जापानमा नेपाली रेष्टुरेण्ट भनेर कतिवटा खोलिएका होलान् ? खोलिएका मध्ये कति रेष्टुरेण्टमा नेपाली खाना मात्र बेचिन्छन् होला जसरी ईण्डियन, कोरियन, थाई, चाईनिज, ईटालियन जस्ता रेष्टुरेण्टहरुले उनिहरुकै मात्र खाना बेच्छन् ? यो प्रश्नको यकिन उत्तर वा तथ्यांक त कसैसँग छैन ! तर एउटा पक्का के हो भने नेपाली रेष्टुरेण्ट भनेर नेपाली खाना मात्र बेच्ने रेष्टुरेण्ट करिव शुन्य प्राय छ ! भलै रेष्टुरेण्टको नाम ठेट नेपाली, साहुजी नेपाली, काम गर्ने सबै कर्मचारी नेपाली र बोल्ने भाषा नेपाली होस् ।
यसमा एउटा अपबाद बन्न सक्छ 'वल्ड नेपाल टोकियो' । यो रेष्टुरेण्टको नाम अँग्रेजी शब्दावलीमा राखिएको छ तर यहाँ खाना अधिकतम 'शुद्ध नेपाली' बेचिन्छ । शुद्ध यस अर्थमा कि नेपाली खानाका परिकार मात्र यहाँ बेचिंदैनन् संभव भएका खानाका सामग्री समेत नेपालबाटै ल्याईन्छ । तर नेपाली पनको बास्तविक अर्थ बोकेर नेपाली खानाको प्रवद्र्धन र 'फुड टुरिजम' गर्दै आएका संचालक हुन जापानी नागरिक र्यो होण्डा ।
टोकियो सेतागया गोतोकुजी रेल स्टेशनदेखि दुई मिनेटको पैदल दुरीमा रहेको रेष्टुरेण्ट सडक छेवैमा छ । रेष्टुरेण्टको बाहिरि भागमा अँग्रेजी शब्दमा लेखिएको छ 'वल्ड नेपाल टोकियो' । बाहिरबाटै देखिन्छ नेपालमा गाउँघरमा घाममा सुकाएर राख्ने चलनकै शैलिमा लहरै राखिएका मेथी, सलगम, हरियो खुर्सानी, लसुन, रातो सलगम, काउली, कालो मुला लेखिएको अचारका सिसिहरु । साथैमा सजाएर राखिएको छ पाथी, माना, आधा माना र चौथाईका टिनले बनेका भाँडो, सिलौटो र लोहोरो अनि लहरै विभिन्न गेडागुडीका सिसिहरु पनि ।
ढोका खोल्ने वित्तिकै भित्रबाट आवाज आयो 'नमस्ते !' उनि 'मारि हान्दो' रहिछिन् जापानी नागरिक । रेष्टुरेण्टमा काठबाटै बनेका कुर्सी नेपालमै भट्टी वा लोकल रेष्टुरेण्टमा पसेको झझल्को दिने । मात्र ठूला कुर्सी र सफा वातावरण । ढोकाबाट पस्ने वित्तिकै राखिएको नेपाली खाना बारेको जापानी भाषाको जानकारी अनि साथमा नेपाली खाना बारेको पहिलो जापानी पुस्तक । भित्तामा नेपाली भाषामै लेखिएको छ अलिअलि अमिलो, अलि अलि पिरो, अलि अलि गुलियो, अलि अलि टर्रो, अनि अलि अलि तितो त्यसैले त दालभात यति मिठो ।
'दालभात र नेपाली खाजा' पुस्तकका लेखक रहेछन् उनै संचालक र्यो होण्डा ।
पूर्व जानकारी भएकाले होला म पुग्ने वित्तिकै रेष्टुरेण्टको भान्सामा रहेका र्यो होण्डा 'नमस्कार...!' गर्दै बाहिर निस्किए । त्यसपछिको संवादको संक्षिप्त कुराकानी होण्डाकै शब्दमा ।
पहिलो नेपाल यात्रा र सम्झना
म पहिलो पटक सन् २००७ मा नेपाल गएको थिएं । १५ बर्ष भइसकेछ । अहिलेसम्म २५ पटक भन्दा बढी पटक गएं हुँला, बर्षको दुई पटक सँधै गइराखेको छु । अहिले चाहिँ कोरोनाले गर्दा १ बर्षदेखि जान पाएको छैन । खासमा म जापानको कोबे शहरको बासिन्दा हुँ । मैंले त्यहाँ एउटा नेपाली रेष्टुरेण्टमा 'आरुबाइतो' काम गर्थें । मैले नेपाल बारे धेरै सुनेपछि एकपटक नेपाल जान मन लाग्यो । अनि मँ २३ बर्षको उमेरमा पहिलो पटक नेपाल गएं ।
म नेपाल गएपछि मलाई सबैभन्दा बढी नेपाली खाना मन पर्यो । म नेपाल घुम्न जानु भन्दा पहिले ईण्डिया, अमेरिका, युरोप, गल्फ सहित २० भन्दा बढी देशहरु घुम्न गइसकेको थिएं । तर मलाई नेपाली खाना अन्तको भन्दा धेरै फरक र मिठो लाग्यो । नेपालको खाना खाएपछि मेरो मुटुमा बस्यो । अरु देश गएपनि खाना मिठो थियो तर त्यस्तरी मुटुमा बस्ने खालको थिएन । पहिलो पटक काठमाडौं पुगेपछि राती खाना दालभात खायौं । एकदम मिठो लाग्यो । काठमाडौंबाट पोखरा बसमा जाँदा मुग्लिन तिर बिचमा बस रोकेर खाएको खाना अहिलेसम्म याद छ । तर अहिले त्यति मिठो लाग्दैन त्यतिखेर धेरै मिठो पाईन्थ्यो । जापानबाट एक्लै घुम्न गएको थिएं पोखरा पुगेर अन्नपूर्णको पुनहिलसम्म ट्रेकिगं पनि गएको थिएं । त्यहाँको बाटोको खाना पनि एकदमै मिठो थियो ।
नेपालमा त्यति डेन्जर छैन, त्यसैले एक्लै घुम्न गएपनि डर लागेन । मान्छेहरुपनि धेरै दयालु छन् र खाना पनि मिठो छ त्यसैले मलाई नेपाल एकदमै मन पर्छ । पहिलो पटक दुई हप्ता नेपाल घुमेर जापान फर्किएं ।
मुटुमा बसेको मिठो खानाले सोचाई परिवर्तन गरिदियो
नेपालबाट फर्किएपछि म पुन जापानीले संचालन गर्दै आउनुभएको त्यही 'खुकुरी नेपाली रेष्टुरेण्ट'मै काम गर्न थालें । मैंले आफुपनि नेपाली रेष्टुरेण्ट खोल्छु भन्ने सोचाई बनाएं । तर मलाई काम सुरु गर्न १३ बर्ष नेपाली खाना बारे बुझ्नै समय लाग्यो । नेपाली खाना बुझ्न र बनाउन सिक्न म बर्षेनी नेपाल गएर विभिन्न ठाउँको खाना बनाउन सिक्न थालें । काठमाडौंको नेवारी खाना देखी पाल्पा, पोखरा सहित कयौं ठाउँमा गएर खानाको स्वाद बुझें ।
धेरै तयारी पछि सन् २०२० मा टोकियोमा रेष्टुरेण्ट सुरु गरें । म ओसाकामा बस्दै आएको व्यक्ति नेपाली खानाको 'कोर्स' बेच्न टोकियो सहि स्थान हुन्छ भनेर यहाँ रोजें । किनभने टोकियोमा विभिन्न थरिका मान्छेहरु छन् र उनिहरुलाई नेपाली खाना खुवाउन र बुझाउन सकिन्छ । जापानमा नेपाली खानाको 'इजाकाया' शैलीले 'कोर्स'मा खाना राखेको अहिलेसम्म अन्त देखेको छैन ।
मेरो एउटा मात्र बिचार हो मलाई 'नेपाली खाना, नेपाल मन पर्छ !' त्यसैले जापानीहरुलाई नेपाली खाना मिठो छ भन्ने कुरा बुझाउनलाई मैंले नेपाली रेष्टुरेण्ट खोलेको हुँ । हामी जापानीहरु देखी युरोपियनहरु पनि नेपाल घुम्न जाँदा त्यति धेरै नेपाली खाना खाँदैनन । उनिहरु आएको आफ्नै देशको वा कन्टिनेन्टल खाना खान्छन् ।
एक महिना बस्यो भने एक दुई चोटी मात्र नेपाली खाना खान्छन् । त्यो त्यति राम्रो होइन, मलाई मन पर्दैन । नेपालीहरुले पनि नेपाली खाना नै खुवाउन खोज्दैनन् । तर नेपालको फुड कल्चर धेरै भेराइटी छ र मिठो पनि छ । अलि कसरी पकाएर मिठो हुन्छ, केही 'स्टाइल' फेरेर मिठो बनाउन सकिन्छ कि भनेर सोच्नुपर्छ । त्यहि भएर मैंले नेपाली 'टिपिकल' स्वादमा केही 'स्टाइल चेन्ज' गरेर टोकियोमा नेपाली खानाको रेष्टुरेण्ट खोलेको हुँ । यदि यहाँ राम्रोसँग गर्न सकें भने म छिट्टै नेपालमा 'टिपिकल' नेपाली खानाको रेष्टुरेण्ट खोल्न चाहन्छु ।
विशेषगरी नेपाल घुम्न आउने बिदेशीहरुलाई नेपाली खाना खुवाएर 'नेपाली खाना मिठो छ' भनेर चिनाउन चाहन्छु । अर्को कुरा नेपालीहरुलाई पनि हाम्रो खाना मिठो छ भनेर बुझाउन र अरुलाई मिठो बनाएर खुवाउन सिकाउन चाहन्छु । नेपालमा खाना बनाउने मान्छेले खासै पैसा कमाउन सक्दैन, गरिब मान्छेहरु कुक पेशा गरेपनि अन्य देशमा काम गर्न जाने अनि अलिअलि पैसा कमाएपछि बरु ट्याक्सि चलाउने वा अरु पेशा गर्ने गरेको देखेको छु । यसले गर्दा नेपाल सँधै तल परिरहेको छ । यसमा म सहयोग गर्न चाहन्छु । राम्रो 'कुक' गर्नेहरुलाई राम्रो तलब दिएर काम गर्न चाहन्छु । अहिले नेपालमा खासै सेफ छैनन, तर नेपालीहरु नै अन्य देशमा छन् । यसमा राम्रो तलब भयो भने गर्व गरेर नेपालमै बस्न सक्छन् ।
नेपाली खाना चिनाउँदै पर्यटन प्रवर्द्धन
यहाँ खाना खाएपछि जापानीहरुले मिठो छ भन्छन् । 'किन तपाईंले यस्तो खाना पकाउनुहुन्छ ?' भनेर पनि सोध्छन् । 'कसरी खाना पकाउन सिकेको ?' भन्छन् म नेपाल गएको बेलामा नेपालमा खाना बनाउन सिकेको कुरा बताउँछु । नेपालको ठाउँ अनुसारको खानाको कोर्ष दुई महिनामा एकपटक 'चेन्ज' गर्नेगर्छु । नेपालमा पनि काठमाडौंमा काठमाडौंको 'टेष्ट' आफ्नै छ, पोखराको, भक्तपुर चितवनको सबै ठाउँको फरक छ ।
जात अनुसार पनि नेवार, थारु,राई, लिम्बु, तामागं सबैको फरक छ । काठमाडौंको नेवार र भक्तपुर चितवनका नेवारको स्वाद पनि फरक छ । त्यो कुरा नेपाली र जापानीहरुलाई बुझाउन पनि मैंले कोर्षहरु ठाउँ अनुसारको दुई दुई महिनामा फेर्ने गरेको छु । यहाँ आएर खाना खाएर धेरै जापानीहरुले धेरै मिठो रहेछ नेपाली खाना भनेका छन् । केही जापानीहरुले 'नेपालमा त यस्तो खाना पाईंदैन होला !' भन्छन् मैंले 'पाउँछ धेरै मिठो खाना पाईन्छ' भनेर घुम्न जान भन्छु । धेरै जनाले 'कोरोना समस्या हटेपछि जान्छौं' भनेका छन् ।
मलाई आफैंलाई चाहिँ नेपालको नेवारी खाना धेरै मिठो लाग्छ । म कहाँ आएर खाना खानेहरु जापानीहरुले चाहिँ 'रमाइलो लाग्यो नेपाली खाना खाएर' भन्ने गर्नुहुन्छ । 'लन्च'मा नेपाली दालभात, कुखुरा र खसीको मासु बेलुका चाहिँ कोर्सको खाना छ ।
वल्ड नेपाल टोकियो, रेष्टुरेण्टको मिहिन अर्थ
नेपाली खानाको 'टिपिकल कल्चर'लाई सम्मान गरेर 'वल्ड नेपाल टोकियो' नाम राखेको हुँ । नेपाली खानाको पुरानो स्वाद भनेर आउने पिँढिलाई बुझाउनको लागि यो नाम छानेको हुँ । तर खाना बनाउने तरिका अलि फरक छ ।
जापानमा नेपाली रेष्टुरेष्ट भनेर ईण्डियन खाना बेच्ने नेपाली रेष्टुरेण्टहरु देख्दा मलाई मन पर्दैन । नेपालमा खाना भनेको दाल भात नै हो । काठमाडौं वा केही शहरमा बाहेक यहाँ नेपाली खाना भनेर बेचेको जस्तो नान करी खाँदैनन् । हाम्रो रेष्टुरेण्टमा आएर नेपाली खाना खानेहरुले 'ए नेपाली खाना यस्तो पो हुन्छ !' भनेर खुशी व्यक्त गर्छन् । हाम्रोमा नेपाली पाहुनाहरु थोरै आउनुहुन्छ । हामीलाई देखेपछि नेपालीहरु 'ओहो !' भन्छन् । धेरै जनाले जापानी भाषामा नै बोल्नुहुन्छ ।
नेपालमा पहिला पहिला गाउँघरतिर आमाहरुले पकाउने खाना धेरै मिठो हुन्थ्यो, अहिले पनि त्यस्तै छ । जस्तो कि हरेक घरघरमा खानाको स्वाद फरक हुन्छ, मसाला कस्तो र कसरी हाल्छन् त्यस्तै अनुसार । खसीको मासुमा भुटेको जिराको मसला सिलौटामा पिसेर हाल्यो भने धेरै मिठो हुन्छ । यस्तो कुरा हरेक जात र ठाउँ अनुसार फरक हुन्छ । मैंले नेपालमा गएको बेलामा धेरै ठाउँमा गएर मलाई खानेकुरा बनाउन सिकाइदिनुस् न भनेर सिकेको हुँ ।
नेपालमा 'फुड कल्चर' कस्तो छ भने पहिला खाजा खान्छन् अनि खाना खान्छन् । घरमा भएपनि बाहिर गएपनि त्यस्तै हो । ठिक त्यस्तै गरि यहाँ पनि कोर्समा पहिला खाजा र पछि खाना राखेका छौं । जसले गर्दा यहाँ खाना खाने मान्छेलाई नेपालको खाना 'कल्चर' बारे थाहा हुन्छ ।
खानाको मुख्य स्वाद भनेको मसालामा हुन्छ । नेपाल र इण्डियाको मसालाको स्वाद फरक छ । नेपालको बेसार कडा र स्वाद पनि फरक छ । जिरा, धनियाँहरुको स्वाद पनि नेपालको तिख्खर, कडा छ । त्यसैले मैंले तोरी, मेथी, जिम्मु, देखी जिरा, धनिया, बेसार लगायत सबै मसाला नेपालबाटै मगाएर प्रयोग गर्नेगर्छु । सम्भवत जापानमा म मात्र होला नेपालकै मसाला ल्याएर प्रयोग गर्ने । नेपाली मसाला प्रयोग गर्दा यहाँ किन्ने भन्दा दोब्बर बढी मुल्य पर्छ त्यसैले कसैलेपनि त्यस्तो गर्दैनन् । तर नेपाली खाना भनेर बेचेपछि नेपाली स्वाद दिनुपर्छ र नेपाली स्वाद दिलाउन नेपाली मसालानै चाहिन्छ । नेपालमा घुमेकै बेलामा मैंले सोचें कि आमाहरुले बनाउने खाना मिठो हुन्छ । उहाँहरुको सम्मानमा पनि पुरानो खाना बनाउने 'फुड कल्चर'को सम्मान गरेर नाम 'वल्ड नेपाल' राखेको हुँ ।
रोचक र रमाइलो नेपाल यात्राका क्षणहरु
नेपालमा टाढा धरान, धनकुटासम्म पुगेको छु । अप्पर मुस्तागं जाँदा कागबेनीबाट माथि जाँदा कम्मरसम्म हिँउ पर्यो । फेरी सोध्दै सोध्दै बाटो नचिनेर फर्कियौं । एक पटक रसुवाको गोसाइकुण्ड जाने बेलामा बाटोमा गाडी बिग्रेपछि गाडि धकेलेर बल्ल बल्ल गयौं । पोखरा, गोसाइकुण्ड जाँदा हिमाल देख्दा एकदमै रमाइलो भएको थियो । अब सगरमाथा बेसक्याम्पसम्म जाने मन छ ।
एक पटक एयरपोर्टमा फर्कंदाखेरी प्रहरीको एसपीले नेपाली भाषामा 'झोला खोलेर सामान देखाउनुस् !' भने, मैंले खोलेर देखाएं, 'यो के हो ?' भनेर सोधेपछि मैंले 'रक्सी' भनिदिएं । तपाईंको पासपोर्ट देखाउनुस् भनें मैंले पासपोर्ट देखाएपछि 'ए तपाईं जापानी पो हो ? नेपाली हैन !' भनेर झस्किए ।
जापानी भाषा चाहिँ मैंले आफैं बोल्दा बोल्दै सिकेको हुँ । केही हारुहितो नोजु सेन्सेइले पनि सिकाउनु भएको छ । तर पनि मेरो नेपाली भाषा खासै राम्रो छैन ।
जापानबाट नेपाल म घुम्न जाँदा साथीहरु पनि म सँग जाने गर्छन् । नेपालमा पर्यटकहरुलाई सामान महंगो भन्ने गर्छन् । नेपालमा १०० को सामानलाई २०० सम्म भन्छन् तर ईण्डिया वा अरबमा जस्तो १०० को सामानलाई ५०० सम्म चाहिँ भन्दैनन् । त्यसलै म यो कुरा बुझेर पनि सँगै गएको साथिहरुलाई तिमिलाई ठिक लाग्छ भने किन भन्छु ।
म जापानमा भएका नेपालीहरुलाई सकभर नेपाली खाना नै बेच्न र प्रोमोट गर्न अनुरोध गर्दछु । किनभने नेपाली खाना खाएर मिठो लागेपछि जापानीहरु नेपाल पनि घुम्न जान्छन् । यसले गर्दा नेपाललाई पनि फाइदा हुन्छ ।
...
प्रस्तुती : गोकर्ण अधिकारी