चुरे उत्खनन भन्ने शब्द धेरै सुनियो । खासमा चुरे उत्खनन नभई चुरे खनन हो ! किनकि गर्न खोजिएको उत्खनन हैन, खनन मात्र हो ।
चुरे त्यो भूभाग हो, जुन नेपालको तराई संग जोडिएको छ । जहाँका खोंचहरु बाट खोला नाला तराइका फाँटमा प्रवेश गर्छन । हामी तराईमा बस्नेलाई राम्रो संग थाहा छ- चुरे उत्खननको प्रसंग बेलाबखत किन निस्किन्छ ! उत्खनन नै गर्ने भए सम्भावित खनिजको सम्भावना भएका भनिएका स्थानहरु (जो मध्य तथा उच्च पहाडी जिल्लामा पनि छन) मा विशेष कार्यविधि बनाएर र जनतालाई प्रशस्त सुसूचित गरेर गरिए हुन्छ ! तर चुरेलाई नै किन टार्गेट गरिन्छ यसको मनोदशा बुझी नसक्नुको छ ।
चुरे एक किसिमले नेपालको स्थायी बाँध पनि हो । कथंकदाचित जल प्रकोप उत्पन्न भएर समथर भाग डुब्ने नै अवस्था आए आश्रय स्थल खोज्न जान सकिने भूभाग हो चुरे । जसलाई भारतले कैयौं वर्ष देखि आँखा लगाइरहेको छ । चुरे उत्खननको नाममा गिटी बालुवा र रोडा सस्तो मूल्यमा नेपालका सिमवर्ती राज्यहरुमा पुर्याई आग्ला अग्ला बाँध र सडक बनाउन चाहन्छ भारत ।
भारतका सीमावर्ती राज्यहरु उत्तर प्रदेश र बिहार नेपाल भन्दा भूगोलमा ठूला छन । जनशंख्या पनि अधिक छ । ती राज्यहरुमा पहाड छैन । भएका नदीनालामा गिटी ढुङगा छैनन । बालुवा पनि माटो मिसिएको छ । भारतका यी दुई राज्यलाई चाहिने गिटी ढुङगा उत्तराखण्ड वा उत्तरान्चल बाट ल्याउनु भन्दा नेपाल बाट लैजानु कैयौं सस्तो पर्न जान्छ । आख़िर रेलवे विस्तार देखि बाँध र सडक निर्माणलाई चाहिने ढुङगा र रोडाहरु नै हो जुन भारतले नेपालको चुरे मासेरै लैजान चाहन्छ । यो उसको वर्षौ देखिको प्रयास पनि हो । जसका प्रत्यक्ष दुई फाइदा छन भारतलाई- एउटा, सस्तोमा आफ्ना भौतिक पूर्वाधार खडा गर्ने; अर्कों- आयातको नाममा आफ्ना मालवाहक गाडीहरु नेपाल भित्राउने !
मानिसहरुले खनिज बेच्ने तर्क गरिरहेका छन, जुन सर्वथा वाहियात तर्क हो ! बेच्न खोजिएको माटो र ढुङगा नै हो । उसै पनि चुरेका डाँडाहरु नाङगा छैनन त्याहाँ प्रशस्त बन सम्पदा छ जुन तराईबासी नेपालीको कृषि र पशुपालनको मुख्य श्रोत हो ।
विगतमा टिपरका टिपर गिटी बालुवा कसरी भारतका सीमावर्ती राज्यहरूमा पुग्यो र सीमा नजिकै नेपालको महेन्द्र राजमार्गको सतह भन्दा अग्लो सडक निर्माण गरेर नेपाली भुभागहरुलाई डुब्ने बनाइयो, यो तराईवासी नेपालीलाई जती राजधानी वा विदेश बासी विद्वानहरुलाई थाहा हुने कुरो भएन ।
हाल सम्म गिटी ढुङगा छुन नसकिएको भनेको महेन्द्र राजमार्ग बाट उत्तर तर्फका नदी किनार बाट हो । अहिलेको नियत भनेको चुरे खार्ने मात्र नभई त्यो खोंचलाई फैलाउने हो जहाँ बाट नदीहरु तराई प्रवेश गर्छन । सोंच्नुस त अधिकांश बिकेन्द्रित बस्ती भएको नेपाल जस्तो मुलुकमा खोलाको उद्गम स्थल नै खोस्रिन थाले पछि के हालत होला ? भारतीय नम्बर प्लेटका टिप्पर र ट्रकले चुरे सम्म नै पुगेर गिटी ढुङगा बोक्न थाले पछि के होला ?
देश भित्र नै यति धेरै सडक र संरचनाहरु बन्न बाँकि छन । एक ट्रली रोडाको लागि देश भित्र नै कुन हाहाकार छ, कोही पनि अनविज्ञ छैन ! फेरि कहाँ बाट कसरी आयो गिटी बालुवा बेचेर धनी हुने कुरा ?!
कहाँ बाट आयो खनिज बेच्ने कुरा ? कहाँ कुन खनिज पत्ता लाग्यो र के कस्तो मापदण्डमा त्यो उत्खनन गर्ने योजना बन्यो ? केही थाहा पाउनुभाछ ? केवल ढुङगा माटो बेचेर स्थानीय दलाल र भु-माफियाहरुलाई पोस्ने र बिस्तारै नेपालको चुरे सम्म नै घुस्ने भारतीय योजनालाई सघाउने बाहेक केही होइन चुरे उत्खननको रटान !
किन यिनीहरुले बन्द भएका उद्योग खोल्ने कुरो गरेनन ? किन यिनीहरुले विदेश गएका युवालाई देशकै कलकारख़ानामा काम गर्न बोलाउने योजना बनाएनन ? किन कृषि र जडीबुटी संकलन र प्रशोधन स्थल खोल्ने योजना सुनाएनन ? किन स्वास्थ्य र शिक्षा क्षेत्रको माफियाकरण रोक्ने तिर ध्यान केन्द्रित गरेनन ? र एक्कासी यिनीहरुले चुरे खारेर समृद्धि ल्याउने सपना देखे ? बुझ्नुहुन्छ ?!
आफ्नो लँगौटी फुकालेर सरकारको लाज छोपिदिन तर्क गरिरहनुभएको हो भने त अस्ट्रेलिया देखी अरब सम्मका कुरा लेख्नुस ! हैन, नेपाली नागरिक हुनुको नाताले अली अली छाती दुख्छ भने त एकपटक देशको भूगोल र भूभाग हेरेर पनि आफ्नो विवेक प्रयोग गर्नूस यार ! एउटा टिमूर जस्तो देशको पहाड खारेर आफ्ना बडे बडे दुई राज्यलाई पुग्ने ढुङगा माटो भारतले लगे पछि नेपालको तराई प्रमको पानीजहाज चलाउन काम आउने त होला हगि ?!
हो केही न केही नबेची त चल्दैन पनि । तर हामी संग बेच्न सक्ने अन्य धेरै सम्भावना हुँदा हुँदै किन पहाड ताछ्ने तिर ध्यान गयो होला ? ढुङगा माटो नै बेचेर कुनै देश धनी भएको त कहिं छैन हजुर । मार्बल,ग्रेनाइट,कोईला र पेट्रोलियम बेचिरहेका मुलुकले पनि आलो ढुङगा र माटो बेचेका हैनन ! विवेक नगुमाऊँ । तराई बचाऊँ !