मेरो दिनको सुरुवात र अन्त्य अर्थात् उठेपछि या सुत्नु भन्दा अगाडि संधै समाचार ले नै गर्नेगर्छ । सदाझैं आज पनि त्यहि भयो । भन्नुपर्दा मेरो एउटा साथि र आशाको किरण हो समाचार । कहिले काहिँ अत्यन्त चोटिला बिषयको समाचार सुन्छु जसले मलाइ दिन भरि झकझकाइ रहन्छ सोच मग्न बनाउछ त, कहिले काहिँ जोसिला उत्साहित खवर पढेर एकदम नजिकबाट बुझ्न उत्प्रेरित गर्दछ । जसले गर्दा मैले धेरै थोरै कुरा बुझ्ने र बुझाउने मौका पनि पाएको छु । कति कुरा बोलेर भन्दा शब्दको माध्यमले बढि न्याय दिन्छ जस्तो लाग्छ मलाइ र सोही कुरालाई अनुभुत गर्दै आज फेरि केही लेख्ने कोसिस गर्दैछु ।
यि हरफहरु लेखिरहँदा म आज एकदमै भाबुक भएको छु त्यो पनि एउटा समाचारकै कारणले । खवर हो आफ्नै सन्तानबाट जन्मदिने आमाको हत्या । हुन त यस्ता खवर अचेल कतिपय अवस्थामा महिनैपिच्छे घटिरहेका हुन्छन् तर पनि ति आमाको तर्फबाट केही प्रश्न उठेको छ कि नौ महिना कोख अनि खाखमा राखेर नौधारा दुध खुवाएर हुर्काएर तिनै सन्तानबाट मारिनु पर्छ भने आमाले काल रुपमा ति सन्तानलाई किन, के का लागि र कस्का लागि जन्म दिनु ?
नारि आमा त्यस्तो प्रतिमुर्ति हो जसले केटाकेटि बेला देखिनै सानो कपडा पोको पारेर गुडिया खेलौना बनाएर होस वा अनेक प्रयासबाट सन्तान प्रतिको चाहना र माया देखाउन सुरु गर्छिन । केहि समयको लागि मात्र किन नहोस उसले आफैलार्इ आमाको रुपमा चित्रण गर्दै त्यो सानो खेलौना गुडिया सिरानि लाइ बोक्दै हिड्ने, सङ्गै सुत्ने गर्छिन ।
एउटि आमा आफ्नो सन्तानको लागि जन्मेपछि मात्र होइन जन्मिनु भन्दा अगाडि अर्थात् नौ महिना पहिलाबाटै प्रथना गर्छिन, बच्चा गर्भमा भएदेखि । ति आमाले आफ्नो हरेक इच्छा आकांक्षा चाहना बुझ्नेशैलिमा भन्नुपर्दा ति आमाले आफ्नो लवाइखवाइ हिडाइ मात्र नभएर हिजोसम्म आफु एकको लागि बाच्ने खाने आमा कोखमा भ्रुणको रुपमा विकसित हुन नथाल्दै भावी सन्तानको लागि खान सोच्न थाल्छिन । एक गिलास दुध होस या अलि कति घ्यु आफ्नो लागि भन्दापनि पेट भित्र भएको सन्तानको लागि खान थाल्छिन । अनि अलि अलि गर्दै एक डबल सिक्का होस या माइत जादा पाएको दक्षिणा होस ति सिक्का सिक्काले सन्तानको भबिष्य बनाउने सपना देख्दै उनि आफ्नो लागि अलिकति मात्र खर्चेर कुत्रुके भर्दै जान्छिन ।
थाहा छैन त्यो माटोको खुत्रुकेमा भरिएको सपनाले कतिको सपना पुरा हुन्छ हुँदैन । बेला बेलामा आफ्नो पुक्क फुलेको पेट मुसार्दै आफैं बोल्न र पेट भित्रको सन्तानलाई बोलाउन थाल्छिन आखिर किन ? यो हो पर्खाइ र यो हो साहास किनभने सन्तान पाउदा हुने त्यो पिडा लाइ बिर्सि हिम्मत गरेर नौ महिना कोखमा राखेको बच्चालाइ हेर्न आतुर हुन्छिन आमा । आफु पिडा र दुःखमा लडेर सन्तान लाइै जन्म दिन्छिन अनि धेरै पर्खाइ पछि भेटेको मान्छेलाइ अङगालो हाल्दै आफ्नो सन्तान संगै खुशीको आँसु झार्छिन् ।
त्यस्तो मन्दिर छैन होला जहाँ आमाले सन्तानको लागि केहि नमागेको होस् । हिजो भाकेका देबि देउता उनको लागि झनै प्रिय बनेका छन र हिजो भाकेका मन्दिरलाइ मन मनै सम्झिदै ति आमा आफ्नो अङ्गालोमा ति सन्तानलाई च्याप्दै भन्छिन आज बाट म एक पुर्ण नारी भएँ । आफ्नो सन्तानलाइ यो सृष्टिमा जन्म दिर्इ एक आमा हुने सौभाग्य पाएँ भनेर ।
संसारमा किन्न नमिल्ने चिज भनेको आमाको माया भन्ने पढेको, सुनेको, देखेको र अनुभुति पनि गरेको थिएं तर आमा अचेल समाजले तिम्रा प्रकार छुट्टाउदैछन रे । आमा तिम्रो मोल गर्दैछन रे, तिम्रो माया सस्तो हुदैछ रे । आजभोलि ति सन्तानलाई तिम्रा नौगेडि, झम्के बुलाकि हुँदै तिम्रो घाँटिमा लगाएको पोतेसंग गासिएको सुनका गरगहना र तिम्रा नाममा रहेका घर जग्गा सम्पति प्यारो मानेर तिमिलाई घर बाट निकाल्ने पिट्ने अनि सैतानि रुप लिइ तिमिलाइ मार्न पनि पछि हट्दैनन ।
के थाहा ति अबुझलाई उस्लाई ठुलो बनाउन तिमिले गरेको संघर्ष र तिमिले नखाएका ति एक एक गाँसबाट तिमिले उसकै लागि यि सब जोडकी हौ भन्ने ।
घरमा खसि काट्दा खसिको कान होस या बाहिर बाट मासु किनेर ल्याउँदा होस्, मेरि आमाको ध्यान त्यो खसिको कलेजोमा जान्छ किनकि त्यो उस्को सन्तानलाइ मन पर्छ । मेरो आमाले सकि नसकि भैंसी पाल्नु भयो, भैंसीको दुधमा लागेको तर, घ्यु मलाइ मन पर्थ्यो । त्यसैले, पढ्नत मेरि आमाले खासै पढ्नु भएको छैन तर म खोक्दा होस या मैले सुसु गर्दा होस या मेरो शरिर तातो हुँदा, अलिकतिमात्र मेरो आवाज अलि फरक नै किन नआओस् थर्मोमिटर र डाक्टरको कुनै यन्त्र भन्दा पहिला मेरि आमाले थापाउँछिन मेरो नाडि र टाउको छामेर, बोलि सुनेर अनि भन्छिन सन्चो छैन हो आज तिमिलाइ भनेर ।
सताउनपनि कति सतायौं है, आमा तिमिलाई खाना खाँदा यो खाने त्यो नखाने देखि लिएर पसलमा जादा यो र त्यो किन्दिनु भन्दै लडिबडि गरेर रोएर हुन्छकि जिद्दि गरेर हुन्छ आफुले चाहेको खानेकुरा, सामान, लुगा, खेलौना किन्न लगायौं । तर त्यहि सपना पुरा गर्न तिमिले आफ्ना कति सपना र पेटको गाँस काटेर थैलिमा हाम्रा सपना र ईच्छाहरु पुरा गर्न पैसा जोहो गर्यौ कहिल्यै सोचिएन ।
आमा झुटो बोल्न पनि तिमिले नै सिकायौ हामीलाई । तर त्यो झुटो आफ्नो पेट काटेर अरुको खुशीका लागि थियो किनभने हामीलाई खाना पुर्याउन तिमिले आफुलाई जहिल्यै भोक नलागेको भनेर ढाँटिरह्यौ । हाम्रो पट भर्न तिमिले भोकै काटेका ति रातहरु मैले अहिले आएर सम्झिरहेको छु तर के गर्नु आमा तिम्रो हरेक दुःख देखेर पनि नदेखेझ गरि सुत्ने गर्थे । तिम्रो त्यो न्यानो अंगालोमा बाँधिएर धेरै त सक्दिन थिएँ तर पनि आमा तिम्रो मुख हेर्ने दिन तिमिलाई एउटा लड्डु खुवाइ दिएर तिम्रो चरणमा शिर राखि आफ्नो गल्ति र बर्षौं देखिका तिम्रा भोको पेट भर्ने कोसिस गर्थे ।
त्यो समय, तिम्रो अनुहारमा अलिकति भएपनि खुसि देख्न पाउँदा एउटा कुरा चाहिँ त्यहि दिन देखि बुझ्न थालें तिमिलार्इ खुसि पार्न हिराको हार चाहिँदैन रहेछ, मात्र सानै कुरा जुन सत्कर्म र परिश्रमको पसिना परेको होस् । सन्तानले दिएको त्यो सानो लाग्ने कुरामानै तिम्रो अनुहारको खुशीले संसार उज्याले बनाईदिएको आभाष भएको थियो आमा । अलि अलि बुझ्ने कहिले देखि भएँ त्यो त त्यति याद छैन आमा तर काठमाडौंको केहि बर्षको एक्लो बसाई पछि घर जाँदा आज के तरकारि भनेर सोध्न छोडेर मज्जाले खाना खाएँ । त्यो दिन तिम्रो मुहारमा हाँसो देखेपछि महसुस गरेको थिएं तिमिले सोचेको थियौ अब चाहि मेरो छोरा बुझ्ने भएछ । घरबाट अलि पर एक्लै बस्दा आमाको माया, मातृ वात्सल्यसँगै दुःख बुझ्न पाएं, त्यसपछि परदेश आएं । तब बुबाको सङ्घर्ष आफ्ना सङ्ग टाढा हुदा हुने पिडा झनपछि झन बुझ्दै अनि भोग्दैछु ।
मेरो परदेशमा भएकि एक साथि उस्ले उस्को सानोमै छोडेर जापान आएको छोरिलाइ सम्झदै भन्छिन मेरो छोरि हरेक दिन पिलेन आउने बित्तिकै घर बाहिर जान्छिन रे, अनि आकाशमा हेर्छिन रे अनि भन्छिन रे कि 'मेरो ममि त्यहि पिलेन मा हुनुहुन्छ' भनेर, अनि बोलाउछिन रे, अनि कुनै बेलामा घाटिमा माला लगाउदा 'अब मपनि त्यो पिलेन चडेर ममि भाको ठाउमा जान्छु' भन्छिन रे । तर उस्लाइ के थाहा पिलेन चड्नु रहर नभएर उनै सन्तानको खुसि र भबिस्य को लागि भनेर । सायद उनले पनि म जस्तै उमेर पार गरेपछि यि सब कुरा बुझ्नेछिन् ।
ति आमा जसले सन्सार देखाउँछिन उसैलाई बोक्सिको संज्ञा दिंदै अनाहकमा कुट्ने पिट्ने बेइजत गर्ने, मार्ने गरेका खवर सुन्दा कहिलेकाँमी त्यसै विक्षिप्त हुन्छु । हे मुर्ख हो श्रृष्टिकर्ता आमा भगवान हुन् बोक्सि होइन । श्रृष्टिकर्ता आमालाइ पुज्नु पर्छ, कुदृष्टि नै अपराध हो कुटपिट र हत्या भनेको सयौं जुनिको नर्कवास हुने महाअपराध हो । सक्छौ आमालाई सम्मान मायाँ देउ सक्दैनौ दुःख कष्ट नदेउ । तिमि घर सम्पतिको हिसाब खोज्छौ भने पहिला ति आमाको नौधारा दुधको हिसाब देउ । सक्छौ श्रृष्टिकर्ता धर्ती माता र मातृत्वको सम्मान र ईज्जत गर सक्दैनौ मानव हुनुको मर्म नै भुलेर दानविय रुप नदेखाउ ।