण मागेर सम्पर्क गरेको रहेछ । मैले फोन आएपछि किन होला भनेर सोधें ?

चौकिबाट ३ बर्ष पहिला हराएको साईकल वार्ड नम्बर ११ मा भेटियो । लिन आउन भन्यो । म पहिला वार्ड नम्बर ७ मा बस्थे । मैले भने म टाढा छु । त्यो ठाउँ छोडिसकेकोले तत्काल आउन सक्दिन भने । अझै साईकल पुरानो पनि भयो होला, त्यतै फाल्दिनु भने । उताबाट प्रहरिले भन्यो ‘उजुरी परेपछि भेटिसकेको सामान हामीले सम्बन्धित ब्यक्तिलाई बुझाउनै पर्ने हुन्छ । यो हाम्रो देशको नियम कानुनमा उल्लेखित छ’ भन्यो ।

म त्यहाँ आउन सक्दिन नै भनेपछि हामी तँ जापानको जूनसुकै ठाउँमा भएपनि साईकल ल्याईदिन्छौं भनेपछि मैले ओके गरें । जुन २६ तारिख ठिक ३ बजे फोन आयो र भन्यो ठिक ४ बजे साईकल घरमा आईपुग्छ, कतै नजानु । मैले हस् भने ।

प्रहरी भ्यानमा ४ जना बर्दीधारी प्रहरीले तोकिएकै समयमा साईकल लिई आए । मैले उजुरीको आधारमा भेटिएको साईकल हुँदा दस्तखत गरि बुझिलिएँ । 

साईकलको अवस्था नाजूक रहेछ, दुईटै पान्ग्रा ड्यामेज, सामान राख्ने टोकरी कच्याककुचुक, सबैतिर खिया लागेको । 

जे होस् मलाई भेटिएको साईकल घाँडो भएतापनि यहाँको खोजिनीति असाध्यै मन पर्यो । हाम्रो देशमा हराएको मान्छेलाई धेरै खोजे २ महिना खोजिएला, त्यसपछि खोजिंदैन ! तर यहाँ जाबो साईकल ३-३ बर्ष खोजेर भेटेर प्रहरिले मलाई बुझाईदियो, यस मानेमा म खुशी छु । अब यो साईकल बनाएर चढ्न भन्दा किन्न सस्तो पर्छ । यसलाई फोहोरमा फाल्न पनि पैसा तिर्नु पर्छ । १,००० रुपयाँ भन्दा माथि नै लाग्छ यो फाल्न पनि ।