अहिले आएर केपी ओली भन्छन- इम्यून सिस्टम बलियो भएकोले कोरोना यो तह सम्म बढ्ला भन्ने सोंचेको थिइन !
समस्या केपी ओलीमा हैन, केपी ओली प्रवृत्तिमा छ ! मानौं उनले नजानेको कुनै विषय नै छैन संसारमा !
केपी ओली बोल्न जानेका छन, स्विकार्छु ! राजनीतिक चालबाजी पनि जानेका रहेछन, त्यो पनि स्विकार्छु !
तर कत्ती संकोच नमानी भन्न सक्छु- केपी ओली जस्ता ‘ओभर जान्ने’ शासक हाम्रो जस्तो गरीब देशको लागि दुर्भाग्य हुन !
अधिकांश गाउँले जीवन र सीधासोझा जनता भएको देशमा केपी ओली एउटा यस्तो विद्वान हुन जसलाई राम्रो संग थाहा छ- के गरे पछि यी जनतालाई भ्रममा राख्न सकिन्छ ! केपी ओलीले कोरोना फैलाएका हैनन, म मान्छु तर केपी ओलीले कोरोना फैलिन सहयोग पुग्ने भ्रम चाहिं फैलाएका हुन ! यसर्थ अहिलेको संकटको मुख्य दोषी देशका मुखिया भएकोले केपी ओली नै हुन !
देशको प्रमुख भए पछि निश्चित तथ्यांक र प्रमाणको आधारमा बोल्नु पर्छ ! विश्व परिवेशको सापेक्षतामा बोल्नु पर्छ ! तर केपी ओली डाटा-साटा जरुरी ठान्दैनन, उनी बोल्न जानेका छन बस् यत्ति भए पुग्यो, परर ताली बजे पुग्यो, गलल मान्छे हाँसे पुग्यो !
उनको पछि ज्यान फालेर लाग्ने एउटा हुल्लडवाज जमात छ, जो उनका भ्रमहरुलाई सर्टिफाइ गर्न रातदिन लागिपरेको छ ! मेरै केही पढेलेखेका साथीले ‘हामीलाई त कोरोना झ्याप्प लाग्दैन’ भनी भनेको तीतो अनुभव म संग पनि छ !
केपी ओलीले देशको निम्ति कामै गरेनन म भन्दिन ! सामान्य काम गरेका छन, र केही अन्य शासकले नगरेका असामान्य काम पनि गरेका छन !
तर जब मानिसहरुलाई गुमराहमा राख्ने सवाल आउँछ, उनी सधै छलाङ मार्ने गर्छन !
समस्या कस्तो भइदियो भने केपीले बोलेको कुरालाई हाम्रो सोझो समाजले विज्ञान मानिदियो, किनकि उनी एकपटकका भयंकर राष्ट्रवादी नेता हुन, एकपटकका राष्ट्रवादी सधैका भगवान ! तर व्यवहारत: उनले बोलेका कुराहरुलाई गहिराईमा पुगेर पर्गेल्ने चेष्टा कसैले गरेन !
हामी कुन आधारमा इम्यून सिस्टममा एक नम्बर भयौं, जवाफ कसै संग छैन ! ओलीय चिकित्सालयका विभिन्न सामग्रीहरु कसरी कोभिडका औषधी भए जवाफ कसै संग छैन । यिनै भ्रमको आडमा मानिसहरु केही हुँदैन झैं गरी सभा समारोहमा उपस्थित भए, नारा जुलुसमा सहभागी भए ! फलस्वरूप समुदाय स्तरमा कोभिड फैलिएर देशको अवस्था नाजुक बन्न पुग्यो ।
तर शासकलाई लाज लाग्दो चाहिं रहेनछ । उनले कोभिड फैलिनुको दोष पनि जनतालाई नै लगाए आफूले बोलेका कुरा बिर्सिए ! उनी अझै पनि इम्यून सिस्टम बलियो छ भन्ने अप्रत्यक्ष दावी गरिरहेछन ।
देशभर खुलेका प्राइवेट अस्पताल र क्लिनिक अनि तिनमा दैनिक जँचाउन जाने बिरामीको तथ्यांक सायद ओली बालाई थाहा पाउन जरुरी छैन ! उच्च रक्तचाप, मधुमेय, थाइराइड, मुटुरोग लगायतले अधिकतम नेपालीलाई भित्र भित्र खाइरहेको ओली बालाई जान्न जरुरी छैन ।
अस्वाभाविक मोटोपन, भुँडी लाग्ने र शरीर भित्र रोग हुर्किंदै जाने कुराहरु बाट ओली बा अनविज्ञ पनि हैनन । तर उनलाई लाग्छ- हाम्रो इम्यून सिस्टम विश्वकै नम्बर एक हो ! किनकि यसो भन्दियो भने नेपालीहरु फुर्किन्छन ! हो, फुर्किनमा चाहिं हामी विश्वमै नम्बर एक हौं !
खेतीपाती बाट टाढिंदै गएको नयाँ पुस्ता, आयातित मिसावट युक्त खाद्यान्न र विषादी युक्त तरकारी फलफूलमा अभ्यस्त भएको हाम्रो अल्छी आचरणले हामीलाई धेरै कमजोर बनाएको छ शारीरिक रूपमा ! हाम्रो इम्यून सिस्टम बलियो छ भन्ने भ्रममा कम्तिमा म चाहिं छैन !
ओली बाको आलोचना गरेकोमा दुःख लागेको भए मलाई गाली गर्नुस तर आफूलाई चुस्त तंदुरुस्त राख्ने उपायको खोजी आजै देखि गर्नुस !
मुख्यत: हामी बाँच्नु पर्यो, मान्छे उरालेर शासन गर्ने शासक त हाम्रो जीवनकालमा आइरहन्छन, गइरहन्छन !